यो सालको बर्खामा पनि ज्यादा पानी पर्ने जोखिम, प्रकोपबाट बच्न सरकारले के गर्ला ? « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

यो सालको बर्खामा पनि ज्यादा पानी पर्ने जोखिम, प्रकोपबाट बच्न सरकारले के गर्ला ?



काठमाडौँ । अबको झन्डै डेढ महिनामा सुरु हुने मनसुनी वर्षा यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एशियन क्लाइमेट आउटलुक फोरमले गरेको छ।

यसले साल २०८२ को बर्खा पनि कतिपय अवस्थामा ‘जोखिमपूर्ण’ रहन सक्ने देखिएको छ । यसले समयमै संभावित प्रकोप रोकथाम र व्यवस्थापनमा सरकारले गम्भीर चासो दिनुपर्ने देखिएको छ ।

गत साता भारतको पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद्हरू सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी क्षेत्रका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुन सक्ने जनाएको छ।

यस क्षेत्रीय प्रक्षेपण दक्षिण एसियाका सार्क सदस्य एवं म्यान्मारसहितका नौ देशका राष्ट्रिय जल तथा मौसम विज्ञान निकायहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा तयार पारेका हुन्।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिन बढी थियो।

राष्ट्रसङ्घीय मौसम निकाय (डब्ल्यूएमओं)ले विगत पाँच वर्षयता विश्वव्यापी रूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीय रूपमा विश्लेषण र विभाजन गर्दै सार्वजनिक गर्ने नीति अन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन्।

एल निन्यो कि ला निन्या ?

मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने ‘एल निन्यो’ र ‘ला निन्या’ हो।

पुणेको उक्त बैठकमा नेपालको तर्फबाट सहभागी मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्, ‘यस्तो पूर्वानुमान गर्ने क्रममा प्रशान्त महासागरमा एल निन्योको अवस्था के हुन्छ भनेर हेर्ने गर्छौँ।’

हाल प्रशान्त महासागरमा तटस्थ खालको एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) को अवस्था व्याप्त छ।

विश्वव्यापी जलवायु मोडल पूर्वानुमानको आधारमा मनसुनका बेला भूमध्यरेखीय प्रशान्त क्षेत्रमा प्रचलित यस्तो तटस्थ अवस्था नै रहिरहने सम्भावना रहेकोमा विज्ञहरूबीच बलियो सहमति रहेको उक्त फोरमले जनाएको छ।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

पुणेमा जुटेका मौसमविद्हरूले अहिलेको एल निन्यो थोरै ला निन्याको अवस्थाबाट तटस्थ अवस्थामा आइपुगेको देखिएको बताए । त्यो अब मनसुनमा मात्र नभएर हिउँदसम्मै तटस्थ अवस्थामै रहने विश्लेषण गरेको हुमागाईँ बताउँछन्।

‘एल निन्यो सदर्न असिलेशन तटस्थ छ अर्थात् त्यो एल निन्यो वा ला निन्यो केही होइन भन्नुको अर्थ प्रशान्त महासागरमा बलिया सङ्केतहरू देखिएनन् भन्ने हो,’ उनी भन्छन्।

अघिल्लो वर्ष मौसमविदहरुले ‘ला निन्या’ हुन्छ भन्ने अनुमान गरेको भए तापनि त्यो तटस्थ नै अवस्थामा बस्यो। तर त्यस अवस्थामा पनि नेपालमा सरदरभन्दा बढ्ता नै वर्षा भएको थियो।

त्यसैले विगत चार–पाँच दशकको अनुभवका आधारमा तटस्थ नै हुने अवस्थाबीच कि सरदर वा सरदरभन्दा बढी वर्षा हुने प्रवृत्तिलाई पछ्याएर उक्त प्रक्षेपण गरिएको बताइएको छ।

अन्य कारण पनि छन्

दक्षिण एशियाको समग्र प्रक्षेपण गर्दा विभिन्न तीनवटा कारणलाई आधार मानिने गर्छ । तर नेपालको मनसुनी वर्षाका लागि एल निन्यो र ला निन्या अवस्थाको प्रभाव सबैभन्दा उच्च हुने मौसमविद्हरू बताउँछन्।

विश्वभर क्षेत्रीय प्रक्षेपणहरू प्रचलित विश्वव्यापी जलवायु अवस्था, राष्ट्रिय स्तरको पूर्वानुमान र विश्वभरका विभिन्न जलवायु पूर्वानुमान निकायहरूबाट भएका पूर्वानुमानको विज्ञहरूबीच मूल्याङ्कन भएर सार्वजनिक गरिन्छन्।

यस पटक बर्खायाममा एल निन्योको अवस्था रहिरहँदा न्यूनतम तापक्रम सरदरभन्दा बढ्ने पूर्वानुमान समेत गरिएको हो।

त्यसैगरी हिन्द महासागरको डाइपोल (आईओडी) एवं उत्तरी गोलार्द्धमा जम्मा हुने हिउँजस्ता पक्षको सम्बन्ध समेत मनसुनसँग जोडिएको हुन्छ।

हिन्द महासागरमा तटस्थ आईओडी अवस्था कायम छ, जुन मनसुनसम्मै कायम रहने विभिन्न मोडलहरूले देखाएका छन्।

‘आईओडी भनेको हिन्द महासागरको दुई फरक बिन्दुमा हुने तापक्रमको अन्तर हो। तर यसमा समेत एल निन्यो सदर्न असिलेशन प्रणालीको असर रहने गर्दा यो एक्लैको असर नेपालमा धेरै पर्ने देखिँदैन। तथापि अहिले त्यो पनि तटस्थ अवस्थामै छ,’ हुमागाईँ भन्छन्।

नेपालको जलवायुलाई पृथ्वीको उत्तरी गोलार्द्धमा कति हिउँ पर्‍यो भन्ने कुराले समेत प्रभाव पर्ने गर्छ । त्यसको उल्टो असर यहाँको मनसुनी प्रणालीमा हुने हुन्छ । यस पटक ती भेग (उत्तरी गोलार्द्ध)मा कम हिउँ परेको छ, जसको असर स्वरुप यस पटक मनसुनमा धेरै वर्षा हुनसक्ने संकेतका रुपमा हेरिएको छ ।

बीबीसी नेपालीबाट ।


प्रतिक्रिया दिनुहोस्