आज बुद्ध जयन्ती : ‘श्रद्धा र संस्कृति मात्रै होइन, बुद्ध जयन्ती अर्थतन्त्रका लागि पनि अवसर’

काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती । देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाको दिनले बौद्ध धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने गरेको छ, किनभने यही दिन सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण तीनै ऐतिहासिक घटना एकसाथ घटेका हुन् । त्यसैले यस दिनलाई ‘त्रिसंयोग दिवस’ को रूपमा समेत चिनिन्छ ।
सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ मा नेपालकै लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको थियो । २९ वर्षको उमेरमा सांसारिक सुख–सुविधा त्यागी उनी ज्ञानको खोजीमा लागे । छैँठौं वर्षको तपस्यापछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । त्यसपछि उनी भगवान् बुद्ध बने र संसारभर शान्ति, करुणा र तर्कको सन्देश फैलाउन थाले ।
बुद्धले दिएको उपदेश,आर्य अष्टाङ्गिक मार्ग र पञ्चशील, आज पनि धर्म, नीति र समाजको मार्गदर्शनका स्रोत बनेका छन् । सम्यक दृष्टि र सम्यक आचरणमा आधारित अष्टाङ्गिक मार्गले व्यक्तिलाई आत्मअनुशासन र मानसिक शान्तिको बाटो देखाउँछ भने पञ्चशीलले नैतिक जीवनका आधार तय गर्छ-चोरी नगर्नु, झुटो नबोल्नु, हिंसा नगर्नु, व्यभिचार नगर्नु र मद्यपान नगर्नु ।
यिनै शिक्षाका कारण बुद्धलाई एशियाका ताराको उपाधि दिइएको हो । हिन्दू दर्शनले पनि बुद्धलाई विष्णुको नवौँ अवतार मानेको छ, जसले गर्दा हिन्दू र बौद्ध दुवै धर्मावलम्बी आजको दिनमा श्रद्धासाथ पूजा गर्छन् ।
बुद्ध जयन्तीको अवसरमा काठमाडौं उपत्यकादेखि लुम्बिनी र नमोबुद्धसम्मका प्रमुख बौद्ध स्थलहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ । बौद्धनाथ, स्वयम्भू, चारुमति विहार, नमोबुद्धलगायत स्थानमा प्रभातफेरी, ध्यान कार्यक्रम, बुद्ध वाणी पाठ र शान्ति ¥याली निकालिएको छ ।
‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’, ‘सङ्घम् शरणम् गच्छामि’ जस्ता नाराले शोभा यात्रालाई धार्मिक तथा सांस्कृतिक चेतनाले सजाइएको छ ।
सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । यसले धार्मिक भावनालाई सम्मान दिनुको साथै नागरिकलाई धार्मिकस्थल अवलोकन र ध्यानका गतिविधिमा सहभागी हुने अवसर पनि दिएको छ । लुम्बिनी, काभ्रे, काठमाडौंका प्रमुख बौद्धस्थलहरूमा आन्तरिक पर्यटकहरूको उल्लेख्य भीड देखिएको छ ।