‘काठमाडौंको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास’

काठमाडौँ । नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमीरा अमरासिंघेले काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास भएको बताए ।
बुधवार मेलाको अवलोकन गर्दै उनले श्रीलंकामा व्यावसायिक, सिपमूलक र प्राविधिक तालिमहरु सञ्चालन भए पनि यसरी धेरै विधालाई एउटै ठाउँमा ल्याएर वृहत सन्देश प्रवाहका रुपमा सञ्चालन नभएको उल्लेख गरे ।
अवलोकनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारी, आयोगका सदस्य एवं कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले कक्षा सञ्चानका विधि, प्रक्रिया, तालिमका विषय छनोट लगायत विषयमा जानकारी प्रदान गरे ।
मेला अवलोकनपछि कार्यवाहक राजदूत अमरासिंघेले, काठमाडौँ महानगरपालिकाले सरसफाइ, स्वच्छता र सुन्दरतामा महसुस योग्य काम गरेको उल्लेख गर्दै सिपमेला श्रीलंकाका लागि पनि सिकाइ योग्य भएको धारणा व्यक्त गरे ।
उनले शिक्षा र सिपको सम्बन्धलाई आफ्नो वृत्ति विकासको प्रसङ्ग उल्लेख गर्दै भने,‘मैले ए लेभलको परीक्षा सकेपछि व्युटिसियन, खाना, फेसन डिजाइनको व्यावसायिक सिप लिएँ । त्यसबेला लिएको तालिम अहिले दिनदिनै काम लागेको छ । नेपालमा श्रीलंकाका खानासँग सम्बन्धित रेष्टुरेन्टहरु खास छैनन् । हामी आफैँले आतिथ्यता गर्दा मलाई त्यस बेला लिएको तालिमको उपयोग हुन्छ ।’
उनले सिपमूलक तालिमसँग औपचारिक शिक्षाको सम्बन्ध देखाउँदै भने,‘औपचारिक शिक्षा जति महत्वपूर्ण छ । सिपमूलक तालिम पनि उत्तिकै महत्वपूर्ण छ ।’
त्यस क्रममा निर्देशक समितिका संयोजक डा. राजभण्डारीले मेलाका आयाममा चर्चा गर्दै, थोरै समयमा पनि जीवन उपयोगी सिप सिक्न सकिन्छ, रोजगारी र आर्थिक उपार्जनका लागि देशभित्रै सम्भावना छन् भन्ने भावना जागृत गराउनु मेलाका महत्वपूर्ण उपलब्धी भएको बताए । ‘आशा बोकेर आधारभूत तालिम थालेपछि त्यसपछिका आवश्यकता थाहा हुन्छ । व्यक्ति आफैँले पनि सम्भावना र विकल्प खोज्न सक्छ ।’ उनको भनाइ थियो ।
कार्यान्वयन समितिका संयोजक झाले माध्यमिक तहको औपचारिक शिक्षासँगै व्यावसायिक तालिम जोडेर सञ्चालन गरिएको, महिला लक्षित एक वडा एक नमूना उद्यम कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । सहरी गरिबी, गृहणी, विदेशको श्रमबाट फर्केका जनशक्तिलगायत धेरै पक्ष र समूहसँग मेला सम्बन्धित रहेको बताए ।
सल्लाहकार गिरीका अनुसार शैक्षिक प्रणाली, सिपमूलक तथा रोजगारमूलक तालिम, उद्यमशीलतालगायत क्षेत्रहरु दुवै देशका पालिकाहरुका बिचमा समान सम्भावना र चुनौती भएकोले आपसी कार्यक्रम सञ्चालनका विषयमा छलफल र कुराकानी भएको थियो ।