तालिम लिएपछि आत्मविश्वाश बढ्यो, आय पनि दोब्बर « Arthapath.com
२५ असार २०८२, बुधबार

तालिम लिएपछि आत्मविश्वाश बढ्यो, आय पनि दोब्बर




काठमाडौँ । शारीरिक अपाङ्गता भएका प्रशिक्षार्थीहरुले तालिम लिँदा लिँदै ४ वटा ल्यापटप र ४ वटा डेक्सटप मर्मत गरेर चल्ने बनाएका छन् ।

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेको ६० दिने कम्प्युटर हार्डवेयर चिप लेवल तालिमका प्रशिक्षार्थीहरुले यो नतिजा देखिएको हो ।

थप ७ वटा कम्प्युटरको फल्ट फाइन्डिङ् (समस्या पत्ता लगाउनु) भएको छ । यसका लागि सामान फेर्नु पर्ने भएकोले कुन सामान फेर्ने हो । टिपोट गरेर कम्प्युटरमा टाँस गरेका छन् ।

सहायक प्रशिक्षक दुर्गामान तामाङ्का अनुसार विग्रिएका ३० वटा कम्प्युटरमध्ये ८ वटा मर्मत भएका छन् । सामान फेरेपछि थप ७ वटा कम्प्युटर चलाउन सकिने हुन्छन् । आइतबार तालिमको समापन अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण अवधिको नतिजाका बारेमा उनले जानकारी गराए ।

तालिम २०८२ वैशाख ३ गतेदेखि सुरु भएको थियो । तालिममा मदर बोर्ड रिपेयर, डीसी पावर, व्याट्री चार्जिङ् सक्र्युट, पावर, पावर टेस्ट गर्ने प्वाइन्ट, एडप्टर र चार्जिङ्, चार्जमा हुन सक्ने समस्या, वोर्ड परीक्षण गर्ने उपकरण, विभिन्न प्रकारका कम्प्युटरको रिपेयर फ्लो, रिकभरी, हाइसाइड लो साइड टेस्टिङ्, ल्यापटप एसेम्ब्लिङ्, फाइनल रिभिजनजस्ता चरणका सैद्धान्तिक ज्ञान दिँदै अभ्यास गराइएको थियो ।

तालिम समापन गर्दै कार्यपालिका सदस्यहरु ललिता खड्गीले, सहयोग पाए सहज जीवनयापनका लागि म केही गर्न सक्छु भन्नेहरुका लागि महानगरपालिकाले सहयोग उपलब्ध गराउँदै आएको बताइन् । यस्तै कार्यपालिका सदस्य महेश नेपालीले, समतामूलक समाज निर्माणका लागि महानगरपालिकासँग भएको स्रोतलाई उच्चतम उपयोग गरिरहेको उल्लेख गरे ।

शारीरिक अपाङ्गता भएर आफूलाई कमजोर महसुस गर्नुनपर्ने कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले बताइन् । केन्द्रसँगै वडावडाहरुबाट कार्यक्रम सञ्चालन गरेर सबैलाई समान पहुँच प्रदान गर्ने प्रयास भइरहेको उनको भनाई थियो ।

प्रशिक्षार्थीहरुमा बढेको आत्मविश्वाश र तालिम अवधिमै नतिजा प्रदर्शन भएको देखेर विभागले गरेको काम सही मार्गमा भएको अनुभूति भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बताइन् ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिमबाट आफूहरु आत्मनिर्भरताको बाटोमा पुगेको बताएका थिए । प्रशिक्षार्थीहरु १० जनामध्ये २ जना स्वरोजगारमा छन् । भन्छन्, ‘अब कुनै पनि डेस्कटप र ल्यापटप बनाउन आनाकानी गर्नै पर्दैन । सबै बनाउन सकिन्छ ।

तालिमले अनुहारमा आत्मविश्वाश दिने रहेछ । यो आत्मविश्वाश देखेर ग्राहकहरुले कामका लागि सजिलै पत्याउनु हुँदो रहेछ ।’
तालिम संयोजक भवानी कपालीका अनुसार यो तेस्रो वर्षको कार्यक्रम हो । गएको वर्ष कम्प्युटरको प्रिन्टरसहितका सामग्री मर्मत गर्न सिकाइएको थियो ।

तालिमका लागि सहकार्य गरेको संस्था अपाङ्गता सिप विकास तथा प्रतिस्थापन केन्द्रका महासचिव लक्ष्मीदास मघैयाका अनुसार तालिम अब जब हब खोलेर प्रशिक्षित सबै जनशक्तिलाई रोजगारमा आवद्ध गरिनेछ । यसपछि तालिम लिएका कसैले पनि वेरोजगार बस्नु पर्दैन ।


प्रतिक्रिया दिनुहोस्