टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक,कसरी लिने ? « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक,कसरी लिने ?



काठमाडौं । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । टेलिकमले उपलब्ध गराइरहेको १ घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन ।

एक घण्टा अनलिमिटेड प्याक
२० रुपैयाँमै उपलब्ध यो प्याक एक्टिभ गरेपछिको १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ । यो प्याक खरिद गरेको २४ घण्टासम्म उपयोग गर्न पाइन्छ । उदाहरणका लागि तपाईंले विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो प्याक निकै रुचाइएको छ ।

अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा सुविधा पाउन सकिन्छ । राती ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अर्का नाइट डाटा प्याक ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ ।

त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ ।  

प्याक खरिद गर्ने तरिका

विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । 

त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2 # डायल गर्न सकिन्छ । सिधै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *1415*1*5*4 # डायल गर्न सकिन्छ । सिधै NVUNLटाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । 

अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *1415*3 # डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । 

यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइट www.ntc.net.np बाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । 

बाँकी प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55# डायल गर्न सकिन्छ । त्यसैगरी VL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्