एनसेलले ४ अर्ब ६० करोड पुँजीगत लाभ कर तिर्यो, १४ अर्ब ४० करोड तिर्न बाँकी « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

एनसेलले ४ अर्ब ६० करोड पुँजीगत लाभ कर तिर्यो, १४ अर्ब ४० करोड तिर्न बाँकी



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउनलगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो। 

कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। पहिलो किस्ता बुझाएपछि एनसेलले मंगलबार किस्ताबन्दी सुविधा माग गरेको थियो। त्यसैअनुसार एनसेलले मंगलबार दोस्रो किस्ता तिरेको हो। एनसेलले दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको छ। 

संसदको सार्वजनिक लेखा समितिमा अर्थसचिव शिशिरकुमार ढुंगानाले केही अघि एनसेलबाट चालु आर्थिक वर्षभित्रै पुँजीगत लाभकर संकलन हुने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्