संसारभरका गभर्नरको बैठकमा ‘क्रिप्टोकरेन्सी’बारे छलफल, नेपालमा के गर्दै छ राष्ट्र बैंक ?

काठमाडौं । संसारका प्रमुख केन्द्रिय बैंकहरुको बैठकमा ‘डिजिटल करेन्सी’बारे छलफल भएको छ । बैंक फर इण्टरेशनल सेटलमेण्टको ९१ औं वार्षिक बैठकमा उक्त आधुनिक प्रविधीले विश्वब्यापी मुद्रा बजारलाई प्रभावित पार्न थालेकोबारे चर्चा भएको हो । गत सोमबार र मंगलबार आयोजित बैठकमा बैंक अफ इङ्ल्याण्ड र बैंक अफ क्यानडामा गर्भर भइसकेका मार्क क्यार्नीले यसबारे मन्तव्य राखेका थिए ।
विश्वभरका केन्द्रिय बैंकबीच समन्वयात्मक भुमिका निर्वाह गर्ने यो संस्थामा संसारका ६३ केन्द्रिय बैंकहरु सदस्य छन् । उक्त बैठकमा प्रविधीमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको विषयमा लामो समूहगत छलफल चलेको राष्ट्र बैंकले बताएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाली केन्द्रिय बैंकहरुको बैठकमा पनि सार्क क्षेत्रीय डिजिटल मुद्रा प्रचलनमा ल्याउनेबारे एक प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमाथि भारत, इरान, पाकिस्तानजस्ता मुलुकका केन्द्रिय बैंकले खासै चासो देखाएका थिएनन् । राष्ट्र बैंकले पनि अन्तरराष्ट्रिय फोरममा यस्ता विषय उठानमात्र गरेको छ । भारत, पाकिस्तानलगायत मुलुकले डिजिटल मुद्राबारे धेरै अध्ययन गरिसकेको भए पनि नेपालमा राष्ट्र बैंकले कुनै ठोस काम अघि बढाउन सकेको छैन । नेपालबाट पनि अनेकौं क्रिप्टो मुद्रा र यसको अन्तरराष्ट्रिय बजारमा अबैध लगानी भने भइरहेको छ ।
संसारका प्रमुख अर्थव्यवस्था भएका मुलुुकको केन्द्रिय बैंकहरुको बैठकमा डिजिटल मुद्राबारे बहस चर्कन थाले देखिन्छ । अब नविन प्रविधिमा आधारित मुद्राप्रति विश्व लचिलो हुन थालेको संकेत मिलेको छ । यसले भविष्यमा केन्द्रिय बैंकहरुलाई डिजिटल मुद्रातर्फ धकेल्नसक्छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी गरिरहेका बेला यस्तो छलफलमा सहभागि भएको छ ।
