प्रभू बैंकले ल्यायो डिपोजिट मेसिन, अब काउण्टरमा घण्टौं लाइन बस्नु नपर्ने « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

प्रभू बैंकले ल्यायो डिपोजिट मेसिन, अब काउण्टरमा घण्टौं लाइन बस्नु नपर्ने



काठमाडौं । आफूसँग भएको नगद पैसा बैंकमा जम्मा गर्न घण्टौंसम्म लाइन बस्नुपर्ने झण्झट धेरैले भोगेका हुन्छन् । बैंकहरुले आवस्यकताभन्दा कम कर्मचारी खटाउने, लाइन व्यवस्थित नहुने, कर्मचारीको कार्यदक्षता सुस्त हुँदा पनि ग्राहकले बैंकमा हैरानी खेप्नुपर्छ । कहिले विजुलीको समस्या, कहिले अन्य प्राविधिक समस्याले बैंकको प्रणालीमा अवरोध भएर पनि कयौं ग्राहकले दुःख पाउँदै आएका छन् ।

यस्ता यावत समस्या अब विस्तारै हट्ने भएको छ । यसको शुरुआत गरेको छ, प्रभू बैंकले । पछिल्लो समय आक्रामक विस्तारमै कुदिरहेको यो बैंकले हालैमात्र पैसा जम्मा गर्ने मेसिन ल्याएको छ । हाललाई काठमाडौंको बबरहल स्थित बैंकको प्रधान कार्यालयमा एउटा मात्र मेसिन राखिएको भए पनि यसलाई ग्राहकको माग अनुसार थप्दै जाने योजना रहेको बैंकको प्रमुख सञ्चालन अधिकृत रश्मी पन्तले बताइन् ।

‘हामी छिट्टै नै निक्षेपकर्ताको बढी चाप पर्ने ५ शाखामा यस्तो मेसिन राखिहाल्छौं,’ पन्तले भनिन्, ‘त्यसपछि ग्राहकको माग र आवस्यकता हेरेर तय हुन्छ ।’ यो मेसिनमा पैसा जम्मा गर्ने र निकाल्ने दुबै काम गर्न मिल्छ । एक पटकमा १० लाख रुपैयाँसम्म नगद जम्मा गर्नुपर्ने ग्राहकले यो मेसिनको प्रयोग गर्न सक्छन् ।

तर पछिल्लो समय प्राथमिक शेयर निष्काशन (आइपीओ)मा भाग लिन १ वा २ हजार रुपैयाँ जम्मा गर्ने ग्राहकको भीड बढेर काउण्टरमा चाप पर्न थालेको पन्त बताउँछिन् । यस्ता ग्राहकलाई मेसिनका कारण निकै सुविधा भएको छ । कोरोना महामारीको बेला काउण्टरमा भीड समेत घटेको र ग्राहकले पनि सुविधा पाएको पन्त बताउँछिन् ।

छिट्टै अरु १५ बैंकको खातामा पनि पैसा जम्मा गर्न मिल्ने

तत्कालका लागि यो मेसिनमा प्रभू बैंकका खातावाला ग्राहकलेमात्र निक्षेप जम्मा गर्न सक्ने छन् । तर छिट्टै नै यसलाई ‘नेपाल इलेक्ट्रोनिक पेमेण्ट सिस्टम (नेप्स)’को सञ्जालमा जोडिएका सबै बैंक खातामा पैसा जम्मा गर्नसक्ने व्यवस्था गर्ने पन्त बताउँछिन् । नेप्समा १० वटा बाणिज्य बैंक र ५ वटा विकास बैंक सहभागि छन् ।

प्रभूका साथै बैंक अफ काठमाण्डू, सिटिजन्स, ग्लोबल आईएमई, माछापुच्छ«े, नेपाल बंगलादेश, एनआईसी एसिया, प्राइम, सिद्धार्थ र सनराइज बैंक नेप्समा आबद्ध छन् । त्यस्तै एक्सेल डेभेलपमेण्ट, ज्योति विकास, लुम्बिनी विकास, सांग्रीला डेभेलपमेण्ट र साइन रेसुङ्गा डेभेलपमेण्ट बैंक पनि नेप्सको सञ्जालभित्र छन् । प्रभूले ल्याएको डिपोजिट मेसिनलाई नेप्सको सञ्जालमा जोडेपछि यी बैंकका ग्राहकले पनि निक्षेप जम्मा गर्न पाउने छन् ।

राती होस् वा विहान, जुनसुकै बेला खुल्ला

यो मेसिनले काउण्टरमा भीड लाग्नेमात्र होइन, ग्राहकको जरुरतलाई पनि पूरा गरिदिन्छ । उक्त मेसिन २४ घण्टा नै सञ्चालन गर्ने भने पनि अहिले विहान ६ बजेदेखि राती १० बजेसम्म खुल्ला हुने गरेको छ । यही कारण अत्यावस्यक परेको बेला बैंकको काउण्टर बन्द भएका कारण रकम जम्मा गर्न नपाउने विद्यमान असुविधालाई यो मेसिनले अन्त्य गरिदिएको छ ।

अब ग्राहकले विहान ६ बजेदेखि राती १० बजेसम्म यो मेसिनमार्फत् पैसा जम्मा गर्न सक्नेछन् । मेसिनबाट जम्मा गर्दावित्तिकै सम्बन्धित ग्राहकको खातामा रकम देखिने छ । त्यसपछि अरु कसैको खातामा पैसा रकमान्तर (ट्रान्सफर) गर्न कनेक्ट आईपीएस वा मोबाइल बैंकिङजस्ता वैकल्पिक माध्यम प्रयोग गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्