इरानको आकाशमा पुगेर खरानी भयो नेपालको पहिलो स्याटेलाइट « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

इरानको आकाशमा पुगेर खरानी भयो नेपालको पहिलो स्याटेलाइट



काठमाडौं । अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीलाई १३ हजार ४५६ फन्को मारेपछि नेपालको पहिलो स्याटेलाइट इरानको आकाशमा पुगेर खरानी भएको छ । ‘नेपालीस्याट १’ नाम दिइएको उक्त नानो स्याटेलाइट हिजो दिउँसो ४ः२६ बजे अन्तिम पटक ‘ट्याक’ भएको थियो । त्यसबेला यो सानो स्याटेलाइट इरान, इराक, कुवेत र पर्सियन खाडीको संगमस्थल नजिकैको आकाशमा थियो । मेसोपोटानिया सभ्यताको विकास भएको यो क्षेत्रमा नेपाली स्याटेलाइट हराएको छ ।

उक्त स्याटेलाइट २०७६ वैशाख ५ गते अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेण्टरको ‘लञ्च प्याड’बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट भने उक्त स्याटेलाइट त्यही वर्षको २ असारमा मात्रै पृथ्वीको कक्षमा छाडिएको थियो । त्यसबेला ‘नेपालीस्याट १’सँगै श्रीलंकाले बनाएको ‘रावण १’ र जापानले बनाएको ‘युगुसु’ एकसाथ पृथ्वीको कक्षमा छाडिएको थियो । त्यसबखत जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरु आभाष मास्के र हरिराम श्रेष्ठले नेपालका लागि स्याटेलाइट बनाएका थिए ।

जापानले अन्तरिक्षमा उपस्थिति नभएका मुलुकका विद्यार्थीलाई बटुलेर ससाना नानो स्याटेलाइटहरु बनाउन सिकाइरहेको छ । जापानको क्युटेक विश्वविद्यालयले विभिन्न मुलुकलाई जोड्ने गरी तयार पारिएको यस्तो परियोजनालाई ‘बर्डस’ नाम दिएको छ । यसको नेपाली अनुवाद हुन्छ, ‘चराहरु’ ।

चराजस्तै साना स्याटेलाइट बनाउने यो परियोजनाबाट अहिलेसम्म नेपालसहित विभिन्न मुलुकले अन्तरिक्षमा आफ्नो उपस्थिति दर्शाइ सकेका छन् । ‘बर्डस १’ अर्थात् पहिलो चरणमा घाना, मंगोलिया, नाइजेरिया र बंगलादेशले स्याटेलाइट बनाएर उडाएका थिए । ‘बर्डस २’ मा फिलिपिन्स, भुटान र मलेसिया सहभागि थिए । ‘बर्डस ३’ मा भने श्रीलंका र नेपालले सहभागिता जनाए । ‘बर्डस ४’ अन्तरगत गतवर्षमात्रै फिलिपिन्स र पाराग्वेले स्याटेलाइट बनाएर अन्तरीक्षमा पठाएका छन् । यी चारै पटक जापानले भने एक–एक वटा स्याटेलाइट उडाएको छ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि शंकाय प्रमुख प्राडा. रविन्द्रप्रसाद ढकालले उक्त स्याटेलाइट ध्वस्त भएको बताए । स्याटेलाइटहरु पृथ्वीको वायुमण्डल पुनःप्रवेश गरिसकेपछि ज्यादै तीव्र गतिमा जमीनतिर झर्छन् ।

जमीनको सतहबाट जति नजिक आउँछ, त्यति नै गति बढ्ने भएकाले विस्तारै स्याटेलाइटमा जडान गरिएका पार्टपूर्जाले काम गर्छ छाड्छन् । त्यसपछि यस्ता स्याटेलाइटले ‘ग्राउण्ड स्टेशन’सँगको सम्पर्क गुमाउँछन् । तर यस्ता भूउपग्रहबाट मानिसहरु डराउनु नपर्ने प्राडा ढकाल बताउँछन् । ‘यस्ता साना उपकरणहरु पृथ्वीको सतहमा नआउँदै भष्म भइसक्छन्’, उनले भने ।

ढकालले नेपालीस्याट ध्वस्त भए पनि नेपालका लागि स्याटेलाइटमा पहूँच भने कायमै रहने छ । ‘हाम्रो स्याटेलाइट विग्रिए पनि बर्डस नेटवर्कमा भएका अरु मुलुकका स्याटेलाइट हामीले प्रयोग गर्न पाउँछौं,’ उनले भने, ‘यही वर्ष जापानले अन्तरिक्षबाट तस्वीरहरु लिने प्रयोजनका लागि ‘सिक्स यू’ (६ वटा युनिट अर्थात् ससाना क्युब भएको) स्याटेलाइट पनि प्रक्षेपण गरेको छ ।’

त्यसबाट प्राप्त हुने तस्वीरहरु हामी नेपालमै बसेर तान्न सकिने ढकाल बताउँछन् । ‘कित्सुने’ नाम दिइएको उक्त स्याटेलाइटले ५ मिटर रिजोलुशनका स्तरीय तस्वीरहरु पठाउने भएकाले नेपालको स्याटेलाइट नहुँदा पनि अन्तरिक्ष गतिविधीमा आफ्नो पहूँच गुमाउनु नपर्ने ढकाल बताउँछन् ।

अपेक्षाः केही पुरा, केही अधुरा

नयाँ स्याटेलाइटबाट आफूहरुको धेरैजसो अपेक्षा पुरा भएको ढकाल बताउँछन् । नेपाली इञ्जिनियरहरुले बनाएको स्याटेलाइट नै ‘अहिलेसम्मको सर्वोत्कृष्ट नानो स्याटेलाइट’ भनेर दर्ज भएको उनले बताए । ‘अन्तिम समयसम्म कुनै पनि प्राविधिक कमजोरी नदेखिएर पनि निकै लामो समयसम्म अन्तरिक्षमा सक्रिय रहेको कारणले हाम्रो प्राविधिक दक्षता सुधार भएको पुष्टि हुन्छ’, उनले भने ।

यसबाहेक नेपाली जनतामात्र होइन, सरकारलाई पनि अन्तरिक्ष गतिविधीमा नेपालीहरु अघि बढ्न सक्छन् भन्ने विस्वास जगाउन सक्षम भएको उनले बताए । अहिले सरकार पनि नास्टले यस्ता ‘परियोजना’ ल्याए पैसा दिन कञ्जुस्याइँ नगर्ने अवस्थामा पुगेको उनी बताउँछन् ।

यही घटनाका कारण स्याटेलाइटको अन्तरराष्ट्रिय सञ्जालमा नेपालको उपस्थिति भएको छ । आफ्नो स्याटेलाइन नहुँदासमेत अरुका स्याटेलाइटमा पहूँच पाउने अवस्था बनेको छ । नेपालको ग्राउण्ड स्टेशनले अन्तरिक्षमा अविछिन्न पहूँच पाउने अवस्था बन्नु हाम्रा लागि सुखद भएको ढकाल बताउँछन् । उनले नेपालमा अझै परिस्कृत अर्को ‘ग्राउण्ड स्टेशन’ बनाउन सक्ने हैसियत तयार हुँदै गएको पनि बताए ।

तर प्राकृतिक प्रकोप, मौसमी सूचनाजस्ता क्षेत्रमा स्याटेलाइटको उपयोग गर्न भने नसकिएको ढकाल बताउँछन् । ‘हामीले नियमित रुपमा तस्वीरहरु लिने र त्यसलाई विश्लेषण गर्न सकिएन,’ उनले भने, ‘यही कारण प्राकृतिक प्रकोपपछिका उद्धार एवम् मौसमी जानकारीमा स्याटेलाइटको उपयोग हुन सकेन ।’ नेपालीस्याट १ प्रक्षेपण गर्नुअघि नास्टले बाढी, पहिरो, आगलागि जस्ता प्राकृतिक प्रकोपको सामना गर्न स्याटेलाइट महत्वपूर्ण सहयोगी हुने अपेक्षा गरेको थियो ।

यस्ता कार्यका लागि नास्टसँग दक्ष र पर्याप्त जनशक्तिको अभाव भएकाले केही अपेक्षित उद्देश्य प्रापत हुन नसकेको ढकाल बताउँछन् । ‘दक्ष जनशक्ति, उनीहरु तालिमको व्यवस्था भएको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘अझै पनि हामीसंग भएको ग्राउण्ड स्टेशनको पुर्वाधार, स्याटेलाइट बनाउने कौशल विकास भएको छ । ८–१० जना युवा विद्यार्थीले स्याटेलाइटसँग कम्युनिकेशन गर्न जानिसकेका छन् । यसरी ज्ञानको संश्लेषण भइरहेको छ ।’

दुई वर्षअघि अन्तरिक्ष केन्द्रबाट पृथ्वीको कक्षमा छाडिँदै गरेको ‘नेपालीस्याट–१’

नेपालमै बन्दै छ अर्को स्याटेलाइट

एउटा स्याटेलाइट आकाशमै ध्वस्त हुनअघि नै नास्टले स्वदेशमै अर्को भूउपग्रह तयार पारिरहेको छ । यसको परीक्षण भारतमा गर्ने र उडाउनका लागि प्राविधिक तयारी गर्न थाइल्याण्डसँग सहकार्य गर्ने तयारी भइरहेको ढकालले बताए । थाइल्याण्डमा स्पेस इञ्जिनियरिङ पढाउने विश्वविद्यालयले सञ्चालन गरेको एउटा स्टार्टअप कम्पनीसँग साझेदारी गर्ने प्रयास भइरहेको बताइएको छ ।

अहिले बनिरहेको स्याटेलाइट सन् २०२२ भित्र प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । यसअघि जापानमा बसेर ‘नेपालीस्याट १’ बनाएका आभाष मास्केकै संयोजकत्वमा नास्टमा भूउपग्रह निर्माणको काम भइरहेको छ । पहिलो पटक नेपालमा बनाउन लागिएकाले अहिले धेरैलाई सिकाउने र स्याटेलाइटका प्रशिक्षक तयार पार्ने हिसाबले काम भइरहेको ढकालले बताउँछन् ।

अहिले बनाइरहेको स्यालेटाइट चाहीँ पहिले पठाएको भन्दा ३ गुणा ठूलो हुनेछ । पहिले लम्बाइ, चौडाइ र उचाइ तिनैतिर १० सेण्टिमिटर (करिब एक बित्ता) भएको एउटामात्रै एकाइ अन्तरिक्षमा पठाइएको थियो । अब भने एउटै बाक्सामा त्यस्ता ३ वटा एकाई जोडेर पठाउन लागिएको हो । अब पठाइने स्याटेलाइटमा भने क्यामेरालाई बढी सुदृढ गरिने ढकालले बताउ । यही कारण पहिलेको भन्दा अब पठाउने स्याटेलाइट बढी प्रभावकारी हुनसक्ने छ ।


प्रतिक्रिया दिनुहोस्