अमेरिकामा पौने ५ करोडमा विक्यो एपलको यो पहिलो कम्प्युटर « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

अमेरिकामा पौने ५ करोडमा विक्यो एपलको यो पहिलो कम्प्युटर



काठमाडौं । एपल कम्पनीका संस्थापकहरू स्टिभ वोजनियाक र स्टिभ जब्सले सन् १९७६ मा बनाएको एउटा सुरुवाती कम्प्युटरले लिलामीका बेला अमेरिकामा ४ लाख अमेरिकी डलर (करीब ४ करोड ७० लाख रुपैयाँ) पाएको छ ।

दुर्लभ हवाइअन कोओबाट बनेको काठे बक्सा भएको एपल–१ ले अझै काम गरिरहेको छ । त्यो सुरुमा निर्माण गरेर बेचिएको २०० वटा कम्प्युटरमध्ये एक हो । उक्त कम्प्युटरको स्वामित्व अहिलेसम्म दुई जनासँग मात्र रह्यो ।

क्यालिफोर्नियाका लिलामी कर्ता जोन मोरनका अनुसार शुरूमा त्यसलाई एक जना कलेजका प्राध्यापकले चलाएका थिए । पछि उनले आफ्ना विद्यार्थीलाई त्यो ६५० अमेरिकी डलरमा बेचेका थिए । उक्त विक्रीमा प्रयोगका लागि सहायता सामग्री र दुईवटा क्यासेट टेपमा एपलका सफ्टवेयर संलग्न छ ।

गत मङ्गलवारको लिलाम विक्रीअघि एपल–१ विज्ञ कोरे कोहिनले लस एन्जलस टाइम्ससँग भने, ‘पुराना इलेक्ट्रोनिक्स र कम्प्युटर प्रविधिका सङ्ग्रहकर्ताका लागि यो पवित्र अवशेषजस्तो हो ।’ यो साँच्चिकै धेरैलाई लोभ्याउने कुरा भएको उनले बताए ।

उक्त मोडलको कोआ काठको बाकस उति बेलाको एउटा कम्प्युटर विक्रेता क्यालिफोर्नियाको बाइट–सपले थपेको थियो । उक्त विक्रेताले त्यसबेलै ५० वटा एपल–१ कम्प्युटर बेचेको थियो । जब्स, वोजनियाक र रोनाल्ड वेनेले सन् १९७६ को अप्रिल १ मा क्यालिफोर्नियाको एउटा ग्यारेजमा एपलको स्थापना गरेका थिए ।

उत्पादनको कथा

एपल–१ को उत्पादनलाई आर्थिक रूपले सघाउन जब्सले भी–डब्लू माइक्रोबस र वोजनियाकले आफ्नो एचपी–६५ क्यालकुलेटरलाई पाँच सय डलरमा बेचेका थिए । सन् १९७६ मा उक्त कम्प्युटरहरू ६६६.६६ अमेरिकी डलरको दरले बेचिएका थिए ।

त्यस्तो मूल्य राखिनुको कारण वोजानियाकले अङ्कहरू दोहोरिएको रुचाउनु रहेको थियो । अझै संसारभर त्यस्ता २० वटा काम गर्न सक्ने कम्प्युटरहरू रहेको विश्वास गरिन्छ । यसअघि सन् २०१४ मा न्यूयोर्कमा भएको एउटा बेग्लै लिलामीमा काम गरिरहेकै एपल–१ कम्प्युटर ९ लाख ५ हजार अमेरिकी डलरमा विक्री भएको थियो । बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस्