एनटिसीको स्प्रिङ अफरः अल नेटवर्कमा असीमित कुराकानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक सहितको स्प्रिङ अफर सञ्चालनमा ल्याएको छ । टेलिकमको उक्त अफ बैशाख ५ गतेदेखि उपलब्ध गराउने भएको हो ।
कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । अबदेखि ९९९ रुपैयाँ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ । साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् । सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको छ ।
कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध हुनेछ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन् ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार चौधपन्ध्र ह्याज डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।