नेपाल टेलिकमले लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रुपैयाँ रहेकोमा अब १ हजार ६ सय रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सय रुपैयाँ बाट घटाएर १ हजार ६ सय रुपैयाँ नै कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमश २ हजार १ सय रुपैयाँ र १ हजार ९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १ हजार ५ रुपैयाँ कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रुपैयाँ रहेकोमा अब २ हजार ४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रुपैयाँ रहेकोमा अब २ हजार १ सय रुपैयाँ र १०० एमबीपीएस भन्दा बढीको २ हजार १ सय रुपैयाँ रहेकोमा अब १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।
