फेसबुक, ट्वीटर र अमेजनजस्ता कम्पनीबाट आखिर के गल्ति भयो ? यो दुर्दशाको कारण यस्तो छ « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

फेसबुक, ट्वीटर र अमेजनजस्ता कम्पनीबाट आखिर के गल्ति भयो ? यो दुर्दशाको कारण यस्तो छ



मेटा (फेसबुक), ट्वीटर तथा अमेजन जस्ता विशाल प्रविधी कम्पनीहरु इतिहासमै पहिलो पल्ट हजारौं कर्मचारी कटौति गरिरहेका छन् ।

काठमाडौं । एउटा समय थियो, जुन बेला सिलिकन भ्यालीका कयौं कम्पनीहरु दुनियाँभरबाट नयाँ र दक्ष कामदार खोजेर भटाभट रोजगारी दिइरहेका थिए । कोभीड महामारीले संसार आक्रान्त भइरहँदा यी कम्पनीहरु सफलताको नयाँ उचाइमा झण्डा गाड्दै थिए । सबै प्रविधि कम्पनीहरुले नयाँ नयाँ योजनामा काम सुरु गरेका थिए । उनीहरुलाई लागेको थियो, हावाको झोँक उनीहरुले चाहेकै दिशामा बहिरहने छ ।

तर अहिले हावाको दिशा मोडिएको छ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाका अध्यक्ष एवम् सीईओ मार्क जुकरबर्गकले आफू गलत भएको स्वीकारमात्रै गरेका छैनन्, हालैमात्र ११ हजार कर्मचारी कटौति गर्ने कम्पनीको निर्णय ‘उचित’ भएको भनेका छन् ।

यो ११ हजार कर्मचारी भनेको मेटाको १३ प्रतिशत श्रमशक्ति हो । ‘मेटाभर्स’ भनिने उन्नत प्रविधिको आविस्कारमा जुटेको यो कम्पनी अहिले कर्मचारी हटाउन विवश भएको छ । पछिल्लो समय संसारभर प्रविधि कम्पनीहरुको वित्तीय विवरणले ती ठूला कम्पनीको पुर्वानुमान बमोजिम संसारको बजार विकसित हुन नसकेको देखाएका छन् ।

सन् २०२१ मा मेटाले आफ्नो सर्वोच्च उचाइ चुम्दा उसको बजार मूल्य १ ट्रिलियन डलर अर्थात् १२ नील (१२०० खर्ब) रुपैयाँ बराबर थियो । त्यसयता कम्पनीको भाउ सयौं अर्ब डलर घटिसकेको छ ।

एलन मस्कको नेतृत्वमा आएपछि ट्वीटरले ५० प्रतिशतसम्म कर्मचारी कटौति गर्ने घोषणा गरेको छ । ई–कमर्श कम्पनी अमेजनले करीब १० हजार कर्मचारी हटाउने योजना अघि सारिसकेको छ । नेटफ्लिक्स, स्ट्राइप, स्नेप, रबिनहुड, पेलोटोन, लिफ्ट, क्वाइनबेसजस्ता कम्पनीले पनि कर्मचारी कटौति थालिसकेका छन् ।

वर्षैंदेखि असाधारण उन्नती गरेका यी प्रविधी कम्पनीहरुको ब्यापार कमेभीडको समयमा उचाइमा पुगेको थियो । पछिल्लो सातामात्रै सिलिकन भ्यालिका कम्पनीले ३० हजारभन्दा धेरैलाई जागिरबाट निकालिसकेका छन् । विगत कयौं वर्षसम्म बेहिसाब नाफा कमाएका यी कम्पनीहरु अहिले अप्ठेरोमा परेका छन् ।

यी कम्पनीको सेयरमा लगानी गर्नेहरुले पनि अन्दाधुन्द पैसा फालेका थिए । यसको परिणति अहिले भोग्नु परिरहेको छ । अहिले यी कम्पनीको बजार पूँजिकरण अर्बैं डलर घटिसकेको छ । विश्लेषकहरु सन् २००० मा देखिएको ‘डट–कम बबल क्र्यास’कै जस्तो अवस्था अहिले दोहोरिएको भन्न थालेका छन् ।

दुई दशकअघि पनि अमेरिकी प्रविधी कम्पनीहरुले यस्तै खराब स्थितिको सामना गरेका थिए । सन् १९९० पछि दुनियाँभर इण्टरनेटको प्रयोग ह्वात्तै बढ्यो । मूलतः १९९५ पछि यसको विस्तार ब्यापक भयो र कम्पनीको शेयर मूल्य पनि अन्दाधुन्द उकालो लाग्यो । सन् २००० को मार्चमा उच्चतम विन्दुमा पुग्दासम्म नास्ड्याकमा कम्पोजिट स्टक मार्केट इन्डेक्स ४०० प्रतिशत बढेर तीव्र गतिमा ओरालो लागेको थियो । त्यसबखत कयौं प्रविधि कम्पनीहरुले खराम समयमा गुजार्नु पर्यो भने कयौं कम्पनी त बजार र सेयरको भाउले रसातल भेटेपछि अस्तित्वबाटै नामेट भएका थिए ।

पछिल्ला २० वर्षमा प्रविधि कम्पनीको उछालले संसारलाई मार्क जुकरबर्ग, एलन मस्क, ज्याक डोर्सी, जेफ बेजोसजस्ता अर्बपति दिएका छन् । यही कारण अमेरिकी सेयर बजारमा वर्षैंसम्म प्रविधि कम्पनीहरुको हैसियत बेग्लै र उँचो थियो, जुन पछिल्ला केही हप्तामै धुमिल हुँदै छन् । हिजोसम्म अपराजेय भनिने यी कम्पनीहरु अहिले हतास देखिन थालेका छन् ।

सिलिकन भ्यालीमा पहाडबाट निस्केको नदीजस्तै गरी पैसा बग्ने एउटा युग अव समाप्त भएको मान्न थालिएको छ । अझै पनि एप्पल, गुगल, माइक्रोसफ्ट, इन्टेलस्ता कम्पनीले कर्मचारी कटौतिका ठोस योजना अघि सारिसकेका छैनन् । तर विस्तार विस्तार सबै प्रविधी कम्पनीहरु मन्दीको शिकार हुने लगभग पक्का छ । अव त, समयले नै बताउने छ की, कहानी कुन मोडमा पुगेर अन्त्य हुने छ ।

बीबीसी हिन्दीबाट साभार ।


प्रतिक्रिया दिनुहोस्