‘क्यासलेस’ कारोबारमा मोबाइल बैंकिङ्गको फड्को: २ करोड १३ लाख नाघ्यो प्रयोगकर्ता, एक महिनामै २३३ अर्ब भुक्तानी

काठमाडौं । मोबाइल बैङ्किङको विस्तार व्यापक रूपमा भएको छ । नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्गको विस्तार तीव्रताका साथ अघि बढेको हो ।
हाल नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या उच्चमा मात्रमा वृद्धि भएका छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले पनि मोबाइल बैंकिङ्ग निकै बढेको देखाएको छ ।
गत वर्षसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३० लाख ५६ हजार ७३४ (१६.६९ प्रतिशत) ले बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा यस्तो प्रयोगकर्ताको सङ्ख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेको थियो ।
नगदरहित कारोबारमा पछिल्लो समय राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थाहरूले पनि निकै जोड्दिँदै आएका छन् । मोबाइल बैंकिङ्गलाई नगदरहित कारोबारको लागि उपयुक्त माध्यमका रूपमा लिइएको छ ।
मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् ।
विद्युतीय कारोबारमा मोबाइल बैंकिङ्गको ठुलो योगदान रहेको राष्ट्र बैङ्कका अधिकारीहरिको भनाई छ । डिजिटल भुक्तानीमा अन्य प्रविधिको तुलनामा मोबाइल बैङ्किङलाई सहज पनि मानिन्छ । पछिल्लो समय यसको प्रभावकारिता पनि बढ्दै गएको छ । विशेषगरि कोरोना महामारीदेखि मोबाइल बैंकिङ्गको थप प्रभाव बढेको हो । ‘केही समयपछि मोबाइल बैङ्किङजस्ता प्रविधिले बिस्तारै नगद कारोबारलाई प्रतिस्थापन गर्न सक्ने देखिन्छ । यसमा धेरै सहज खालका सुविधा भएकाले पनि यसमा सर्वसाधारणको आकर्षण चुलिएको छ’– राष्ट्र बैङ्कले भन्यो ।

६ वर्षअघि ५० लाख ८६ हजार मात्रै रहेका मोबाइल बैंकिङ्ग प्रयागकर्ताको सङ्ख्या केही वर्षमै व्यापक रूपमा बढेको छ । २०७५ मा ५० लाख ८६ हजार ६९ जना मात्रै मोबाइल बैंकिङ्ग प्रयोगकर्ता थिए । तर, त्यसपछि क्रमशः बढ्दै गएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँदछ। २०७६ मा ८३ लाख ४७ हजार १८७, २०७७ मा १ करोड १३ लाख ६ हजार ७९७, २०७८ मा १ करोड ४१ लाख ९४ हजार ८३९ जना रहेको थिए । २०७८ पछि नै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १ करोड ८३ लाख ७ हजार २५५ जना रहेको थिए ।
एक महिनामै २ खर्ब ३३ अर्ब बढीको कारोबार
ग्राहकमा सबैभन्दा लोकप्रिय मानिने मोबाइल बैङ्किङबाट हुने भुक्तानीमा पनि उल्लेख्य बढोत्तरी देखिएको हो । मोबाइल बैंकिङ्ग प्रयोगकर्तासङै कारोबार रकम पनि बढ्दै गएको छ ।
गत असारमा मात्रै २ खर्ब ३३ अर्ब ४४ करोड भुक्तानी मोबाइल बैंकिङ्ग मार्फत भएको छ । जुन, गत वर्षको असार महिनाको तुलनामा ४२.९९ प्रतिशतले बढी हो । गत असारमा २ अर्ब ८९ करोड ३ लाख ८७२ पटक मोबाइल बैङ्किङ कारोबार भएको छ ।
गत वर्षको असारमा भने १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख बढीको भुक्तानी मोबाइल बैंकिङ्ग मार्फत भएको थियो । राष्ट्र बैङ्कका अनुसार गत जेठमा २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो ।