दसैँमा लगानीकर्तालाई नेप्सेको ‘नेप्से–३० इन्डेक्स’ उपहार, कहाँ पुग्यो तयारी ?  « Arthapath.com
२१ भाद्र २०८०, बिहीबार

दसैँमा लगानीकर्तालाई नेप्सेको ‘नेप्से–३० इन्डेक्स’ उपहार, कहाँ पुग्यो तयारी ? 



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबारको नयाँ सूचकाङ्क ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सम्भवतः अबको एक महिना भित्र अर्थात् असोज दोस्रो वा तेस्रो साता उक्त इन्डेक्स सञ्चालनमा ल्याउने नेप्सेको तयारी छ । 

यसका लागि आवश्यक प्राविधिक तथा नीतिगत तयारी पुरा भइसकेको छ । त्यो अवस्थामा एक महिनामा यो सञ्चलनमा ल्याउन सकिने नेप्सेका एक उच्च अधिकारीले बताए । दसैँ अघि नै यसको सुरुवात हुने उनको भनाइ छ । उनले भने,–‘नेप्से ३०’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अबको एक महिना भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। असोज दोस्रो वा तेस्रो सातामा सञ्चालनमा ल्याउने नेप्सेको तयारी छ ।’

स्रोतका अनुसार यसको कार्यविधि स्वीकृतिका लागि नेप्सेको सञ्चालक समितिमा पेस भइसकेको छ । सम्भवतः अब बस्ने बैठकले त्यसलाई स्वीकृत गर्नेछ । त्यसपछि ‘नेप्से ३०’ इन्डेक्सको कारोबार सुरु हुनेछ । ‘नेप्से सञ्चालक समितिमा कार्यविधि स्वीकृतिका लागि पेस भइसकेको छ, बैठकले त्यसलाई स्वीकृत गरेपछि ‘नेप्से ३०’ इन्डेक्सको कारोबार सुरु हुनेछ’– स्रोतले भन्यो । 

केही नमुना कम्पनी छनोट गरेर गत साउन ९ गतेदेखि यसको आन्तरिक परीक्षण समेत भइरहेको छ । आन्तरिक परीक्षणले नेप्से ३० इन्डेक्स सञ्चालन सम्भव पनि देखाएको छ । अब सञ्चालक समितिले कार्यविधि स्वीकृत गरेपछि यसको कारोबार सुरु हुने बताइएको छ । 

नेप्सेले सबै सूचिकृत कम्पनीमध्येबाट तोकिएको मापदण्ड पुरा हुने उत्कृष्ट ३० कम्पनीलाई यसमा समावेश गरिने छ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रको कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट न्यूनतम १  अनिवार्य र अधिकतम ८ वटा कम्पनी समावेश गरिने छ र यो इन्डेक्स बनाइने छ ।

हाल नेप्सेमा सेन्सीटीभ, सव सेन्सीटीभ, समूहगत गरेर १७ वटा इन्डेक्स रहेका छन् । यो थपिएपछि १८ वटा इन्डेक्स हुनेछन् । पहिलो चरणमा यस इन्डेक्सको छुट्टै सेयर कारोबार भने हुँदैन । सर्वसाधारणले नेप्से ३० इन्डेक्सबारे विस्तृतमा बुझेपछि यसको छुट्टै कारोबार गर्न सकिने बताइएको छ । 

दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले नेप्सेले यो इन्डेक्स ल्याउन लागेको हो । यसमा तत्काल कारोबारयोग्य  फ्री फ्लोट  सेयरहरूलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकाङ्कको रूपमा नेप्से ३० इन्डेक्स लागू गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्