टिकटक मात्रै होइन, नेपालमा ५ लाखभन्दा धेरै एप र वेवसाइटमाथि प्रतिबन्ध « Arthapath.com
३ मंसिर २०८०, आईतवार

टिकटक मात्रै होइन, नेपालमा ५ लाखभन्दा धेरै एप र वेवसाइटमाथि प्रतिबन्ध



अनुगमन गर्न प्राधिकरणले बनायो समिति

काठमाडौं । हालैमात्र सरकारले चिनिया मनोरञ्जन एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विरोध जनाउने क्रम अझै रोकिएको छैन । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा शुक्रबारमात्रै १० वटा मुद्दा परेका छन् । ती रिट निवेदनहरु एकै ठाउँमा राखेर सोमबार (भोलि) प्रारम्भिक सुनुवाइ हुने अदालतले जनाएको छ । तर सोमबार थप मुद्दाहरु आउनसक्ने संभावना पनि छ ।

तर टिकटकमाथि मात्रै नेपालले प्रतिबन्ध लगाएको होइन । हालसम्म ५ लाखभन्दा धेरै एप तथा वेवसाइटहरु प्रतिबन्धको शिकार बनिसकेका छन् । दूरसञ्चर तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यति ठूलो संख्यामा मोबाइल एप र वेवसाइट बन्द गरिएको हो ।

२०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यस घटनाको अनुसन्धानबाट हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारको ब्यापक विरोध भइरहेका बेला सरकारले ‘पोर्नोग्राफिक’ अर्थात् यौनजन्य एवम् अश्लील सामग्रीहरु प्रस्तुत गर्ने वेवसाइट र मोबाइल एप्लिकेशनहरु सबैभन्दा पहिले प्रतिबन्ध गरेको थियो ।

त्यसयता दूरसञ्चार प्राधिकरणले एप तथा वेवसाइटको निरन्तर अनुगमन गर्दै आएको छ । क्रिप्टोकरेन्सी, अनलाइन जुवा र डिजिटल नेटवर्किङसँग सम्बन्धित सय वटाभन्दा धेरै वेवसाइटहरुलाई पनि नेपालमा प्रतिबन्ध लगाइसकिएको छ ।

दर्ता नभएका समाचार पोर्टलहरु पनि प्रेस काउन्सिलको सिफारिसमा बन्द गरिएका छन् । यस्ता वेवसाइटको संख्या पनि १०० कै हाराहारी रहेको छ । चिनियाँ अनलाइन गेम पब्जीमाथि पनि सरकारले यसअघि प्रतिबन्ध लगाएको थियो । यो मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधिन छ ।

कडा अनुगमनमा उत्रियो प्राधिकरण

पछिल्ला ५ वर्षमा ५ लाखभन्दा धेरै वेवसाइट र एपहरु बन्द भएको भनिए पनि त्यसको सामाजिक असर धेरै परेको थिएन । तर टिकटक त्योभन्दा भिन्न छ । नेपालभित्र हुने कुल इन्टरनेट खपतको करीब ३० प्रतिशत हिस्सा टिकटकमा मात्रै खपत भइरहेको थियो । यसले इन्टरनेट सेवा प्रदायकहरुको व्यापारमा ठूलो धक्का लागेको छ ।

टिकटकलाई नाम र दाम कमाउने ‘प्लेटफर्म’को रुपमा पनि धेरैले उपयोग गर्दै आएका थिए । यस्ता हजारौं नेपालीलाई पनि टिकटक बन्द हुँदा असर पर्ने संभावना छ । तर नियाकम निकायले भने यस एपमाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने कोसिस गरिरहेको छ ।

काठमाडौंको जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय ।

प्राधिकरणले हालैमात्र सूचना प्रकाशित गरेर कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीले टिकटक एप सञ्चालन गर्न दिइरहेको थाहा पाएमा खबर गर्न अनुरोध गरेको छ ।

गत सोमबार मन्त्रि परिषदले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ भनेर टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यससँगै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

तर कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त निर्देशन अस्वीकार गरेको भन्ने जानकारी आएपछि प्राधिकरणले गत शुक्रबार अनुगमन समिति नै गठन गरेको छ । प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति गठन भएको छ ।

समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधी सदस्य रहने छन् भने प्राधिकरणकै उपनिर्देशक रोजाकिरण बासुकला सदस्यसचिवको भूमिकामा रहने छिन् ।

नेपालमा १३०को हाराहारीमा इन्टरनेट सेवा प्रदायकहरु छन् । यसमध्ये अत्यधिक बजार हिस्सा ओगट्ने ३५ कम्पनीले तुरुन्तै बन्द गरे पनि केही साना कम्पनीहरुले निर्देशन पालना नगरेको बताइएको छ ।

तथ्यांकमा टिकटक

अहिले संसारभर प्रमुख सामाजिक सञ्जालमध्ये मासिक सक्रीय प्रयोगकर्ताको हिसाबले टिकटक चौंथो नम्बरमा छ । फेसबूकका सक्रीय प्रयोगकर्ता २ अर्ब ९० करोड, युट्युबका २ अर्ब २० करोड, इन्टाग्रामका १ अर्ब ४० करोड र टिकटकका १ अर्ब सक्रीय प्रयोगकर्ता छन् । स्न्यापच्याटको ७५ करोड, पिनटेस्टको ४८ करोड र ट्वीटरको ३० करोड सक्रीय प्रयोगकर्ता छन् ।

संसारभर अहिलेसम्म टिकटक एप ३ अर्ब पटकभन्दा धेरै डाउनलोड भइसकेको छ । पृथ्वीका करीब २१ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले टिकटक चलाउँछन् । टिकटकले सन् २०२२ मा मात्रै कम्तिमा ४ अर्ब अमेरिकी डलर अनलाइन विज्ञापनबाटै कमाएको थियो ।

प्रतिबन्धको लहर

सन् २०१९ मा संसारभर भएको टिकटक डाउनलोडमध्ये झण्डै आधा भारतमा मात्रै भएको थियो । त्यहाँको हरेक ३ मध्ये १ स्मार्टफोनमा टिकटक चल्थ्यो । तर अहिले भारतले नेपालमाजस्तै टिकटकलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तान, इरान, किर्गिजस्तान र सोमालियाले पनि टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपेली संघ, फ्रान्स, लात्भिया, न्यूजिल्याण्ड, नर्वे, ताइवान, बेलायत र अमेरिकाले पनि आंशिक प्रतिबन्ध लगाएका छन् ।

अद्यपि, गत अक्टोबरमा टिकटकको सबैभन्दा ठूलो बजार अमेरिका बनेको छ । त्यसपछि इन्डोनेसिया, ब्राजिल, मेक्सिको, भियतनाम, रुस, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड, टर्की र साउदी अरबजस्ता मुलुकहरु यसको प्रमुख बजार बनेका छन् ।

टिकटकको माऊ कम्पनी बाइट डान्सले उसकै घरेलु बजारमा भने टिकटक नभएर ताउयिन नामले भिडियो शेयरिङ सञ्जाल सञ्चालन गरेको छ । यसरी चीन भित्र र बाहिर भिन्न ब्राण्ड र प्लेटफमर्ममा उस्तै सुविधा दिएर ब्यापार गर्ने उक्त कम्पनीको रणनीतिलाई लिएर पनि थुप्रै सन्देशहरु गरिएको छ ।

भिन्न प्लेटफर्म बनाएर चिनियाँलाई अनुशिक्षित गर्ने र उत्प्रेरित गर्नमा सघाइरहेको यो प्लेटफर्मले बाँकी दुनियालाई बेकामे बनाउन सघाइरहेको भन्ने आरोप लाग्दै आएको छ । सँगसँगै संसारभरका मानिसहरुको व्यक्तिगत सूचना चोरी गरिरहेको र विकासोन्मुख मुलुकहरुमा राजनीतिक धारणहरु निर्माण गर्नमा समय भूमिका खेल्न थालेको आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्