नेप्सलाई एनसीएचएलमा गाभ्ने प्रक्रिया अघि बढ्यो, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर « Arthapath.com
११ पुष २०८०, बुधबार

नेप्सलाई एनसीएचएलमा गाभ्ने प्रक्रिया अघि बढ्यो, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) आपसमा गाभिने भएका छन् । आइतवार एनसीएचएलको १५औं वार्षिकोत्सवको अवसरमा यी दुई कम्पनीबीच मर्जर तथा एक्विजिनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको स्वामित्व रहेका यी दुई संस्था नेपालमा भुक्तानी प्रणाली सञ्चालक हुन् ।

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सको मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेर पत्र आदानप्रदान गरेका छन्। सो क्रममा साक्षीको रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिना तथा राष्ट्र बैंकका अन्य पदाधीकारी एवम् बैंकरहरुको उपस्थिति रहेको थियो ।

एनसीएचएलले अहिले राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अघि बढाइरहेको छ । नेपाल–भारत डिजिटल भुक्तानीलाई कार्यान्वयनमा ल्याउन पनि एनसीएचएलले काम गरिरहेको छ । यस्तो बेला नेपालभित्रैका केही बैंकहरुको कार्डमा आधारित कारोबारलाई सहजिकरण गरिरहेको भुक्तानी स्वीच सञ्चालक नेप्सलाई पनि एनसीएचएलमै समाहित गर्न खोजिएको हो । यसलाई एक प्रकारले एकद्वार प्रणालीमा लान खोजेको रुपमा पनि हेर्न सकिन्छ ।

यसरी दुई अलग अलग भुक्तानी प्रणाली सञ्चालकलाई एकै ठाउँमा गाभ्दा दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुनेगरी अगाडि बढ्नु उपयुक्त हुने दुबै पक्षको ठहर छ ।

१८ फागुन २०६९ मा स्थापना भएको नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । यो कम्पनीअन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाका १६ सयभन्दा बढी एटीएम, नौ हजारभन्दा बढी पोसमार्फत सेवा प्रदान गर्ने र ईकमर्स कारोबारका लागि एसीएस थ्रीडी सेक्युअर लगायतका सेवा उपलब्ध हुँदै आएको छ ।

त्यस्तै एनसीएचएलको सञ्जालमा प्रत्येक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा बढी गैरबैंकिङ संस्थाहरू छन् । एनसीएचएलका प्रणालीहरूबाट रकमको आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रा नन–क्यास कारोबारहरू प्रशोधन भइरहेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत् जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्