अमेरिकाको एक निर्णयले विश्वभर क्रिप्टोकरेन्सी पक्षधरहरु किन भए यतिधेरै खुसी ? « Arthapath.com
२७ पुष २०८०, शुक्रबार

अमेरिकाको एक निर्णयले विश्वभर क्रिप्टोकरेन्सी पक्षधरहरु किन भए यतिधेरै खुसी ?



काठमाडौं । अमेरिकी वित्तीय अधिकारीहरूले लगानी कम्पनीहरूलाई ग्राहकका लागि बिटकोइनमा सक्रिय लगानी गर्न अनुमति दिने निर्णय गरेका छन्। लामो समयदेखि संयुक्त राज्य अमेरिकामा त्यस्तो निर्णय हुन सक्ने अनुमान गरिँदै आएको थियो।

अब स्पट बिटकोइन एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) लाई निवृत्तभरण कोषदेखि लगानी ‘पोर्टफोलिओ’सम्म प्रायः सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ। यो निर्णयसँगै संसारभरिका क्रिप्टोकरेन्सी पक्षधरहरूले सामाजिक सञ्जालमा उत्साहपूर्वक धनी बन्ने सन्दर्भकाा मीमहरू पोस्ट गरेका छन्।

ईटीएफ के हो ?

ईटीएफ एक किसिमको ‘पोर्टफोलिओ’ हो। यसका आधारमा लगानीकर्ताहरूले धेरै जायजेथामा ूबोली लगाउनेू सुविधा पाउँछन्। त्यसो गर्दा कुनै पनि लगानीकर्ताले सीधै ती जायजेथा किन्नुपर्दैन। ईटीएफलाई पनि धितोपत्रमा बजारमा शेअर जसरी नै किनबेच गर्न मिल्छ। तिनको मूल्य समग्र ‘पोर्टफोलिओ’को भाउ वास्तविक समयमा कस्तो हुन्छ भन्नेमा निर्भर गर्छ।

कुनै ईटीएफ सुन र चाँदीको संयोजनबाट बनेको हुन सक्छ। अथवा यो शीर्ष प्रविधि र बीमा कम्पनीमा शेअरहरूको मिश्रण भए जस्तै हो भन्दा पनि हुन्छ। केही ईटीएफहरूमा अप्रत्यक्ष रूपमा पहिले नै बिटकोइनको मात्रा छ। तर स्पट बिटकोइन ईटीएफले ‘अन द स्पट’मा त्यसै बेलाको मूल्यमा दिनभरि सीधै क्रिप्टोकरेन्सी किन्न सक्ने छन्।

किन यति धेरै उत्साह ?

ब्ल्याकरक र फिडेलटीलगायत करिब एक दर्जन लगानी कम्पनीहरू यूएस सिक्यअरिटिज एन्ड एक्सचेन्ज कमिशन (एसईसी)ले तिनलाई आफ्नै ईटीएफका लागि बिटकोइन किन्न सुरु गर्ने अनुमति देओस् भनेर महिनौँदेखि पर्खिरहेका छन्। कैयौँ सातादेखिको वाक्युद्धपछि अब त्यसले पहिलो पटक स्वीकृति प्राप्त गरेको छ।

त्यसको अर्थ लगानीकर्ताहरूको नयाँ समूह अब डिजिटल वालेटमा पहुँच पाउने वा नपाउने तथा क्रिप्टो एक्सचेन्जहरूलाई नकारात्मक ढङ्गले व्यवहार गरिने चिन्ता नगरी बिटकोइनको सट्टा बजारमा प्रवेश गर्न सक्छन्।

नयाँ निर्णयसँगै वित्तीय कम्पनीहरूले डिजिटल कोइन किन्न थालेपछि बिटकोइन बजारमा अर्बौँ डलर प्रवेश गर्ने अपेक्षा गरिएको छ। यद्यपि केही विश्लेषकहरू क्रिप्टोकरेन्सीको मूल्य थोरै प्रभावित हुने बताउँछन् । किनभने अन्य कतिपय देशहरूमा ‘स्पट बिटकोइन ईटीएफ’ पहिले नै स्थापित भइसकेका छन्।

तर ठूला र प्रभावशाली अमेरिकी कम्पनीहरू बजारमा प्रवेश गरेपछि माग वृद्धि हुने र त्योसँगै बिटकोइनको मूल्य बढ्ने धेरै मानिसहरूले अपेक्षा गरेका छन्। यद्यपि बिटकोइनको मूल्य एकदमै अस्थिर रहने गरेको छ।

प्रतिबिटकोइनको मूल्य सन् २०२१ मा ७०,००० अमेरिकी डलर रहेकोमा सन् २०२२ मा १६,००० अमेरिकी डलरमा झरेको थियो। त्यसअघि त्यसको भाउ बढिरहेको थियो। ईटीएफका लागि स्वीकृति पाइने हल्ला चलेपछि सन् २०२३ मा यसको मूल्य बढेर प्रतिकोइन ४४,००० अमेरिकी डलर पुगेको छ।

सन् २००८ मा अनलाइनमा प्रकाशित एउटा ‘आइडिआ’को आधारमा आफूलाई सातोशी नाकामोतो भनेर चिनाउने व्यतक्तिले बनाएको ठानिएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी थियो। यो सबैभन्दा मूल्यवान् र प्रसिद्ध छ।

यसको मूल्यलाई प्रायः हजारौँ अन्य क्रिप्टो कोइन, टोकन र समान ब्लकचेन प्रविधिमा निर्मित उत्पादनहरूको सम्पूर्ण उद्योगको लागि मापकका रूपमा हेरिन्छ। धेरैले क्रिप्टो प्रणालीमा नगद प्रवाहसँगै क्रिप्टोकरेन्सीप्रति मानिसहरूको आकर्षण बढ्ने ठान्छन्।

यो निर्णयले क्रिप्टोकरेन्सी स्वीकार गर्ने विषय कसरी प्रभावित हुन सक्छ?

कतिपयका भनाइमा यो ऐतिहासिक निर्णयले कम्तीमा सट्टा बजारको जायजेथाकै रूपमा भए पनि बिटकोइनलाई गम्भीर रूपमा लिन थालिएको देखाएको छ। बिटकोइनलाई वैधानिक ‘डिजिटल सुन’ मान्नेहरू ठूला सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीहरू नै यसमा लगानी गर्न झुम्मिनु नै यसप्रतिको आकर्षणको ठूलो प्रमाण भएको ठान्छन्।

अन्य कतिपयले क्रिप्टोकरेन्सीले परम्परागत वित्तीय प्रणालीलाई अस्वीकार गर्ने र मानिहरू आफैँले व्यवस्थापन गर्न सक्ने विकेन्द्रित मुद्राको विकल्प दिन सक्ने बताउने गरेका छन्।

सातोशी नाकामोतोले कुनै इन्भेस्टमन्ट ब्याङ्करलाई अमेरिकी डलरमा धनी बनाउन मात्र यसको परिकल्पना गरेका थिएनन् होला। तर सामाजिक सञ्जालमा देखिएको उत्साहलाई हेर्दा बिटकोइनका लगानीकर्तालाई धनी बनाउने चाहिँ देखिन्छ।

नयाँ लगानीकर्तालाई कस्तो जोखिम ?

बिटकोइनको मूल्य कुनै पूर्वचेतावनी वा स्पष्ट कारणबिनै एकदमै चाँडै थपघट हुन सक्छ। त्यस कारण लगानीकर्ताहरूले कहिले ईटीएफलाई डिजिटल कोइनसँग लिङ्क गर्ने भन्नेबारे सोचविचार गर्नु जरुरी छ। ईटीएफ प्रायः उच्च जोखिमयुक्त भए पनि उच्च कमाइ हुन सक्ने वस्तु भएकोमा शङ्का छैन।

अर्को सम्भावित जोखिम भनेको साइबर अपराध हो। बिटकोइन र अरु क्रिप्टोकरेन्सीहरू निकै महँगो साइबर आक्रमणको सिकार भएका छन् र यस्ता कतिपय घटनामा क्रिप्टो कम्पनीबाट रातभरिमा करोडौँ डलर रित्तिएका उदाहरणहरू पनि छन्।

यदि ब्ल्याकरक बिटकोइनको प्रमुख साझेदार बन्यो भने ती बिटकोइनहरूको साइबर सुरक्षाबारे पनि जाँचहरू हुने छन्। यसको अर्को नकारात्मक पक्ष भनेको पर्यावरणमा पर्ने असर हो। बिटकोइन बनाउन र कारोबार गर्न विश्वका विभिन्न स्थानमा शक्तिशाली कम्प्युटहरू राख्नुपर्ने हुन्छ।

अहिले नवीकरणीय ऊर्जाको प्रयोग बढिरहेको छ। बिटकोइनका क्रेताहरू यसले पर्यावरणीय, सामाजिक र कर्पोरेट सुशासन पालना गर्ने वा नगर्नेबारे चिन्ता लिइरहँदा लगानी कम्पनीहरूले पर्यावरणमा पुर्‍याउने सम्भावित क्षति कसरी कम गर्छन् भन्ने हेर्न बाँकी छ।

बीबीसी नेपाली सेवाबाट साभार ।


प्रतिक्रिया दिनुहोस्