इलेक्ट्रोनिक्स बजारमा साम्राज्य बढाउँदै ‘डीएचआई’  « Arthapath.com
१० बैशाख २०८१, सोमबार

इलेक्ट्रोनिक्स बजारमा साम्राज्य बढाउँदै ‘डीएचआई’ 



काठमाडौंँ । ‘डिसहोम’ भन्ने बित्तिकै हरेक नेपालीले चिनेको र जानेको ब्रान्ड हो । त्यसैको एक भगिनी कम्पनी ‘डीएचआई’ हो । डिसहोमले व्यावसायिक विविधीकरण गर्ने योजना अन्तरगत भिन्न भिन्न सेवा सुरु गर्न थाल्यो । त्यसै क्रममा ‘इलेकट्रोनिक डिभिजन’ को रूपमा डीएचआई स्थापना भएको हो । 

यसका लागि डिसहोमको सञ्चालक समितिले बेग्लै ब्रान्डको रूपमा डीएचआई ल्याउने भनेर केशवकान्त पौडेललाई जिम्मेवारी दियो । डिसहोमको ब्रान्डमात्रै होइन, यसका ग्राहक पनि घरघरमा थिए । उपभोक्ताको सञ्जाल ज्यादै ठुलो भइसकेको थियो । 

उसकै भगिनी संस्था भए पनि अलग्गै कम्पनी खोलेर भिन्दै ‘प्रडक्ट’ बेच्ने चुनौती पौडेलले स्वीकारेका थिए । उनी डिसहोम र डिएचआईको भेद बताउँछन्, ‘कम्पनी अलग छ, कम्पनीको प्रडक्ट अलग छ । कम्पनीको पोजिसनिङ  अलग छ । मेट्रियल अलग छ । सबै कुरा अलग छ । तर हामी डिसहोम ग्रुपसँग एसोसियटेड छौँ ।’

यो कम्पनीले टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, पङ्खा, सोलार, हिटर, भ्याक्युम क्लिनरदेखि विद्युतीय चुल्हो र किचन सामग्री सबै इलोक्ट्रोनिक्स वस्तुहरू विदेशबाट आयात गरेर बेच्छ । 

डीएचआईको अर्को अन्तर्राष्ट्रिय संलग्नता पनि छ । ‘स्याण्डमार्टिन इन्टरनेसनल होल्डिङ’ भन्ने एउटा ताइवानी कम्पनी छ । उसले नेपालमा टेक्नोलोजीहरू ल्याउन सहयोग गरिरहेको छ । स्याण्ड मार्टिनसँग ३० वर्षको इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक उपकरणहरू उत्पादन गरेको अनुभव छ ।

आयातदेखि एसेम्बलसम्म

बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन शृङ्खला आफ्नै खालको हुन्छ । उनीहरूले विश्वका भिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिहरूलाई हेरेर आफ्ना उत्पादन गरेका हुन्छन् । हाम्रो विविधतायुक्त भूगोल र न्यून औसत आम्दानीका कारण त्यस्ता बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका कयौँ वस्तु नेपालका लागि उपयुक्त नहुन पनि सक्छन् ।

नेपाल आर्थिक रूपमा त्यति समृद्ध छैन । हाम्रो प्रतिव्यक्ति आय अहिले पनि १४०० अमेरिकी डलर हाराहारी छ । जुन संसारमै कम मध्येमा पर्छ । तसर्थ नेपालको माटो सुहाउँदो मूल्य र विशेषता भएका प्रडक्टहरू यहाँ ल्याएर बेच्ने काम डीएचआईले गर्छ ।

‘हामी अहिले पूर्ण रूपमा परनिर्भर नै छौँ । लगभग सबै सामान आयात गरेर बेच्छौँ’, उनी भन्छन् । तर कम्पनी यही परनिर्भरतालाई कालान्तरसम्म लम्ब्याइरहने पक्षमा छैन । सबै कुराहरू नसके पनि केही वस्तु नेपालमै उत्पादन गर्ने सोच अघि बढाइएको छ । 

‘अहिले बजारमा धेरैजसो इन्टरनेट कम्पनीहरूले प्रयोग गरिराखेको सेट अप बक्स हामीले नै उत्पादन गरिरहेको हो’, पौडेल भन्छन् । डीएचआईले नेपालमा वस्तु उत्पादन नै गर्ने त होइन, सुरुआतमा प्रडक्टहरू एसेम्बल गर्छ । बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँछ । 

विस्तारित सञ्जाल

डीएचआईको नेपालभर ३५० भन्दा बढी डिलरको सञ्जाल छ । कुल ७१ स्थानमा सर्भिस नेटवर्क छन् । मुख्य सर्भिस सेन्टर काठमाडौँमा छ । ग्राहकका समस्यालाई साधरणतया २४ घण्टाभित्र समाधान गर्ने पौडेल बताउँछन् । 

गुणस्तरको मामिलामा खासै समस्याहरू आएका छैनन् । करिब साढे २ वर्षअघि सुरु गरेको यो व्यापारमा अहिलेसम्म उत्पादनको गुणस्तरलाई लिएर गुनासो नआएको पौडेलको दाबी छ । ‘यदि केही समस्या आइहाल्यो भने पनि सर्भिसिङको ब्याकअप छ’, उनी भन्छन्, ‘जसका कारण ग्राहकले निर्धक्क भएर प्रयोग गर्न सक्छन् ।’

‘अहिले मुख्य गरी सेट–अप बक्सको एसेम्बल गर्छौँ । ती बाहेक अरू पनि एसेम्बलिङ प्लानहरू छन्’, उनले घरायसी वस्तुहरू (होम अप्लाइन्सेस)को एसेम्बल गर्ने काममा आफ्नो प्रयास सुनाए । 

सम्भावनाको लेखाजोखा

जनगणनाको तथ्याङ्कलाई मान्ने हो भने नेपालमा इलेक्ट्रोनिक्स उपकरणहरू दयनीय अवस्थामा छ । ‘रेफ्रिजेरेटरजस्तो सामान्य सामग्री सबैको घरघरमा चाहिन्छ । त्यो पनि जम्मा २४ प्रतिशत घरमा मात्र पुगेको अवस्था छ’, उनी उनी तथ्याङ्क पनि केलाउँछन्, ‘७६ प्रतिशत घरहरूमा अहिलेसम्म रेफ्रिजेनेरेटर पुगेको छैन । ५० प्रतिशत घरहरूमा मात्र टेलिभिजन पुगेको छ । जबकि बिजुलीको उपलब्धता ९२ प्रतिशत घरमा पुगिसकेको अवस्था छ ।’ 

अधिकांश मानिस बिजुलीको पहुँचमा पुगिसकेका छन् तर इलेकट्रोनिक उपकरणहरू प्रयोग गर्न पाएका छैनन् । यसो हुनुको कारण धेरै मान्छेको खरिद क्षमता (क्रय शक्ति)ले नधानेको हुन सक्ला भन्ने उनको अनुमान छ । 

अहिले यसै पनि अर्थतन्त्र सुस्ताएको छ । तर यो मन्दी अल्पकालीन हो । केही समयपछि फेरी राम्रो हुन्छ ।  अब आउने वर्षभित्र यो मन्दीबाट अगाडि बढेर सामान्य अवस्थामा पुगिन्छ भन्ने विश्वास पौडेललाई छ । यसले गर्दा अहिले पनि अवसर कम भयो भन्ने भान उनलाई छैन, बरु बढेकै छ ।

सिएदेखि सीईओसम्म

पौडेल पेशाले चार्टर्ड एकाउन्टेन्ट (सिए) हुन् । उनी सन् २००९ देखि डिसहोममा जोडिए । ‘सामान्यतया चार्टर्ड एकाउन्टेन्ट पढेको मान्छे बैंकमा जागिर खाएको भए हुन्थ्यो । सिए फर्म चलाएको भए हुन्थ्यो । तर त्यो फिल्ड मलाई बोरिङ लाग्थ्यो’, उनी भन्छन् । 

सधैँ एउटै काम, एउटै लय, एउटै चुनौती र एउटै चिज । नयाँ भन्न त केही नै छैन । उनलाई सिए पेसा दिक्क लाग्यो । त्यसैले त उनलाई आफ्नो पढाइ अनुसारको पेसा आफ्ना लागि उपयुक्त हो जस्तै लाग्दैन । 

इलेकट्रोनिक्सको दुनियाँ व्यापक मात्रामा विस्तार भइरहेको छ । तर नेपालमा अझै पनि केही उपलब्धिमूलक काम भएको छैन । लगभग सबै काम गर्न बाँकी नै छ । त्यसैले उनी यस क्षेत्रमा दिगो भविष्य देख्छन् । प्रचुर सम्भावना देख्छन् र उन्नतिको अनन्त सिँढी पनि देख्छन् । 

‘मेरो लागि सिएभन्दा यही फिल्ड उपयुक्त हो जस्तो लागेर यतातिर मोडिएँ’, उनले अर्थपथसँग भने । ‘आफूलाई उद्यमशील बन्ने इच्छा पनि थियो । डिसहोमकै सञ्चालकले पनि प्रस्ताव गर्नुभयो’, उनले भने, ‘मेरो इच्छा पनि थियो र त्यसै वातावरण पनि बन्यो ।’ 

चितवनमा जन्मिएर भारतबाट सिए पढेका उनी पढाइ सकिने बित्तिकै डिसहोममा जोडिएका थिए । उनी अहिले नयाँ व्यवसायको नेतृत्व गरिरहेका छन् । उनलाई लाग्छ, ‘बाधा व्यवधान त जुनसुकै पेसा व्यवसायमा पनि हुन्छ । त्यसलाई अवसरका रूपमा प्रयोग गर्नु पर्छ ।’  

तर नेपालमा व्यावसायिक भन्दा पनि सरकारी व्यवधान बढ्ता छ भन्ने उनको बुझाइ छ । ‘नेपालको सरकारी संयन्त्र, ब्यूरोक्याटिक सोचहरूले पनि व्यवधान खडा गरेको छ’, उनी भन्छन्, ‘व्यवसायीलाई लुटेराको नजरबाट हेरिन्छ । सबैलाई एउटै  रूपमा राखेर हेरिन्छ । सबैलाई त्यसरी नहेरे हुन्थ्यो ।’ 

नसुध्रिएको व्यावसायिक वातावरण

व्यवसायलाई सजिलो बनाइदिने खालको प्रावधानको व्यवस्था गर्नुपर्‍यो । केही कुरामा परिवर्तन गर्नुपर्‍यो भने सहज छैन । 

डीएचआईले एउटा विदेशी कम्पनीसँग प्राविधिक सेवा किन्ने सम्झौता गरेका थियो । ‘तर नेपालमा टेक्नोलोजी सर्भिस ल्याउन पाइने, भुक्तानी गर्न नपाइने रहेछ’, पौडेल भन्छन् । पैसा तिर्न मिल्ने प्रावधान नै रहेनछ । 

किनभने २०१४ सालमा बनेको रेडियो ऐनले हामीलाई मार्गदर्शन गर्छ । त्यो ऐनले २०८० र २०९० को दशकमा हुने सेवा सुविधालाई समेट्नै सकेको छैन । यस्ता कानुनी जटिलताका कारण कतिपय कामहरू नै त्याग्नुपर्ने अवस्था बनेको पौडेल बताउँछन् । 

‘काम गर्न दिनेभन्दा बाँधेर राख्ने खालको प्रावधान छ’, उनी भन्छन्, ‘व्यवसायीलाई हेर्ने नजरिया बदलिनु पर्‍यो । व्यवसाय देश विकाशको इन्जिन हो भन्ने भान हुनुपर्‍यो । कुरामा परिवर्तन गर्नु छ भने त्यसलाई परिवर्तन गर्नुपर्‍यो ।’

डीएचआईलाई देशकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स कम्पनी बनाउने लक्ष्य पौडेलसँग छ । त्यो लक्ष्य भेट्टाउन अझै केही समय कुर्नुपर्ने उनी बताउँछन् । 

‘त्यसका लागि केही रणनीतिक कामहरू गर्नुपर्छ, जुन अहिलेसम्म गरिएको छैन’, उनी भन्छन्, ‘बोर्ड (सञ्चालक समिति)ले पनि मलाई त्यही हिसाबले सहयोग गरिरहेको छ । त्यो बाटोमा हिँडिरहेका छौँ । हामी नेपाललाई पूर्णतया पर निर्भरताबाट बाहिर निकाल्दै छौँ ।’


प्रतिक्रिया दिनुहोस्