वित्तीय अपराधको ‘पारो’ चढेको चढ्यै, हद्दुहैरान साइबर ब्युरो « Arthapath.com
१ आश्विन २०८१, मंगलवार

वित्तीय अपराधको ‘पारो’ चढेको चढ्यै, हद्दुहैरान साइबर ब्युरो



काठमाडौं । बढ्दो प्रविधिको पहुँच तथा प्रयोगसँगै विद्युतीय माध्यमबाट हुने ठगी पनि बढ्दै गएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालुआर्थिक आर्थिक वर्षको पहिलो २ महिना नबित्दै विद्युतीय माध्यबाट हुने अपराध (साइबर ठगी) सम्बन्धी घटनाका एक हजार ३०५ उजुरी दर्ता भएका छन् । साइबर ब्यूरोका अनुसार चालु आर्थिक वर्षको भदौ २८ सम्म विभिन्न सामाजिक सञ्जालका माध्यमबाट एक हजार ३०५ घटनासम्बन्धि निवेदन दर्ता भएका हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय माध्यमबाट भएका अपराधसँग सम्बन्धित ३ हजार ७७१ उजुरी परेको ब्यूरोले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार ८३५ मात्र उजुरी परेकोमा गत वर्ष दोब्बरभन्दा बढी उजुरी परेको देखिएको छ ।

साइबर ब्यूरोका अनुसार विद्युतीय माध्यमबाट हुने अपराध दिनप्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै ठगी फेसबुकको माध्यमबाट हुने गरेको छ । त्यस्तै, इन्स्टाग्राम, ह्वाटसप, इसेवा, इमेलमार्फत पनि अत्यधिक ठगी हुने गरेका छन् ।

पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको पाइन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार नाघेका छन् । त्यसैगरी, भुक्तानी प्रदायक वालेट प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ६१ हजार बढी छन् । कनेक्ट आईपीएसमा पनि १२ लाख ७६ हजारभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । यसरी डिजिटल कारोबार बढ्दै जाँदा अपराध गर्नेहरू पनि यतातर्फ सक्रिय हुन थालेका छन् ।

पछिल्लो समय दिनप्रतिदिन विद्युतीय माध्यमबाट हुने अपराध बढ्न थालेको साइबर ब्यूरोले जनाएको छ ।

फेसबुकमा बढी सक्रिय छन् अपराधी

साइबर ब्यूरोको तथ्यांकअनुसार विद्युतीय ठगीका घटना फेसबुकको माध्यमबाट बढी हुने गरेका छन् । पछिल्लो समय टेलिग्रामबाट पनि ठगीका घटना बढ्न थालेको ब्यूरोले जनाएको छ । चालु आर्थिक वर्षको करीब २ महिनाको अवधिमा फेसबुकमार्फत मात्रै ३३३ वटा ठगी सम्बधि उजुरी साइबर ब्यूरोमा परेको छ । त्यस्तै टेलिग्राममार्फत ३३२, ह्वाटसपमार्फत २७७, इन्स्टाग्राममार्फत २४९, इसेवामार्फत ५१, अन्य माध्यमबाट २७, टिकटकमार्फत ९ वटा र खल्तीमार्फत ६ वटा ठगीका घटना ब्यूरोमा दर्ता भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका अकाउन्ट प्रयोग गरेर समेत १३ वटा ठगीका घटना घटेका छन् । यस्तो घटनामा भने मोबाइल बैंकिङ ह्याक गरेर बैंकको पैसा चोरी गर्ने घटना बढी हुन्छन् । यसबाहेक अन्य माध्यम प्रयोग गरेर पनि ठगीका घटना घट्ने गरेका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्म फेसबुकमार्फत एक हजार ८३२ वटा रकम ठगीको घटना दर्ता भएको ब्यूरोले जनाएको छ । जसमा ह्याक, फेक अकाउन्ट प्रयोग, ब्ल्याकमेलिङ र स्क्याम जस्ता घटना छन् । अघिल्लो वर्ष फेसबुक प्रयोग गरी विद्युतीय अपराध गरेको घटनाको उजुरी एक हजार ३६ मात्र थियो ।

ह्वाटसपमार्फत ठगी गर्नेको पनि फराकिलो हुँदै गएको ब्यूरोको तथ्यांकले देखाउँछ । हट आर्थिक वर्षमा मात्र ह्वाटसपमार्फत ६५६ घटना घटेको ब्यूरोले जनाएका छ । जबकी अघिल्लो आर्थिक वर्षमा २२० वटा मात्र उजुरी दर्ता भएका थिए । गत आर्थिक वर्षमा इन्स्टाग्राममार्फत ७२५, इसेवाबाट २१२, खल्तीमार्फत ६९, अन्य माध्यमबाट ५९, टिकटकमार्फत ६७, टेलिग्राममार्फत २० र भाइबरमार्फत ६ वटा ठगीका घटना भएको ब्यूरोले जनाएको छ । बैंकिङ अकाउन्ट प्रयोग गरेर समेत १०३ वटा घटना घटेको ब्यूरोले जनाएको छ ।

साइबर ब्यूरोको सम्पर्कमा आएका यी बाहेक अन्य थुप्रै घटना घट्ने गरेका छन् । कतिपय व्यक्ति ठगिएपछि पनि प्रहरीहरूको सम्पर्कमा आउन सकेका छैनन् । विद्युतीय माध्यममार्फत हुने घटना सबै प्रहरीसमक्ष आइपुग्ने हो भने अवस्था विकराल बन्दै गइरहेको छ ।

यसरी अनलाइनमार्फत हुने ठगी खासगरी प्रलोभन देखाएर गर्ने गरिन्छ । कुनै व्यक्तिले बैंक वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने पनि गरेका छन् । खाताधारक पनि उपहार पाउने प्रलोभनमा परेर सजिलै अपरिचित व्यक्तिलाई आफ्नो विवरण उपलब्ध गराउने गरेका छन् । यसमा खासगरी एटिएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा बैंकले उपलब्ध गराउने वान टाइम पासवर्ड ’ओटीपी’ नम्बर ठगहरूले माग्ने गर्छन्।

यीमध्ये कुनै एक विवरण र मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीको प्रयोग गरेर व्यक्ति वा संस्थाले प्रयोग गर्ने खातामा सजिलै प्रवेश गरेर रकम हिनामिना गर्न गर्ने गरेका छन्।

बैंकिङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या बढिरहेको जानकारहरू बताउँछन्।

वित्तीय अपराधका अलावा सामाजिक सञ्जालमार्फत् यौनजन्य हिंसा गर्ने, ठगी गर्ने, ह्याकिङ गर्ने, जथाभावी गलत सूचना फैलाउने, नक्कली कम्पनी बनाएर अरूको आर्थिक खातामा जालसाजी गर्ने जस्ता अपराधहरू हुने गरेका छन् । पछिल्ला दिनमा विशेषगरी फेसबुक ट्विटर, इन्स्ट्राग्राम, भाइबरलगायतका माध्यममार्फत हत्या, हिंसा, बलात्कार, यौन दुर्व्यवहार, लुटपाट, तथा मानव बेचबिखनका घटना समेत हुने गरेका छन्। कतिपय घटना जानेर भएका छन् भने कतिपय अञ्जानमा पनि हुने गरेका छन्। नेपालमा साइबर अपराधबाट सबैभन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका महिला र त्यसपछि “अन्डरएज“ बालबालिकाका पीडित हुने गरेको प्रहरीले जनाएको ।

सरकारीदेखि सुरक्षा निकायसम्म जोखिममा

नेपालमा हेर्दा सरकारी निकायदेखि सुरक्षा निकायसम्म साइबर सुरक्षाको उच्च जोखिममा रहेको छ । पछिल्लो समय बैंकिङ तथा आर्थिक क्षेत्रको जोखिम बढ्दो छ। राष्ट्रिय स्तरमा कमजोर साइबर सुरक्षाको संरचनाले पनि जोखिमलाई अझ बढावा दिइरहेको सरोकारवालाहरू बताउँछन् । नेपालमा सरकारी क्षेत्र, सुरक्षा निकाय, वित्तीय संस्था, गैरसरकारी संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक र दुरसञ्चार प्रणालीमा साइबर सुरक्षाको जोखिम बढिरहेको पाइन्छ ।

प्रविधिको पहुँच बढ्दै गएको भए पनि बैंकिङ कारोबार र गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार छैनन् । उचित सुरक्षा संयन्त्रको प्रयोग नभएकै कारण ठगी गर्नेहरूको सङ्ख्या समेत व्यापक रूपमा बढिरहेको छ।

नेपालमा अझै पनि साइबर साक्षरता कमजोर रहेको अवस्थामा प्रयोगकर्ताहरू अझ बढी जोखिममा रहेका छन्। चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै रहेका छन्।

केही समयदेखि नेपालका सरकारी कार्यालय संघसंस्था तथा व्यक्तिहरू “ह्याकिङ“, ’बैंकिङ ठगी’ लगायत विभिन्न प्रकारका साइबर आक्रमणका घटनाहरू मौलाएको देखिन्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संवेदनशील विषयहरूमा समय–समयमा विवाद देखा परेको बेला सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण प्रणालीहरूमा साइबर आक्रमणको क्रम समेत बढेर गएको देखिन्छ । सरकारी निकायहरूको वेबसाईट ह्याक, वित्तीय प्रणाली एवम् अन्य महत्वपूर्ण प्रणालीहरूमा अनधिकृत पहुँच तथा सेवा अवरोध गर्ने लगायतका साइबर आक्रमणहरू राष्ट्रिय सुरक्षाको दृष्टिकोणले समेत चुनौतीपूर्ण रहेका छन् ।

वित्तिय संस्थाहरूमा पनि अन्तर्राष्ट्रिय साइबरस्पेसबाट हुने हमलाहरूमा उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ र केही हमला सफल समेत भएका छन्। करिब दुई वर्षअघि नेपालको ‘क’ वर्गको बैंकबाट ह्याकरहरूले करिब ४६ करोड रुपैयाँ चोरेका थिए । त्यस्तै, समय समयमा एटिएम ह्याकका घटनाहरू समेत बाहिरिएको छ। वृहत् नेटवर्कमा कमजोर सुरक्षा प्रणाली, अनजान प्रयोगकर्ताहरू, कमजोर उपकरणको प्रयोग, ट्राफिक लगहरू कायम नराख्नु, आदिले राष्ट्रिय नेटवर्कलाई अझ कमजोर बनाएको छ।

यस्ता किसिमका साइबर हमला तथा आक्रमणबाट जोगिन निश्चित अवधि तोकेर योजना बनाउन आवश्यक छ र साइबर सुरक्षालाई प्राथमिकताका साथ अगाडि बढाउन जरूरी छ। नेपालका लागि साइबर हमलाका यस्ता विषयमा गम्भीर नहुने हो भने एकै पटक ठूलो जोखिमको सामना गर्नुपर्ने विज्ञहरूले बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्