एनसेलले किन्यो क्लासिक टेक, मोबाइलसँगै आईएसपीमा « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

एनसेलले किन्यो क्लासिक टेक, मोबाइलसँगै आईएसपीमा



काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल अब इन्टरनेटको ‘फिक्स्ड ब्रोडब्याण्ड’ बजारमा पनि उत्रने भएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइबर टु होम सेवालाई आक्रामक विस्तार गर्न थालेपछि एनसेल पनि इन्टरनेट सेवा प्रदायक (आईएसपी)को बजारमा प्रवेश गर्न लागेको हो ।

यसका लागि एनसेलले अलग्गै आईएसपी सुरुवात गर्ने भन्दा पनि भएकै आईएसपी किन्ने रणनीति अपनाएको छ । भर्खरैमात्रै ५ वर्षका लागि दूरसञ्चार सेवाको लाइसेन्स नविकरण भएपछि एनसेलले आईएसपी खरीद गर्न लागेको हो ।

सिंगापुरलाई आधार बनाएर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली सतिशलाल आचार्यले एनसेलको पुरा स्वामित्व खरीद गरेपछि आईएसपीमा जाने रणनीति अघि सारेका हुन् । यसअघि एनसेलले मोबाइल ब्रोडब्याण्डलाई नै ज्यादा महत्व दिँदै आएको थियो ।

उसले अब क्लासिक टेक कम्पनी खरीद गर्न लागेको हो । प्रमेश खरेलको यो कम्पनी एनसेलले किन्ने भएको हो । क्लासिक टेक प्रालिको सेयर ‘प्रतिकित्ता ९० रुपैयाँका दरले सेयर खरीद विक्री सम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको’ खबर बिजमाण्डुले सार्वजनिक गरेको छ ।

एनसेलले विभिन्न कम्पनी खरीद गर्ने विषयमा छलफल चलाए पनि क्लासिक टेकको गुणस्तर राम्रो भएको र सस्तो मूल्यमा पाइएको कारण यो कम्पनी खरीद गर्न लागेको जनाइएको छ ।

छैटौँ ठूलो आईएसपी

गत असार मसान्तको विवरण अनुसार क्लासिक टेक नेपालको छैटौँ ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो । ऊसँग १ लाख ६२ हजार ४५७ ग्राहक रहेको र सिंगो आइएसपी बजारमा ५.७९ प्रतिशत हिस्सा ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

जबकी २०७९ चैतमा केयर एज रेटिङले प्रकाशित गरेको यस कम्पनीको क्रेडिट रेटिङसम्बन्धी विज्ञप्तीमा सन् २०२२ ताका यो कम्पनी देशको चौँथो ठूलो आइएसपी रहेको जनाएको थियो । त्यस बेला यो कम्पनीले फिक्स्ड इन्टरनेट बजारको १०.३० प्रतिशत हिस्सा ओगट्थ्यो ।

देशका ७७ मध्ये ७४ जिल्लामा सेवा दिँदै आएको यो कम्पनीले डेढ वर्ष अघि नै काठमाडौँ उपत्यकाभित्र २८ वटा र देशभर १०४ वटा शाखा कार्यालयहरु सञ्चालन गरेको थियो । २०६७ भदौ १३ मा आईएसपीको लाइसेन्स पाएको यो कम्पनीले २०७० चैत १७ मा नेटवर्क सेवा प्रदायक अर्थात् विदेशबाट ब्रोडब्याण्ड आयात गर्ने लाइसेन्स पनि पाएको थियो ।

यो कम्पनीको व्यवसाय पछिल्लो समय भने खस्किँदै गएको थियो । २०७९ असारमा २ लाख ३० हजार ५ सय हाराहारी ग्राहक भएको यो कम्पनीले २०८० असार मसान्तमा ग्राहक संख्या बढाएर २ लाख ८० हजारभन्दा बढी बनाएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । गत चैतमा त यो आँकडा बढेर ३ लाख ८ हजार ८५५ सम्म पुगेको थियो ।

तर जेठमा एक्कासी ग्राहक संख्या घटेर १ लाख ६० हजारमा झरेको विवरण प्राधिकरणले प्रकाशित गरेको छ । यससँगै साढे १० प्रतिशतसम्म पुगेको बजार हिस्सा अहिले ५.७९ प्रतिशतमा झरेको छ । यसबाट कम्पनीले पछिल्लो समय विस्तारै आफ्नो ग्राहक आधार गुमाउँदै गएको देखिन्छ ।

केयर रेटिङले आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ८७ करोड ५० लाख कुल सञ्चालन आय हासिल गरेको जनाएको छ । यो अघिल्लो सालको तुलनामा ५ प्रतिशत बढी थियो । अघिल्लो वर्ष ८३ करोड ७० लाख र त्योभन्दा अघिल्लो साल ६८ करोड ७० लाख आम्दानी गरेको जनाएको छ । कम्पनीले मार्जिन पनि ती ३ वर्षहरुमा बढाउँदै लगेको जनाएको छ ।

कोभीड महामारीपछि नेपालमा ब्यापक रुपमा फिक्स्ड इन्टरनेटको बजार विस्तार भएको थियो । कोभिडअघि यस्तो इन्टरनेट प्रायोग गर्नेको संख्या ८ लाख ६० हजार हाराहारी भएकोमा कोभीडलगत्तै यो संख्या बढेर २२ लाख ३० हजार पुगेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत असार मसान्तसम्म देशभर फाइबर (तारवाला) इन्टरनेटको ग्राहक २८ लाख ५ हजार हाराहारी पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्