एनसेलले भन्यो,‘इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचार अनुमान आधारित हुन्’
काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेलले अनुमानमा आधारित समाचार प्रकाशन भएको जनाएको छ । विभिन्न सञ्चार माध्यममा एनसेलले इन्टरनेट सेवा प्रदायक क्लासिक टेकलाई खरिद गरेको समाचार प्रकाशन भएको थियो ।
तर, ती सूचनाहरु अपरिपक्व र अनुमानमा आधारित भएको विज्ञप्तिमा उल्लेख छ।
‘ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पु¥याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने एनसेलको दावी छ ।
‘एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्ने नै छौं । हाम्रा निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसंग सम्बन्धी हुने भएकोले हामीसंग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरुलाई अनुरोध गर्दछौं ।