नेपालमा दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षा सम्बन्धी कार्यक्रम हुँदै « Arthapath.com
१० पुष २०८१, बुधबार

नेपालमा दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षा सम्बन्धी कार्यक्रम हुँदै



काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठुलो एआई शिक्षा सम्वन्धी कार्यक्रम नेपालमा हुने भएको छ ।

नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले बुधवार एनुअल नेपाल एआई स्कूलको आयोजना गर्ने घोषणा गरेको हो ।

यो ११ दिने शैक्षिक कार्यक्रम हो । कार्यक्रम आउँदो पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित छ ।

संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने स्कुल दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च हो । नामीका अनुसार नेपाल एआई स्कूलले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ ।

कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा आयोजना हुँदैछ । यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन् । बिगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।

“सानो ठाउँबाट ठूला परिबर्तन आउनसक्छ,” भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।

विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र –जियोमेट्रिक डीप लर्निङ, फाउन्डेशनल मोडेल्स एण्ड अप्लिकेशन र मर्डन प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।

नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक बिशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तराष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो । उनले भने, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पु¥याउनेछ ।”

नामी एजुकेशन आउटरीच प्रमुख अलोक खत्री भन्छन्,‘नेपाल एआई स्कूलले केवल शिक्षामात्र प्रदान गर्दैन । ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि यहाँ प्राप्त हुन्छ।’

यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्