वैज्ञानिक अनुसन्धानमा सघाउन नास्टद्वारा महासंघलाई प्रस्ताव, के ब्यापारीहरु पैसा खर्चन तयार होलान् ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मंगलवार छलफल भएको छ ।
नाष्टका तर्फबाट महासंघसँग एक सहकार्यको प्रस्ताव पेश गरिएको छ । जसमा विभिन्न अनुसन्धान तथा विकास गतिविधी एवम् प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी कार्यक्रममा महासंघले सहयोग गर्ने व्यहोरा छ ।
यस्तो सहयोग वैज्ञानिकहरुका लागि शोधवृत्ति, छात्रवृत्ति एवम् अनुसन्धान अनुदानका रुपमा दिइनुपर्ने प्रस्ताव नास्टको छ ।
नास्टका उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वमा आएको टोलीले एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग उक्त प्रस्तावबारे छलफल गरेको थियो ।
नास्टले महासंघसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्थालाई आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरुको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका निर्वाह गर्न सक्ने विषय रहेका छन् ।
यस्तै उद्योगीहरुले सिफारिस गरेका विषयमा उद्योगकै प्रायोजनमा नास्टले अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने प्रस्तावमा उल्लेख छ ।
अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी गर्ने र नवप्रर्वतन लगायतका विषयमा नास्टले महासंघसँग सहकार्यका लागि प्रस्ताव गरेको छ ।
छलफलमा महासंघका अध्यक्ष ढकालले नास्टद्वारा महासंघसंग गर्न खोजेको सहकार्यको विषय स्वागतयोग्य भएको बताए । उनले प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने जानकारी दिए ।
‘निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापनाजस्ता विषय देशको समग्र विकासका लागि आवश्यक विषय हुन्’, उनले भने, ‘यसमा सहकार्य गर्न महासंघ सकारात्मक नै छ । थप अध्यन गरेर यस विषयमा ठोस काम गर्न सकिन्छ ।’

नास्टका उपकुलपति प्रा.डा. सुब्बाले प्रस्तावित विषयमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताए ।
‘हामीसँग वैज्ञानिकहरुको टोली छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ,’ सुब्बाले भने, ‘उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । यसको लागि महासंघ नै उर्पयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।’