कर्णालीलाई ‘कपर नेटवर्क फ्री’ प्रदेश घोषणा

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्री प्रदेशका रुपमा घोषणा गरेको छ ।
टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्री प्रदेश घोषणा गरेको हो ।
कम्पनीले कपर आधारित नेटवर्कलाई फाइबर टु दी होम (एफटीटीएच) प्रविधिमा रूपान्तर गर्ने कार्यलाई समेत अन्तिम चरणमा पुर्याएको छ ।
फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै फाइबरमार्फत उपलब्ध गराउने उद्देश्यले एफटीटीएच सेवा विस्तारको योजनालाई चालू आर्थिक वर्षमा तिब्रता दिएको कम्पनीको प्रबन्ध निर्देशक संगीता पहाडीले जानकारी दिइन् । उनका अनुसार यो एफटीटीएच सेवा हाल ७७ जिल्लामा पुगिसकेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा देशका ४६३ स्थानमा करिब २१ लाख वितरण क्षमताको नेटवर्क तयार भएको उनले बताइन् ।
सेवा विस्तारको हिसाबले हालसम्म ३ लाख ८० हजार भ्वाइस, ३ लाख ३० हजार डाटा र ५८ हजार आईपीटिभि ग्राहकलाई एफटीटीएच नेटवर्कमा आवद्ध गरिसकेको कम्पनीले जनाएको छ ।