‘एसटीसी’ ब्याट्रीले बदल्दैछ नेपाली बजार : स्वदेशी ब्याट्रीमा विदेशी गुणस्तर, ४० प्रतिशत सस्तो !

नेपाली माटोमा बनेको ब्याट्री, अन्तर्राष्ट्रिय गुणस्तरको ग्यारेन्टी
काठमाडौं । नेपाल विस्तारै ऊर्जा आत्मनिर्भरतातर्फ ठूला–ठूला पाइला चाल्दैछ । विदेशी आयातमा निर्भर रहँदै आएको ब्याट्री बजारलाई पहिलोपटक पूर्णरूपमा स्वदेशमै प्रतिस्थापन गर्ने ऐतिहासिक कदम एसटीसी ग्रुपले चालेको छ ।
नेपालमा पहिलोपटक ठूलो व्यावसायिक दायरामा ब्याट्री उत्पादन सुरु गरेको छ । हेटौंडा औद्योगिक पार्कमा स्थापना गरिएको ‘एसटीसी इनर्जी इन्डष्ट्रिज प्रा.लि.’ ले नेपालमा ब्याट्री उत्पादनको नयाँ अध्याय सुरु गरेको हो, जहाँ गुणस्तर, प्रविधि र स्वदेशी सिर्जनशीलता एकैसाथ मिसिएको छ । एसटीसी राइड र एसटीसी इनर्जी ब्रान्ड अन्तर्गत उत्पादन भइरहेको ब्याट्रीहरू हाल टु–ह्विलर, अटोमोटिभ र इनभर्टर सेग्मेन्टमा बजारमा उपलब्ध छन् ।
उद्योगले चीन, भारत र जापानबाट ल्याइएका अत्याधुनिक पूर्णतः स्वचालित मेसिनरीमार्फत उत्पादन गरिरहेको एसटीसी ग्रुपको प्रबन्धक निर्देशक सुरेन्द्र उप्रेतिले बताए । उनका अनुसार उद्योगको वार्षिक उत्पादन क्षमता १८ लाख युनिट छ । तर, हाल हाल उद्योगबाट मासिक २५ हजार युनिट ब्याट्री उत्पादन भैरहेको निर्देशक उप्रेतिले बताए । हाल उद्योगमा ५० करोड बढी लगानी भइसकेको छ । करिब २१ रोपनी क्षेत्रमा फैलिएको उद्योगले हाल नेपालभर नै उत्पादन पठाईसकेको छ ।
‘हामीले दुईपाँग्रेदेखि सबै प्रकारका सवारी साधनमा आवश्यक ब्याट्री नेपालमा नै उत्पादन सुरु गरेका छौं, वार्षिक उत्पादन क्षमता १८ लाख छ । हाल मासक २५ हजार युनिट ब्याट्री उत्पादन भइरहेका छन्’, निर्देशक उप्रेतिले भने ।

हाल कम्पनीले मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने टु–ह्विलर सेग्मेटको सबै रेन्ज उपलब्ध गराएको छ । प्यासेन्जर कार, कमर्सियल भेइकल तथा ई–रिक्सामा लाग्ने अटोमोटिभ ब्याट्री र इन्भर्टर ब्याट्रीको उत्पादन समेत थालिएको निर्देशक उप्रेतिले बताए ।
स्वचालित प्लान्ट : अनुभवी नेतृत्व र गुणस्तरमै केन्द्रित
स्वचालित प्लान्ट, अनुभवी नेतृत्व र गुणस्तरमै केन्द्रित उद्योगले ब्याट्री उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा पदार्थ भने अन्य मुलुकबाट आयात गरिने उनको भनाई छ ।
उनका अनुसार हाल कम्पनीले स्वदेशी तथा विदेशी अनुभवी व्यक्तिहरु आवद्ध छन् । जसले गुणस्तरीय ब्याट्री उत्पादनलाई नयाँ उचाईमा पुर्याउने उप्रेतिको भनाई छ । उप्रेति भन्छन्,‘ब्याट्री उत्पादनमा प्रयोग हुने लेड, एसिड, कन्टेनर र सेप्रेटर जस्ता अधिकांश कच्चा पदार्थ विदेशबाट ल्याइन्छन् । भारतका प्रतिष्ठित ब्याट्री ब्रान्डमा प्रयोग हुने स्तरकै कच्चा पदार्थ प्रयोग गर्छौ ।’

उद्योगका ब्याट्रीले भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) बाट गुणस्तर प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ । यसको अर्थ एसटीसीको उत्पादन अब अन्तर्राष्ट्रिय बजारमा पनि सकिने छ । विशेषगरी भारतमा पठाउन सकिने कानुनी र गुणस्तरीय आधार तयार भइसकेको निर्देशक उप्रेतिले बताए ।
उत्पादन प्रक्रिया अत्यधिक निगरानीसहित सञ्चालन हुने निर्देशक उप्रेतिको भनाई छ । उनका अनुसार यो वर्ष मात्रै ‘४–५’ लाख युनिट ब्याट्री बिक्रीको लक्ष्य राखिएको छ । मोटरसाइक र स्कुटरको मात्रै ३ लाख युनिट बिक्री गरिने उप्रेतिले जानकारी दिए ।

हाल उत्पादन संयन्त्रको प्रमुख जिम्मेवारी सुन्दर मूर्तिले सम्हालिरहेका छन् । उनी भारतका प्रतिष्ठित ब्याट्री कम्पनीहरूमा लामो समय काम गरेका व्यक्ति हुन् । उनीसहित हाल कम्पनीमा ७५ जना बढी कर्मचारी उद्योगमा आवद्ध छन् । त्यसमा १४ जना इन्जिनियर छन् ।
प्रोजेक्ट हेड मूर्तिका अनुसार कम्पनीको अत्याधुनिक उपकरण र उच्चस्तरीय प्राविधिक दक्षताले गुणस्तरी ब्याट्री उत्पादनमा कुनै सम्झौता गरिएको छैन । प्लान्टमै उन्नत परीक्षण प्रयोगशाखा राखिएको छ, यसले हरेक ब्याट्रीको गुणस्तार परीक्षण गरिने सुन्दर मूर्ति बताउँछन् ।

विदेशी वारेन्टी बराबरको सेवा, तर मूल्य भने ४० प्रतिशत सस्तो
नेपाली बजारमा अझै पनि अधिकांश ब्याट्री भारत वा चीनबाट आयात हुन्छन् । त्यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै एसटीसीले आफ्नो उत्पादन थलानी गरेको निर्देशक उप्रेतिले बताए । उनका अनुसार गुणस्तरमा विदेशी ब्रान्डसरह रहेको उनको दावी छ ।
मूल्यमा उपभोक्तालाई ठुलो सहुलियत प्रदान गरिएको उप्रतिको भनाई छ । हाल ४० प्रतिशतसम्म सस्तो मूल्यमा ब्याट्री उपलब्ध गराइएको बताए ।
उनका अनुसार हाल विदेशी ब्रान्डहरुले दिने स्तरकै ग्यारेन्टी दिइएको छ । ग्राहक सन्तुष्टि सुनिश्चित गर्न कम्पनीले ‘अन–दि–स्पट’ रिप्लेसमेन्ट सेवा पनि सुरु गरेको छ, जसले वारेन्टी अवधिभित्र समस्या देखिए तुरुन्त नयाँ ब्याट्री दिन्छ ।
हाल कम्पनीले मोटरसाइकल तथा स्कुटर अर्थात् दुई पाङग्रे र चार पाङग्रे सवारीको ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी दिएको छ । यता, इन्भर्टरको ब्याट्रीमा भने ६० महिनामा ग्यारेन्टी छ । तर, इ–रिक्सामा भने एक वर्षको मात्रै छ ।
भविष्य उर्जा : लिथियम आयोन ब्याट्री उत्पादनको तयारी
हालका लागि लेड एसिड ब्याट्रीमा केन्द्रित एसटीसीले अब आफ्नो नजर भविष्यतर्फ अघि सारेको छ । बजारको प्रवृत्ति र प्रविधिको विकासलाई आत्मसात गर्दै निकट भविष्यमै लिथियम आयोन ब्याट्री उत्पादन सुरु गर्ने तयारीमा कम्पनी छ ।
उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै नेपाली बजारको माग पुरा गर्नुका साथै भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात गर्ने कम्पनीको लक्ष्य छ । हाल नेपालमा विश्वका झन्डै दुई दर्जन मुलुकहरुबाट ब्याट्री आयात हुँदै आएका छन् ।
कम्पनीले आफ्नो दीर्घकालिन लक्ष्य भनेकै विदेशी मुलुकहरु निर्यात गर्ने राखेको छ । नेपाली बजारमा मासिक १ अर्ब बराबरको ब्याट्री कारोबार हुँदै आएको छ । निर्देशक उप्रेति भन्छन्,‘एसटीसी इनर्जीले सुरु गरेको यो यात्रा केवल ब्याट्री उत्पादनको होइन, यो स्वदेशीकरण, औद्योगीकरण र आत्मनिर्भरताको मिश्रण हो ।’
स्थानीय स्रोत र सीपलाई प्रविधिको सहायताबाट वैश्विक मापदण्डसम्म पुर्याउने यो प्रयासले अब नेपाललाई आयातमा मात्र निर्भर देशबाट निर्यात गर्ने देशतर्फ उन्मुख गराउन सकिने उनको भनाई छ ।
‘हाम्रो दृष्टिकोण, लगानी र प्रतिबद्धताले स्वदेशमै विश्वस्तरीय उत्पादन सम्भव छ भन्ने प्रमाणित गरिरहेको छ । योजनाअनुसार अघि बढ्दै एसटीसी इनर्जी नेपालकै ऊर्जा क्रान्तिको अगुवाइ गर्ने अग्रणी कम्पनी बन्नेछ’, उप्रेतिले भने ।