डाटा सेन्टर र क्लाउड सेवामा कसरी पखेटा फिँजाउँदै छ एनसेल ?

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले व्यावसायिक विविधिकरणलाई तीव्रताका साथ अघि बढाउन थालेको छ ।
यसका निम्ति कम्पनीले अब डाटा सेन्टर र क्लाउड सेवालाई प्रमुखताका साथ अघि बढाएको हो । बदलिँदो परिस्थिति र बजारको परिवर्तनशील मागलाई ध्यानमा राखेर नवीन व्यवसायतर्फ पाइला चालेको एनसेलका अधिकारीहरुले बताएका छन् ।
यसका लागि एनसेलले २०७२ को भूकम्प पछि काम सुरु गरेको हो । त्यस बखत प्रकोपजन्य घटनाबाट नेपालका कयौँ अभिलेख एवम् विवरणहरु नास भएका थिए ।
भर्खरैमात्र ‘डिजिटाइजेशन’ सुरु भएको बेला सरकारी र निजी दुबै क्षेत्रले आफ्ना प्रमाणहरु गुमाउनु परेपछि सुरक्षित र भरपर्दो डिजिटल पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता एनसेलले जनाएको थियो ।
त्यसपछि डाटा सेन्टर निर्माण अघि बढे पनि लगत्तैको नाकाबन्दी र कयौ अवरोधबीच कोभीड महामारीले सिंगो संसार आक्रान्त भएको बेला एनसेलले नयाँ डाटा सेन्टर सञ्चालनमा ल्यायो ।
त्यस बेलादेखि नै आंशिक सेवा प्रदान गर्दै आएको एनसेल अब भने पूर्ण स्तरमा यस्ता सेवाको बजारिकरण गर्नेतर्फ अगाडी आएको छ ।
नेपालमा डाटा सेन्टरहरु सञ्चालन र नियमन गर्ने कानूनी व्यवस्थाको अभावका कारण विगतमा एनसेलले चाहेजसरी आफ्ना पूर्वाधारको उपयोग गर्न सकेको थिएन । तर गत वैशाख ९ मा उसले डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा भिन्दाभिन्दै लाइसेन्स पाइसकेको छ ।
सञ्चार मन्त्रालयले ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१’ जारी गरेपछि सूचना प्रविधि विभागबाट यी दुबै खाले सेवाका लागि सूचीकृत हुने पहिलो नेपाली कम्पनी नै एनसेल बन्यो ।

एनसेलले आफ्नो डाटा सेन्टरलाई पहिलेदेखि नै साइबर सुरक्षा, डेटा गोपनीयता र प्रकोप जोखिम न्यूनिकरणमा उच्च प्राथमिकता दिँदै आएका कारण अहिले सूचीकरण गर्न सजिलो भएको एनसेलको चिफ विजनेश अफिसर डिओन एसेन्सिओले बताएका छन् ।
यससँगै अब एनसेल ‘डिजिटल नेपाल भिजन’ अनुसार सूचना प्रविधि क्षेत्रको समष्टिगत विकासमा योगदान पुर्याउन सशक्त ढंगले खडा भइसकेको छ ।
डाटा सेन्टरको अवस्था
एनसेलले ललितपुरको नख्खुमा ‘एकिकृत डाटा सेन्टर (आइडिसी)’ सञ्चालन गरिरहेको छ । ‘टियर थ्री’ उक्त अत्याधुनिक डाटा सेन्टर सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र ठूला व्यावसायिक संस्थाहरुले प्रयोग गर्न मिल्ने अवस्थामा छ ।
यसका अलावा एनसेलले पोखरा र हेटौँडामा अरु दुईटा ‘डिजास्टर रिकभरी डाटा सेन्टर’हरु सञ्चालन गर्दै आएको छ ।
सरकारले यस्ता डाटा सेन्टर र क्लाउड सेवाप्रदायकको सूचीकरण गर्ने क्रममा आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेश कन्टिन्यूटी प्लान, डाटा सेन्टरको टियर, आईपी पुल लगायतका विषयमा बढी चासो दिन्छ ।
एनसेलको डाटा सेन्टरले यी सबै सूचकमा अत्यन्तै राम्रो नतिजा हासिल गर्ने गरी पूर्वाधार तयार पारेको छ ।
टियर थ्री मापदण्ड भनेको पनि आफैँमा केवल एउटा प्राविधिक संरचना मात्र होइन, यो नेपालको डिजिटल समृद्धिको प्रतीक हो । निर्माण हुँदाको बखत एनसेलको यो डाटा सेन्टर समग्र दक्षिण एसियामा नै यस्तो खालको (टियर थ्री श्रेणी) पहिलो डाटा सेन्टर थियो ।
डाटा सेन्टरको विभिन्न खाले सुरक्षा व्यवस्थाहरु र अवरोधरहित सेवा दिने सामथ्र्यलाई मापन गरेर नै टियर श्रेणी निर्धारण गरिएको हुन्छ । यस्तो श्रेणी चार वर्गमा विभाजन गरिन्छ । तर ‘टियर फोर’ भनेको चाहीँ ‘टियर थ्री’ कै विस्तारित रुप हो ।
एनसेलले उक्त डाटा सेन्टरका लागि २ अर्ब रुपैयाँ हाराहारी लगानी गरिसकेको छ ।
कस्तो छ पूर्वाधार ?
ललितपुरको एकीकृत डाटा सेन्टर आफैँमा ‘हरित ऊर्जा दक्षता, सुरक्षा र उच्च प्रविधिको संयोजन’ हो । त्यसैले यसलाई अन्य डाटा सेन्टरहरूभन्दा विशिष्ट बनाउँछ ।
एनसेलका अनुसार त्यहाँ विभिन्न सेवाग्राही संस्था एवम् कम्पनीहरुले प्रयोग गर्न सक्ने गरी २५० वटा र्याक राखेको छ ।

तर डाटा सेन्टरको विद्युत् आपूर्तिलाई अक्षुण राख्न कम्पनीले ५ वाटा ‘ब्याकअप जेनेरेटर’ सहितको ५ मेगावाट क्षमताको डिजेल प्लान्ट तयार पारेको छ ।
साथै ५० हजार लिटर डिजेल भण्डारण क्षमता पनि त्यहाँ तयार पारिएको छ । जसले ५ दिनसम्म निरन्तर विद्युत् आपूर्ति गर्न पर्याप्त हुन्छ । यसका साथै विद्युत् र चिस्याउने प्रणाली (कूलिङ सिस्टम) हरु अवरोधरहित ढंगले सञ्चालन गर्न सकिने व्यवस्था भएको छ ।
अन्तरराष्ट्रिय मापदण्ड अनुसार कत्तिपनि नरोकिइ सञ्चालन हुने संभाव्यता ९९.९८२ प्रतिशत भएको डाटा सेन्टरलाई ‘टियर थ्री’ श्रेणी दिने गरिएको भए पनि एनसेलको एकीकृत डाटा सेन्टर भने शतप्रतिशत नै अवरोध रहित ढंगले सञ्चालन हुने कम्पनीको दाबी छ ।
डाटा सेन्टरमा उचित ढल निकास प्रणाली छ, जसले वर्षतमा आउने बाढीमा समेत कुनै असर नपर्ने कम्पनीको दाबी छ ।
सुरक्षा प्रबन्ध
यस डाटा सेन्टरले ‘आइएसओ २७००१ः२०२२’ र ‘आइएसओ २७७०१ः२०१९’ प्रमाणपत्र प्राप्त गरेर आफ्नो उच्चतम सुरक्षा मापदण्डहरू प्रमाणित गरेको छ । एनसेलको भौतिक एवम् साइबर सुरक्षा रणनीतिहरूले यसलाई नेपालको सबैभन्दा सुरक्षित डाटा सेन्टर बनाएको कम्पनीको दाबी छ ।
भूकम्प प्रतिरोधी संरचनाको निर्माण र कन्टेनराइज्ड सोल्यूसनले प्राकृतिक प्रकोपको बेलामा पनि भौतिक संरचनाको सुरक्षा सुनिश्चित गर्छ ।
डाटा सेन्टरमा ‘भेस्दा’ प्रविधि जडान गरिएको छ, जुन स्वचालित रूपमा आगलागीको खतरा पहिचान गर्ने अत्याधुनिक फायर डिटेक्सन प्रणाली हो । यस्तै, ‘नोभेक १२३०’ नामक स्वचालित आगो निभाउने प्रणाली पनि स्थापना गरिएको छ । यो प्रणाली सम्भावित आगलागी नियन्त्रण गर्न स्वतः सक्रीय हुन्छ ।
यहाँ २४ घण्टा अनवरत निगरानी प्रणालीमार्फत सम्पूर्ण संरचना र प्रणालीको निगरानी गरिन्छ । सुरक्षा गार्डदेखि अनेकौँ निरिक्षण प्रणालीहरु जडान गरेर डाटा सेन्टरमा अनधिकृत पहूँचलाई रोक्ने र विवरणहरु नासिने जोखिमलाई लगभग अत्य गर्ने कोसिस गरिएको छ ।

सेवा विस्तार
कम्पनीले ‘ओरेकल क्लाउड स्ट्याक’ जस्ता संसरकै उत्कृष्ठ प्रविधिहरू प्रयोग गर्दै ‘प्लेटफर्म एज अ सर्भिस (पास) र ‘सफ्टवेयर एज अ सर्भिस (सास)’ तर्फ सेवा विस्तार गर्ने स्पष्ट योजना बनाएको छ ।
यसबाहेक, एनसेलले ग्राहकको आवस्यकतालाई हेरेर हाइब्रिड र मल्टी–क्लाउड मोडेलहरू पनि अघि सारेको छ । यसबाट एनसेलले देशभित्रै विश्वस्तरीय क्लाउड सेवा प्रदान गर्दै डिजिटल परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
यदि कुनै कम्पनी आवश्यक सम्झौता सम्पन्न गरेपछि एनसेलको डाटा सेन्टरसँग आवद्ध हुन चाहन्छ भने एनसेलले २ कार्य दिनभित्र ग्राहकलाई सेवा सुरुवात गराउने (अनबोर्ड) व्यवस्था समेत गरेको छ । तर अत्यावस्यक हालतमा सोही दिनबाटै सेवा दिने पनि कम्पनीले जनाएको छ ।
नेपालमै बसेर विश्वस्तरीय क्लाउड सेवा
डिजिटल युगले प्रविधिलाई केवल उपकरणको सीमामा राख्दैन । अचेल साना स्टार्ट–अपदेखि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूसम्म सबैले डेटा भण्डारण, प्रोसेसिङ र सफ्टवेयर सेवा क्लाउडमै खोजिरहेका छन् ।
यस प्रवाहलाई आत्मसात गर्दै एनसेलको एकीकृत डाटा सेन्टरले आफूलाई पूर्ण रूपमा ‘क्लाउड–रेडी’ बनाएर नयाँ युगको शुरुवात गरेको छ ।
एनसेलले हाल सञ्चालनमा ल्याएको ‘इन्फस्टक्चर एज अ सर्भिस’ यस्तो सेवा हो, जहाँ कसैले आफ्नै डाटा सेन्टर बनाउनु पर्दैन । चाहिएको सर्भर, नेटवर्क, स्टोरेज लगायतका पूर्वाधार एनसेलको सुरक्षित र विश्वसनीय डाटा सेन्टरबाट अनलाइनमै प्राप्त हुन्छ ।
यस्तै एनसेलले चाँडै नै प्लेटर्फम एज अ सर्भिस(पास) र सफ्टवयर एज अ सर्भिस (सास) सेवामा चाँडै प्रवेश गर्दै छ । ‘पास’ मार्फत डेभलपरहरूले एप्लिकेसन बनाउन, चलाउन र म्यानेज गर्न सक्ने प्लेटफर्म पाउने छन् ।
‘सास’ले कुनै इन्स्टलेशन, मर्मत वा अपग्रेडको झन्झट बिना इमेल, सिआरएम, इआरपी जस्ता सफ्टवयर सब्स्क्रिप्सन मोडेलमा इन्टरनेटबाटै प्रयोग गर्न मिल्ने बनाउँछ ।

उर्जा दक्षता र नवप्रवर्तनको संगम
एनसेलको यो एकिकृत डाटा सेन्टर परम्परागत डाटा सेन्टरभन्दा फरक छ । परम्परागत डाटा सेन्टरहरूमा ऊर्जा खपत अत्यधिक हुने, ताप व्यवस्थापन जटिल हुने र मर्मतका लागि सेवा अवरुद्ध गर्नु पर्ने बाध्यता हुन्थ्यो ।
तर एनसेल आइडिसी यस्ता समस्याको समाधान मात्र होइन, उदाहरणीय बनेको कम्पनीको दाबी छ ।
यहाँ प्रयोग गरिएको ‘इनर कुलिङ सिस्टम’ यस्तो प्रविधि हो, जसमा शीतल हावा सिधै सर्भरहरूको पंक्तिबीचबाट प्रवाहित हुन्छ । फलस्वरुप ऊर्जा खपत कम गर्नुका साथै ताप व्यवस्थापनलाई पनि ज्यादा प्रभावकारी बनाउँछ ।
यी प्रविधिहरूको समन्वयबाट एनसेलले ‘ऊर्जा उपयोग प्रभावकारीता (पियुइ)’ १.५ भन्दा कम कायम गर्न सफल भएको छ । जुन एक हरित डाटा सेन्टरको अन्तर्राष्ट्रिय मान्यता हो ।
कम पियुइको अर्थ– ऊर्जा कम खपत गर्दै बढी कम्प्युटिङ क्षमता दिनु हो, जसले खर्च पनि घटाउँछ र वातावरणमैत्री अभ्यासलाई समेत प्रोत्साहन गर्छ ।
त्यस्तै, हट प्लगेवल युपिएस र रिफ्लेक्टर मोड्युल्स प्रयोग गरेर एनसेलले अर्को उत्कृष्ट काम गरेको छ । यदि कुनै युपिएस मोड्युल वा रेक्टिफायरमा समस्या आए पनि, पूरै प्रणालीलाई बन्द नगरीकन परिवर्तन वा मर्मत गर्न सकिने कम्पनीले जनाएको छ ।
यसबाट सेवा अवरुद्ध हुने समस्या अन्त्य हुनुका साथै समयको बचत समेत गर्छ ।
एनसेल आइडिसी ऊर्जा दक्षता र नवप्रवर्तनको एक यस्तो उत्कृष्ट उदाहरण बनेको छ, जुन सेवाको गुणस्तर, वातावरणीय दायित्व र प्राविधिक सक्षमताको त्रिवेणी हो ।