सडकको दुर्दशाले पर्यटकीय ककनीमा चहलपहल घट्यो « Arthapath.com
६ कार्तिक २०७६, बुधबार

सडकको दुर्दशाले पर्यटकीय ककनीमा चहलपहल घट्यो



नुवाकोटको प्रमुख पर्यटकीय स्थल ककनी सडकको कारण आन्तरिक र बाह्य पर्यटक कम भइरहेको छ । ककनीमा प्रायः बाह्रै महिना पर्यटक आउने गर्छन् । तर, सडकको कारण विगत १ वर्षदेखि घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या न्यून रहेको छ । राजधानी काठमाडौंदेखि पर्यटकीय स्थल ककनीसम्मको यात्रा अहिले निकै कष्टकर र जोखिमपूर्ण बनेको छ । बालाजु–बाइपासदेखि ककनीसम्मको दूरी २२ किलो मिटरको भए पनि उक्त दूरी छिचोल्न अहिले चार घन्टाभन्दा बढी लाग्ने गरेको छ । सामान्यतया उक्त दूरी ४५ मिनेटमा पार गरिन्थ्यो ।
विगत लामो समयदेखि बालाजु–बाइपासदेखि ककनीसम्मको सडकखण्ड निर्माणाधीन अवस्थामा रहे पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले यो सडकखण्डको निर्माण र विस्तारको लागि योजनासहित बजेट छुट्याएका थिए । विडम्बना ! अहिले उक्त बजेट छुट्याएको एक दशक समय बितिसक्दासमेत सडक निर्माण विस्तारमा उल्लेखनीय कार्य हुन सकेको छैन ।
सडक निर्माण र विस्तारका लागि केही कार्य अगाडि बढेको देखिए पनि त्यसमा सन्तुष्ट गर्न सक्ने अवस्था छैन । ओशो तपोवनदेखि तिनपिप्लेसम्म सडक विस्तार गर्ने कार्य भए पनि उक्त कार्य सकिएको एक–डेढ वर्षको समय बितिसक्दा पनि रोडा हाल्ने कार्यबाहेक केही हुन सकेको छैन । अहिले उक्त रोडा हालेको सडकमा पनि ठूला–ठूला खाल्डा परेर सवारी आवत–जावत गर्न कठिनाइ भइरहेको छ ।
तीनपिप्लेदेखि ककनीसम्मको सडक ज्यादै दयनीय अवस्थामा पुगेको छ । पहिले नै साँघुरो सडकको रूपमा परिचित यो मार्ग जोखिमयुक्त बनेको छ । ०७२ को भूकम्पले समेत क्षति भएको यो सडकको अवस्था अहिले त्यतिबेलाको भन्दा नाजुक र दयनीय बनेको छ ।
सडक बिस्तार र निर्माणका लागि ठाउँठाउँमा डोजर र एक्जाभेटर राखिए पनि ती साधनको प्रयोग गरिएको छैन । वर्षाको समय त्यसमाथि जबर्जस्ती चलाइएका टिपर र फोहोरमैलाका गाडीका कारण सडकको अवस्था नाजुक बनेको छ । त्यसमाथि वर्षात्मा तलमाथिबाट गएको र आएको पहिरोले सडकलाई थप दयनीय बनाइएको छ ।
सडककै कारण पर्यटकीय स्थल ककनी र त्यसको वरिपरि रमाइलो गर्न जाने आन्तरिक र बाह्य पर्यटक सडकको दुरावस्थाका कारण त्यहाँ जान छाडेका छन् । साँचो रूपमा भन्नुपर्दा त्यहाँ पर्यटकको सङ्ख्या प्रायः शून्य देखिएको छ । अहिले त्यसको प्रत्यक्ष असर होटेल व्यवसाय र मौसमी खेती गरेर सडकमा आफ्नो उत्पादन बेच्नेलाई नराम्रोसँग परेको छ ।
सडकको यो दुर्गतिबारे स्थानीय व्यक्तिसँग सम्पर्क गर्दा उनीहरूले यो राजनीतिक दल र ठेकेदारको मिलिभगतले यस्तो भएको बताउँछन् । उनीहरूले हामीलाई वस्तुभाउ चराउनदेखि आवत–जावत गर्नमा समेत निकै कठिनाइ भएको बताए । सडक चाँडो बन्नेमा राजनीति दलका नेताले आश्वासन दिए पनि अहिलेसम्म त्यो सबै चुनावी नारा मात्रै भएको सुनाए । दुई निर्वाचित क्षेत्र रहेको नुवाकोटमा अहिले नेकपाको तर्फबाट हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा र नेपाली काङ्ग्रेसको तर्फबाट बहादुरसिंह लामा सांसद छन् ।
बाटोको दुर्गति देखेर राजनीतिक दलका नेता र ठेकेदारलाई सराप्नेबाहेक स्थानीय जनताले केही गर्न सकेका छैनन् । बल्लतल्ल दिनमा दुई–चारवटा पर्यटक कम गाडी आउँछन् त्यही पनि हिलोमा गाडिएर फसेपछि ती गाडीलाई निकाल्ने र सुरक्षित पठाउने कार्य नै स्थानीयको दिनचर्या बनेको छ ।
नुवाकोट त्यस्तो जिल्ला हो, जसले मुलुक नै हाँक्न सक्ने नेता जन्माएको छ । जसमा डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, अर्जुननरसिंह केसी, महेन्द्रबहादुर पाण्डे, प्रकाशशरण महत, हितबहादुर तामाङ, नारायण खतिवडा, बहादुरसिंह लामालगायत रहेका छन् । नुवाकोट जिल्लाले यति ठूला नेता जन्माए पनि अहिलेसम्म बालाजु–बाइपासदेखि ककनीसम्मको २२ किलोमिटर सडकको निर्माण गर्न नसक्नु नुवाकोट जिल्लाकै दुर्भाग्य बनेको छ ।


प्रतिक्रिया दिनुहोस्