लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेबाट ८९ लाख राजस्व « Arthapath.com
२८ कार्तिक २०७६, बिहीबार

लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेबाट ८९ लाख राजस्व



रसुवा / लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले चालू आवको साउन, भदौ र असोज महिनामा आन्तरिक र बाह्य पर्यटकको प्रवेश शुल्कबाट ८९ लाख ३७ हजार पाँँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा निकुञ्ज प्रवेश ६ हजार ६ सय आन्तरिक र दुई हजार पाँच सय १४ विदेशी पर्यटकले गरेका थिए । तीमध्ये ४३ सार्क राष्ट्रका रहेका थिए । हिमाली दृश्य अवलोकनका लागि आउने आन्तरिक एवम् बाह्य पर्यटकले पवित्र तीर्थ गोसाइँकुण्ड, लाङटाङ क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत गत्लाङ, नागथलीलगायत क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।
आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति सय रुपैयाँ, सार्क मुलुकका लागि एक हजार पाँच सय रुपैयाँ र अन्य बाह्य मुलुकका पर्यटकका लागि तीन हजार प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ । गोसाइँकुण्डको विशेष मेलाको अवधिभर नेपाली यात्रुका लागि प्रवेश शुल्क निकुञ्जले छुट गरेको छ । साउन, भदौ र असोज महिनामा पर्यटक शुल्कबाट निकुञ्जले ८९ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिए ।
जिल्लाको लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको छ । असोज, कात्तिक लाङटाङ, गोसाइँकुण्ड र उच्च हिमशृङ्खला भ्रमण गर्ने अनुकूल मौसम हो । निकुञ्जको कार्यालयका वन प्राविधिक बस्नेतका अनुसार चालू आर्थिक वर्षको वर्षा ऋतुको दुई महिनामा पर्यटक न्यून सङ्ख्यामा आए पनि शरद ऋतु सुरु भएसँगै अग्ला हिमशृङ्खला र प्राकृतिक सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवम् बाह्य पर्यटक आउने क्रम बढ्ने गरेको छ ।
यो महिनाभर रसुवा कुहिरो नउठ्ने, हिमाल दिनभर खुल्ने अग्लो स्थानमा सेताम्बे हिउँ, समथर र हरियाली पाखा, विभिन्न प्रजातिका चरा उडिरहने अस्मिज बाँदरलगायत अन्य जनावर सहज रूपमा हेर्न पाइने भएकाले पदयात्रीहरू आउने गर्छन् । सुन्दरीजलदेखि गोसाइँकुण्ड यात्रा गर्ने पर्यटकले लौरीविनायक, चोलाङपाटी, ठूलोस्याफ्रु, लामाहोटेल हुँदै लाङटाङ, शेर्पागाउँ, वृद्धिम, थुमन, नागथली, गत्लाङ, पार्वतीकुण्ड, गोल्जुङ, स्याफ्रुबेंसी पुगेर काठमाडौं फर्कन सहज छ ।
राजधानी काठमाडौंदेखि छोटो दूरी र प्राकृतिक स्थलको जिल्ला भएकाले भ्रमणमा आएका पर्यटकले सात दिनमा पूरै गन्तव्यस्थल घुमिसक्ने लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामा बताए ।


प्रतिक्रिया दिनुहोस्