सम्झौताअनुसार पैसा पाएन, किसान पुनः आन्दोलीत « Arthapath.com
२९ माघ २०७६, बुधबार

सम्झौताअनुसार पैसा पाएन, किसान पुनः आन्दोलीत



काठमाडौं । बक्यौता रकम तथा सरकारी अनुदानसमेत नपाएपछि उखु किसानले पुनः आन्दोलनको तयारी गरेका छन् । गत पुसमा भएको सम्झौताअनुसार बक्यौता नपाएपछि किसानले पुनः आन्दोलनको तयारी गरेका हुन्।

वर्षौँदेखि आफ्नो पसिनाको मूल्य पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यकारी अबस्था झेल्दै आएका उखु किसानहरुले फागुनदेखि आन्दोलन गर्ने नयाँ खाकासमेत तयार गरिसकेका छन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र भन्छन्, ‘फागुन ५ गतेसम्म कसको बक्यौता र अनुदान रकम कति पाउन बाँकी छ भनेर हामी तथ्यांक संकलन गर्छौँ, ६ गतेदेखि २२ गतेसम्म हामी एक छाक खाना खाएर उखु बारीमा काम गर्छौँ ।’

फागुन २२ गतेदेखि चैत ३ गतेसम्म ‘चलु काठमाडौं भरु काठमाडौं’ अर्थात् ‘काठमाडौं जाऔँ काठमाडौं भरौँ’ भन्ने नाराका साथ प्रचारप्रसार गरिने कार्यक्रम रहेको संरक्षक मिश्रले बताए।
चैत ४ गतेदेखि काठमाडौंमा उखु किसानहरुले रिले अनशन सुरु गर्ने संरक्षक मिश्रले जानकारी दिए । यस पटकको अनशनमा सकेसम्म देशैभरिका उखु किसानहरु भेला हुने र कडा आन्दोलन गर्ने चेतावनी किसानहरुले दिएका छन्।


प्रतिक्रिया दिनुहोस्