७ महिनामा लाङटाङ घुमे १५ हजार पर्यटकले « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

७ महिनामा लाङटाङ घुमे १५ हजार पर्यटकले



कठमाडौं । लाङटाङ क्षेत्रमा विदेशीभन्दा धेरै स्वदेशी पर्यटकले भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको ६ महिनामा करिब १५ हजार पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । यस अवधिमा आठ हजार ६ सय ५० स्वदेशी र सार्कसहित अन्य मुलुकबाट ६ हजार तीन सय ६ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताए ।

आन्तरिक पर्यटकको आगमन निकै कमी हुने लाङटाङ र गोसाइँकुण्ड पदमार्ग दुई वर्षयता स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले ०७५ असोज २९ देखि लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको निकुञ्जले बताएको छ । स्वदेशी पर्यटकले एकसय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । यहाँ आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । रसुवामा पर्यटकका लागि तीनवटा पदमार्ग छन् ।

धुन्चे–गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेंसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, वृद्धिम हुँदै स्याफ्रुबेंसीसम्म तामाङ सम्पदामार्ग रहेको छ । यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्गमा रहेको तामाङ कला र संस्कृति अवलोकन गर्छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तुरी मृगलगायतका जीवजन्तु पाइन्छ । लाङटाङ पदमार्गमा यस वर्ष धेरै स्वदेशी पर्यटक घुम्न आएको घोडातबेलाका होटेल व्यवसायी ढिण्डुप तामाङले बताए । अफ सिजन भए पनि अहिले निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक १० देखि १५ जना विदेशी तथा स्वदेशी पर्यटक प्रवेश गर्ने गरेका छन् । यो सिजनमा कोरियन पर्यटक घुम्नका लागि आउने गरेको लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले बताए । सार्क मुलुकलगायत रसुवामा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतका पर्यटक आउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्