क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउन कृषि नीति संशोधन हुँदै « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउन कृषि नीति संशोधन हुँदै



काठमाडौं । राष्ट्रिय कृषि नीति २०६१ संशोधन हुने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले १५ वर्षपछि राष्ट्रिय कृषि नीतिलाई संशोधनको तयारी थालेको छ । मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले राष्ट्रिय कृषि नीति संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताए । उनले नीतिको नयाँ खाका तयार गर्न सबन्धित निकायका सरोकारवालासँग छलफल गरेर कृषि नीति संशोधनको तयारी भइरहेको उनले बताए ।

सहप्रवक्ता भट्टराईका अनुसार अहिले कृषि मन्त्री घनश्याम भुसाल राष्ट्रिय कृषि नीति, कृषि ऐन, नियमावलीलगायतका ऐन नियम कानुन ल्याउन सरकार अध्ययनमा जुटेको छ ।

कृषि क्षेत्रमा नयाँ आधुनिक प्रविधिबाट कृषि क्षेत्रको उत्पादन बढाउन सहयोग हुने खालको कृषि नीति ल्याउन प्रदेश, स्थानीय र सरोकारवालासँग छलफल भइरहेको सहप्रवक्ता भट्टराईले बताए । भट्टराईले चालू आर्थिक वर्ष भित्रमा राष्ट्रिय कृषि नीति संशोधनको अन्तिम मस्यौदा तयार गरी सक्ने मन्त्रालयको योजना रहेको बताए ।

सरकारले देशको भौगोलिक परिवेशले उपलब्ध गराएको अवसर र कृषकहरूको अनुभव तथा आधुनिक कृषि प्रविधिहरूको सदुपयोगबाट दीगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षा सुनिश्चितका सरकारले राष्ट्रिय कृषि नीति २०६१ ल्याएको थियो ।

यसैगरी, व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरीबी निवारणमा योगदान गर्ने, कृषि उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने सो नीतिको उद्देश्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्