मलको आशमा कृषक « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

मलको आशमा कृषक



मोरङ । मोरङको रतुवामाई नगरपालिकामा रासायनिक मल अभाव भएपछि कृषक चिन्तित छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषक रासायनिक मल नपाएर हैरान भएका हुन् ।

चैते धान रोपाइँसँंगै सुरु भएको देशव्यापी बन्दाबन्दीका कारण मल अभाव भएपछि धेरैले मल नहाली नै धान रोपेका छन् । मकैमा पनि मल हाल्न ढिलो भइसकेको छ ।

सहकारी संस्था र कृषि पसलले यदाकदा ल्याउने गरेको मलमा हारालुछ हुने गरेको छ । रतुवामाई–९, इटहरास्थित कृषि सहकारी संस्था लिमिटेडले ल्याएको एक गाडी युरिया मल वितरण ग¥यो तर लाइनमा बसेका आधाजति कृषकले मल पाउनै सकेनन् ।

संस्थाले मल वितरण गर्ने सूचना गरेपछि कृषक राति १ः०० बजेदेखि नै लाइनमा बसेका थिए । बिहान ७ः०० बजेदेखि वितरण गर्न थालिएको युरिया ११ः०० बजे नै सकियो । आधा कृषकले मल पाए, आधा रित्तै फर्किए ।

मल नपाएर निराश हुँदै घर फर्किंदै गरेका स्थानीय राजकुमार पाण्डेले भन्नुभयो, “युरिया हाल्न नपाई यसपालिको धान पसाउने भयो । यतिबेला मल हालिएन भने उत्पादन घट्ने निश्चित छ । ”
सो संस्थाबाट मल लिन लाइन लागेका तीन सय जनालाई २५ किलोका दरले १५० बोरा युरिया वितरण गरिएको सञ्चालक समिति अध्यक्ष प्रसादसिंह लिम्बूले जानकारी दिनुभयो । जति थियो वितरण गरिसक्यौँ, उहाँले भन्नुभयो, “लाइनमा बसेर मल नपाउनेलाई अर्कोपटक दिन्छौँ । ”

नगरपालिकाको सिफारिसमा संस्थाले साल्ट ट्रेडिङ विराटनगरबाट ल्याएर सबैलाई मल वितरण गरिँदै आएको सञ्चालक समिति सदस्य दुर्गाप्रसाद गौतमले जानकारी दिनुभयो । त्यहाँ नै मलको अभाव छ । संस्थालाई उपलब्ध भएजति सबै वितरण गरिन्छ ।

रतुवामाई नगरपालिकाका कृषि शाखा प्रमुख नरहरि निरौलाले साल्ट ट्रेडिङ र कृषि सामग्रीमै मल अभाव भएकाले ग्रामीण क्षेत्रमा त्यसको असर परेको बताउनुभयो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्