कोभीडपछिको एक वर्षको अनुपातमा १४ गुणा बढे पर्यटक, तर अझै एक चौथाई क्षमताको पनि भएन उपयोग « Arthapath.com
५ माघ २०७९, बिहीबार

कोभीडपछिको एक वर्षको अनुपातमा १४ गुणा बढे पर्यटक, तर अझै एक चौथाई क्षमताको पनि भएन उपयोग



काठमाडौं । २०७६ चैतमा लकडाउन सुरुभएपछिको एक वर्षमा केवल ४२ हजार ४ सय १४ जना पर्यटक नेपाल आएका थिए । व्यवसाय र कतिपय जरुरी काम पर्नेहरुमात्रै कोभीडको बेलामा नेपाल आए । नेपाल घुम्ने निकै राम्रो मौसम अर्थात् वसन्त ऋतुमा पनि त्यसताका महिनाभरीमा भित्रिएको पर्यटकको संख्या १४ जनामा सीमित भयो । सन् २०२० को अप्रिलको यो तथ्यांकले पर्यटनमा आधुनिक नेपालको इतिहासकै खराब अवस्था दर्शाउँछ ।

तर त्यो खराब समय अब वितेको छ । हालैका महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । लकडाउन सुरु भएपछिको एक वर्षलाई आधार मान्ने हो भने त सन् २०२२ मा १४ गुणाभन्दा धेरैले पर्यटक बढेका छन् । गत साल ६ लाख १४ हजार १ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा पनि ४ गुणा ज्यादा हो ।

सन् २०२१मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या केवल १ लाख ४९ हजार ८ सय ३३ थियो । यसलाई अझ मसिनो गरी बुझ्ने हो भने संवत् २०२१ मा नेपाल घुम्न प्रतिदिन ४१० जना आउँथे भने २०२२ मा यो संख्या बढेर दैनिक औसतमा १६८२ जना पर्यटक भित्रिरहेका छन् ।

तर यति हुँदाहुँदै पनि नेपालको पर्यटन उद्योगले पर्याप्त क्षमता उपयोग गर्न सकिरहेको छैन । निवर्तमान सरकारले सन् २०२२ देखि २०३२ सम्मलाई पर्यटन दशक घोषणा गरेको थियो । सन् २०३२ सम्म ३५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारको छ । तर नेपालको होटेल उद्योग यही वर्ष नै ३५ लाख पर्यटक धान्न सक्ने हालतमा पुगिसकेको छ ।

पर्यटनका लागि होटेल मुख्य पुर्वाधार हो । अहिले नै नेपालमा पाँचतारे होटेलको संख्यामात्रै १८ वटा पुगिसकेको छ । अबको एक–डेढ वर्षमा यति नै संख्यामा ठूला होटेलहरु थपिँदै छन् । ठूला र स्थापित ब्यावसायिक घरानाहरुले होटेलमा ब्यापक लगानी बढाएका छन् । संसरका ठूला र स्थापित ब्राण्डहरु नेपालका होटेलको व्यवस्थापन गर्न राजी भएका छन् ।

यस्तो बेला विदेशबाट पर्यटक ल्याउन र नेपालमा राख्न कुनै समस्या नभएको होटेल एसोसियसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । तर नेपालमा विमानस्थलहरुको बने पनि ती सञ्चालनमा नआउनु र त्रिभुवन विमानस्थलको विस्तारमा लामो समय खर्चनुले समस्या पारिरहेको उनको तर्क छ । ‘हामीले भारत र चीनबाट बसमै पनि धेरै पर्यटक भित्र्याउने संभावना छ,’ उनी भन्छन्, ‘तर सरकार राजनीतिको दाउपेचमै रमाएको छ । आर्थिक मुद्दामा ध्यान दिने र कूटनीतिक पहल एवम् व्यावसायिक मार्केटिङ गर्नमा सरकार चुकिरहेको उनको बुझाइ छ ।

कोभीड अघिको वर्ष २०१९ मै नेपालले ११ लाख ९७ हजारभन्दा धेरै पर्यटकलाई आतिथ्य दिइसकेको थियो । सन् २०१८ को नोभेम्बरमा एक महिनामै १ लाख ४८ हजार हाराहारी पर्यटक नेपाल भ्रमणमा आएका थिए । अहिले पनि नेपालमा कोभीड अघिको तुलनामा आधामात्रै पर्यटक भित्रिएका छन् । तर यसबीचमा नयाँ होटेलहरु बन्ने काम धमाधम भइरहेको छ । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बनियसकेको छ । पोखरामा पनि क्षेत्रीय स्तरको अन्तरराष्ट्रिय विमानस्थल तयार भएको छ ।

पोखराबाट दक्षिण एसियाका सबैजसो मुलुक र चीनका धेरै भागमा उडान भर्न सकिन्छ । भैरहवाबाट त लामै दूरीको उडान भर्न सक्ने अवस्था छ । नेपालले ५ वर्षअघि नै बौद्ध धर्मालम्बिको बाहुल्यता भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरुसँग कूटनीतिक सम्बन्ध बलियो पार्ने कोसिस गरिरहेको थियो । तर सत्ता स्वार्थको खेलमा राजनीतिक नेतृत्व मरिहत्ते गर्न थालेपछि त्यो प्रयास त्यहीँ रोकिएको छ । पश्चिमा विस्वमा पनि बौद्धमार्गिहरुको संख्या ठूलो छ ।

नेपालमै ठूलाठूला गुम्बाहरु बनाउन उनीहरुको सहायतालाई हेर्ने हो भने यो स्पष्ट हुन्छ । नेपालका नाम चलेका रिम्पोचे (बौद्ध गुरु)हरु प्रायः अमेरिका र युरोपमा प्रशिक्षण दिइरहेको भेटिन्छ । यसले पनि पश्चिमा विश्वलाई भैरहवाको धार्मिक पर्यटनसँग गाँस्न सकिने पर्याप्त ठाउँ नभएको होइन । तर सरकारले यसमा पनि खासै काम गर्न सकिरहेको छैन ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले पनि नेपालको पर्यटन पुर्वाधारले अहिलेभन्दा दोब्बर–तेब्बर पर्यटकलाई आतित्थ्यता गर्न सक्ने सामथ्र्य राख्ने भन्दै यस क्षेत्रमा थप लगानी नगर्न सुझाव दिइरहेका छन् । ‘हामीले पुर्वाधारमा चाहिनेभन्दा बढी लगानी गर्ने होइन, भएकै पुर्वाधारबाट बढी पर्यटकलाई सेवा दिने हो भने मात्रै रोजगारी र आर्थिक बृद्धिमा सघाउ पुग्छ’ उनले भने । तर अहिले पर्यटनमा देखिएको आशाको कीरणलाई अझ मजबूत पार्न थप प्रयास भने जरुरी रहेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्