जय शम्भो– गाँजा अलि कम भो ! « Arthapath.com
६ फाल्गुन २०७९, शनिबार

जय शम्भो– गाँजा अलि कम भो !



आरजी बिद्रोही

हरेक वर्ष यसैगरी धुँवाको मुस्लो मुखबाट फ्याँक्दै शिवरात्रीको आगमनअघिका दुईचार दिनअघि देखि नै गाँजा बेस्करी तन्काएको याद झल्झली नआएको होइन । त्यतिबेला शिबजीका प्रसादका नाममा शिवरात्री आउनुअधिका केही दिनदेखि र शिवरात्री सकिएपछि पनि दुईचार दिन हाम्रा लागि राम्रै बहाना भनौं या गाँजा तान्ने गतिलै गँजडी निहुँ थिए गाँजा तन्काउनकै लागि । कसैले गाली गरेर हप्काइहाल्न पनि ‘शिवरात्रीको बुटी हो, प्रसाद हो । रोकतोक गर्ने र तान्न नदिए पाप लाग्ला नि तिमिहरुलाई फेरी !’ यत्ति भनेर गँजडी गफमा यस्ता डाइलग मारिदिएपछि कोही कसैले पनि हाम्रो गाँजा सिमनलाई अवरोध पु¥याउने हिम्मत नै गर्ने थिएनन् । तरपनि ति विगतको विस्मृतिलाई सम्झिँदा सम्झिँदै पनि यसपाली ति दिनहरु बिर्सिएझैँगरी यसपाली तानिएन गाँजा र मिल्काइएन जय सम्भो भन्दै बेस्मारी धुँवाको मुस्लो ।

देशमा गाँजा सर्वत्र फैलिनुपर्छ भन्ने माग गँजडीहरुलाई स्वर्ग बनाउने गरी सरकार र सदनदेखि यत्रतत्र आवाज उठिरहेकै बेला हरेक वर्षमाझैं घुमीफिरी आइपुगेको सार्वजनिक बिदाको दिन आज शिवरात्री । तरपनि म अफिसमै ‘आवासिय सुविधा’सहित बसेको एक मनुवा । एकाबिहानै मेरा दाजै अर्थात् अफिसका ‘ओनर’ आइपुग्न भ्याए र ढोका ढक्ढक्याउँदै भने–‘भाई आज शिवरात्रीको दिन । विषेश बुटी ल्याइदिएको छु तिम्रा लागि । आजको दिन त जसरी पनि तान्नुपर्छ नत्र, शिवजीको प्रसादको अवहेलना हुन्छ है ख्याल गर’ यसो भन्दै उनले एकपोको गाँजा कतैबाट ल्याएका रहेछन् । मैले भने–‘शिवजीले जेसुकै भनुन् र सजायँ दिउन् तर, यसपाली गाँजा नखाने निर्णय गरेको छु’, जवाफ दिएँ ।

उसो त अघिल्ला वर्षहरुमा पनि खाइरहेको भनेचाहिँ थिइन । कुनैबेला त्यहि गाँजाले मेरा लागि कहालिलाग्दो आपत् दिएको थियो र बुटीका नाममा शिवरात्रीकै दिन गज्जबको गँजडी बन्नुपरेको भोगाई मेरा लागि आज पनि तर्साउने क्षण बनेर मानसपटलमा मडारिरहन्छ । त्यो क्षण थियो करिब १४ वर्षअघि मेरा गाउँका दाजुभाईहरु सहित नजिकैको महादेवको मन्दिर गएका थियौं । जहाँ यहि दिन वर्षेनी हजारौंको मेला लाग्छ । महादेवको ‘थान’ मा पुगेपछि तन्काइएको सयौं गाँजाका सर्कोहरुले मेरा लागि बुटी होइन, बिचल्ली नै पारिदिएको थियो । सँगै गएका दाजुभाई र साथीहरुले घरमा बोकेर ल्याउनुपरेको थियो भने त्यस प्रकारको गँजडी हालतले दुई दिनसम्म लठ्याएको थियो ।

एकैपटकको शिवबुटीका नाममा मैले ग्रहण गरेको मेरो गँजडी हालत सम्झेर दाजुको आग्रह स्विकार गर्न सकिएन । दाजु त यसै नतन्काउने मान्छे । तर, मेरा लागि उनले दुःखले खोजी ल्याएको त्यो ‘मूल्यवान्’ गााजाको पोको भने भने खेर गएन । एकछिनपछि बग्रेल्ती हाम्रा केही अन्य दाजुहरु (उहाँहरु राजनीतिक नेताहरु पनि हुनुहुन्छ) लौ आज शिवप्रसाद ‘गाँजाÕ मज्जैले तान्ने हो चाहियो भन्दै आइपुगे । मलाई पनि तान्न त भने तर, नतान्ने निर्णयमा म अडिग थिए । तर, उहाँहरुलाई गाँजा भरेर भने पिलाउन सहयोग गरेँ । उहाँहरुका लागि आजका दिन गाँजा नतन्काएपनि केही गँजडी गफ उहाँहरुसँग बसेर सुनेर बिताइदिए । यसैगरि बिते आज शिवरात्रीको उत्सव ।

विगतमा कोरोनाका महामारीको अवरोधले गर्दा विगतका वर्षहरूमा ‘फुल–फ्लेज’ मा लाग्न नसकेको महाशिवरात्री मेला । यसपालि मेलालाई भव्य बनाउन आयोजकहरू आफैं निरीक्षण र दौडधुपमा मज्जैले लागिरहेका थिए केहिदिनअघि देखि नै । पशुपतिनाथ परिसरलाई सिँगार्दै, झकिझकाउ पार्दै मेलाको तयारी भइरहेको सेरोफेरोमा हिजो पाशुपत क्षेत्र घुमेर आएको दिन सपनी देखेँ । सपनीमा शम्भो! एक्कासि नन्दी, भृंगीसहितको दलबल । कम्मरमा बाघको छाला । घाँटीमा नागको माला । हातमा त्रिशुलधारी शिवजीलाई आँखैअगाडि देख्दा एकछिन त बोली नै हराई’रा भन्या ।

पछि फुत्त बोली फुट्यो। जऽऽजऽऽजऽऽऽऽऽय शम्भो!

एक वाक्य त निस्कियो । थप बोल्नुअघि एक निमेष ’कन्फ्युज’ हुँदै सोचमग्न बनेँ । कारण थियो भाषा। शिवजीसँग संवाद हिन्दीमा गरूँ कि नेपालीमा ?

उनैलाई सोधौं! रिसाएर भस्मै पार्लान् भन्ने पिर। नसोधौं ! उहाँ के कारणले प्रकट हुनुभयो ? कुरो बुझ्न अन्तर्यामी परिएन । सानैदेखि हिन्दी धार्मिक टेलिसिरियलमा हिन्दीमै बात मार्ने कैलाशपतिले हिन्दी मात्रै बुझ्छन् कि ?

फेरि लाग्यो– राष्ट्रियताका सवाल भी है भाइ ! बोलना तो नेपालीमै पडेगा । समझना, नासमझना उनकी बात ! अगर वो हमारी बात नही भी समझे तो बुलाएंगे किसी ’ट्रान्सलेटर’को। हमे क्या ?

शम्भो ! तपाईंका अनेका नाम। शिव । शंकर। महादेव। भोलेनाथ। आशुतोष। नीलकण्ठ । कैलाशपति । किराँतेश्वर । पारूहाङ। तपाईं यी पर्वत, हिमालका टाकुरा टाकुरामा विराजमान हुनुहुन्छ । तपाईंलाई मन पर्ने एउटा चीज– गाँजा, भाङ अरे !
गाँजा भन्नासाथ याद आयो। शिवजी जस्तै गाँजाका पनि अनेकन् नाम छन् । गाँजा । भाङ । भाङो । तोप। शिव बुटी । विजया । शिवजी सर्वत्र पाइएजस्तै गाँजा पनि हिमाल, पहाड, तराई जताततै पाइन्छ । शिवजी त्रिशुललाई आसन पर्तिर गाडेर सुनिरहे । म भुइँमा थचक्क बसेर निवेदन गरिरहेँ ।

‘हुन त तपाईंकै दिवस महाशिवरात्रीमा हुलका हुल नागा साधु पशुपतिमा आएजस्तै कुनै बेला हिप्पीहरू काठमाडौं ओइरिन्थे । उद्देश्य दुवैको फरक । साधुहरू तपाईंलाई मान्थे, हिप्पीहरू गाँजालाई । दुवैको उच्चारण वाक्य फरकफरक। बाबाहरू जय शम्भोऽऽऽऽऽ भन्थे। हिप्पीहरू हरे रामऽऽऽऽ, हरे कृष्णऽऽऽऽ। पारा चाहिँ दुवैको बिन्दास। मदमस्त । दुवैथरीको अर्को समानता एउटै प्रिय वस्तु गाँजा । बाबाहरू शिवको बुटी भन्ने, हिप्पीहरू मारिवाना ।

शम्भो ! गाँजाको महत्त्व हिजो पनि थियो । आज पनि छ । सदा रहिरहने छ । तर गाँजा अनाहकमा विवादमा ल्याइयो । दुष्प्रचार गरियो । गाँजाले स्वास्थ्य खत्तम पार्ने भएकाले यसमाथि प्रतिबन्धै ठोक्नुपर्छ भनियो । जनजीविकासँग गाँसिएको, अर्थतन्त्रसँग जोडिएको, उपचार पद्धतिसँग सम्बन्ध रहेको गाँजालाई नेपाली आफैंले त पक्कै प्रतिबन्धित गरेनन् होला । शम्भो ! तपाईं हिमालय पर्वतमा तपस्या गरेर बसेका बेला भस्मासुरले आक्रमण गरेजस्तै नेपालमा जताततै पाइने गाँजा र गाँजाजन्य पदार्थ एक्कासि बाहिरियाको आक्रमणमा परेर प्रतिबन्धित बन्यो ।

तपाईं कहिलेदेखि यी पहाड, डाँडा, पर्वतहरूमा विचरण गर्दै हुनुहुन्छ, थाहा छैन महादेव । तर पचास वर्षअघिको नेपाल बेग्लै थियो अरे ! गाउँमा आयस्रोतको रूपमा सीमित वस्तु बिक्री हुन्थे ।

तीमध्ये पर्थे घिउ, ऊन कातेर बनाएको कपडा, राडी, पाखी । र, चरेश र गाँजाबाट बनेका औषधि लगायतका उत्पादनहरू । मानिसहरू यी वस्तु स्थानीय बजारमा बेच्थे र घरखर्च, नुनचिनी, साबुन सोडा, मट्टितेल जस्ता दैनिक आवश्यक वस्तु किन्थे । गाँजामा प्रतिबन्धसँगै आयआर्जनको एउटा पाटै बन्द भयो ।

गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिनेहरू मदमस्त गाँजाको धुँवा उडाइरहेछन् । यो त गज्जब औषधि हो भन्छन् । तर शम्भो, तपाईं बस्ने हिमालय अवस्थित नेपालमा भने गाँजा बित्थामा बदनाम छ । गाँजा खुला गरे सबै गजेडी हुन्छन् अरे ! कत्ति न गाँजा खोल्ने उरूग्वेमा सबै गजेडी भएजस्ता ।

नेपालको एउटा ’जेनेरेसन’ ले त गाँजाको उपयोगिता देख्न पाएकै छैन । तिनको दिमागमा ’प्लानिङ’ का साथ गाँजा नराम्रो भन्ने भरिएको छ । तिनलाई ’गाँजामाथिको प्रतिबन्ध कुनै पनि हालतमा खुला गर्नु हुँदैन, खोले देश अफगानिस्तान हुन्छ’ भन्ने हावादारी गफ दिइएको छ ।

भन्न त शम्भो, ’हामीलाई जिताउनुहोस् देश सिंगापुर बन्छ, स्विट्जरल्यान्ड बनाइदिन्छौं’ भनेको यिनै कानले कैयौं पटक सुनेको छु । भन्नेले गर्दा रहेनछन् । गर्नेले अनेकथरी भन्दा रहेनछन् । तपाईंको लोकमा यस्तो हुन्छ होला कि नाइँ प्रभु ?

शम्भो ! तपाईंले त कतै पढ्न पाउनुभएको छैन होला । तर मैले गाँजाका बारेमा पढ्दा नेपालमा रोचक विगत पाएको छु ।
शिवजी आँखा चिम्म गरेर विगतलाई क्यामराको रिल झैं घुमाएर ’फ्ल्यासब्याक’ मा गएर देख्छन्– कुनै बेला पशुपति दर्शनका लागि आउने साधु बाबाहरू प्रफुल्ल छन् । शिवरात्रीमा एकादशीदेखि आठ दिनका लागि प्रतिव्यक्ति २५ देखि ३० ग्रामसम्म गाँजा सरकारका दुइटा गुठी बन्दोबस्त अड्डाले वितरण गरेको देख्छन् । ती अड्डाहरू २०२१ सालमा गाभिएर गुठी संस्थान बन्छन् । तिनले पनि शिवजीको प्रसाद भनेर गाँजा बाँडेको पाउँछन् ।

ध्यान र मोक्षको खोजीमा भौंतारिँदै अमेरिका र युरोपबाट हिप्पी बनेर युवाहरू यता आउन थालेपछि गाँजाको गतिमा अवरोध सुरू भयो । बारीमा लगाउनु पर्दैन, आफैं उम्रिन्छ गाँजा । तर प्रयोग गर्न पाइँदैन । विश्व बजारमा गाँजाजन्य औषधिको माग निकै उच्च छ, आपूर्ति गर्न पाइँदैन । सिंहदरबार वैद्यखानाले गाँजा मिसाएर थरीथरीका आयुर्वेदिक औषधि निर्माण गर्थ्यो, रोकियो ।
२०४३ सालमा स्थापना भएको पशुपति क्षेत्र विकास कोषले पनि करिब एक दशक पशुपतिमा गाँजा बाँड्यो बाबाजीलाई । पछि २०५३–५४ सालदेखि झ्याप्पै ब्रेक लगाइयो । अब त शम्भोको ‘कोर एरिया’ पशुपति परिसर पनि गाँजा निषेधित क्षेत्र भइसक्यो ।
मोक्षको खोजीमा आएका हिप्पीहरूले मोक्ष पाए कि पाएनन्, थाहा छैन । आम नेपालीले भने गाँजाबाट मोक्ष पाउने अवस्था आयो । यद्यपि औषधीय गुण भएको वनस्पति भएकाले औषधिजन्य उपयोगका लागि गाँजालाई खोल्नुपर्ने माग विश्वभर बढ्दैछ ।
फ्ल्यास–ब्याकबाट झल्याँस्स बाहिर आएका शिवजीका आँखा खुलेसँगै म पनि निद्राबाट ब्युझिँन्छु । सपनाबाट उठेर एकछिन टोलाउँछु ।
अनि मनमनै भन्छु– शम्भोले जोगाउन नसकेको गाँजा अब खै कसले जोगाउने ?

अनि मोक्षप्राप्तिका नाममा बेस्मारी गाँजा तन्काउनेहरु शिवरात्रीको यो भर्खरैको रातमा चिच्याउँदै भन्दैछन्–
जय सम्भो, गाँजा अलि कम भो !

मचाहिँ भने यहि कामना गरिरहेँ-‘पशुपतिनाथले सबैको रक्षा गरून् । ह्याप्पी शिवरात्री !’


प्रतिक्रिया दिनुहोस्