पर्यटन व्यवासयमा फकिँदै रौनक, १८९ प्रतिशतले बढे नेपाल घुम्न आउने विदेशी पर्यटक « Arthapath.com
२० चैत्र २०७९, सोमबार

पर्यटन व्यवासयमा फकिँदै रौनक, १८९ प्रतिशतले बढे नेपाल घुम्न आउने विदेशी पर्यटक



काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएको छ ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको देखिएको छ ।

तथ्याङ्क अनुसार सन् २०२३ पहिलो ३ महिनामा अर्थात् मार्च मसान्तसम्ममा नेपालमा कुल २ लाख २७ हजार ७५५ जना विदेशी पर्यटक हुन् । जुन गत वर्ष २०२२ को सोही अवधिको तुलनामा १८९ प्रतिशतले बढी हो ।

२०२२ को पहिलो ३ महिनामा अर्थात् मार्चसम्म ७८ हजार ७४७ जना मात्रै विदेशी पर्यटक नेपाल आएका थिए । साथै, २०२१ को पहिलो ३ महिनामा भने नेपालमा ३२ हजार ९९७ जना विदेशी पर्यटन आएका थिए ।

त्योअनुसार नेपालमा पछिल्लो समय विदेशी पर्यटकको संख्या बढ्दै गएको देखिन्छ । बोर्डकाअनुसार हवाई मार्गबाट सो संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सिमा क्षेत्रबाट पर्यटकको तथ्यांक भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरु सिमा क्षेत्र अर्थात् सडक (सवारी साधान) मार्फत पनि आउने गर्छन् ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पर्यटन आगमन निकै प्रभावित भएको थियो । नेपाल सरकारले आयोजना गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ समेत स्थगित गरिएको थियो । कोरोना महमारीकै कारण पछिल्लो ३ बर्ष (२०२०, २०२१ र २०२२) नेपालमा पर्यटन आगमन प्रभावित भएको थियो ।

सन् २०२३ सुरु भएपछि भने नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको बोर्डको तथ्यांकले पुष्टी गर्छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको जानकारहरु बताउछन् ।

एक महिनामै १ लाख पर्यटक

तथ्यांकअनुसार मार्चमा मात्रै झण्डै १ लाख विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत बर्षको मागको तुलनामा १३७ प्रतिशत बढी हो । गत वर्षको मार्चमा नेपालमा ४२ हजार ६ जना मात्रै विदेशी पर्यटक आएका थिए ।

२०१९ को मार्चमा १ लाख २७ हजार ३५१ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०१९ मा नेपालमा मासिक १ लाख भन्दा बढी विदेशी पर्यटक आउने गरेका थिए ।

मार्चमा भारतदेखि सबैभन्दा धेरै २५ हजार ९११ जना पर्यटक नेपाल आएका छन् । नेपाल आउने पर्यटकको भारतीय पर्यटकको हिस्सा मात्रै २६ प्रतिशत रहेको छ । दोस्रोमा अमेरिकाबाट भने ९ हजार ५५७ जना पर्यटक नेपाल आएको देखिन्छ ।

यसैगरि लन्डनबाट ६ हजार १३३, जर्मनबाट ४ हजार १४९ र श्रीलंकाबाट ३ हजार ८९८ जना, थाइलान्डबाट ३ हजार ८२९, अष्ट्रेलियाबाट ३ हजार ६३५, फ्रान्सबाट ३००९, चीनबाट ३ हजार ६३५ र दक्षिण कोरियाबाट २ हजार ६३९ जना पर्यटक नेपाल आएका छन् ।

यो वर्ष जनवरीमा ५५ हजार ७४ र फ्रेवुअरीमा ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत बर्ष जनवरीमा १६ हजार ९७५ र फेव्रुअरीमा १९ हजार ७६६ जना विदेशी पर्यटक आएका थिए ।

नेपालमा कोरोना नियन्त्रण गर्न २०७६ चैत १० गते (मार्च २०२०) बाट लकडाउन गरिएको थियो । त्यसभन्दा अघिसम्म भने नेपालमा पर्यटकको आगमन उच्च थियो । २०२० को फेव्रुअरीसम्म १ लाख ७७ हजार ८९२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।


प्रतिक्रिया दिनुहोस्