एक्लै जान डर लाग्ने ठाउँ विस्तारै पर्यकटीय गन्तव्य बन्दै, आन्तरिक पर्यटकको रोजाईमा ‘सहस्र झरना’ « Arthapath.com
२६ चैत्र २०७९, आईतवार

एक्लै जान डर लाग्ने ठाउँ विस्तारै पर्यकटीय गन्तव्य बन्दै, आन्तरिक पर्यटकको रोजाईमा ‘सहस्र झरना’



बागलुङ । केही वर्ष अघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । आफैमा गुमनाम झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोंचेका थिए न पत्याएका थिए । वर्षौंदेखि जङ्गलबीच गोलकोट कोटको मुनीदेखि छङ्छङ गर्दै झरना बगिनै रहेको थियो ।

गलकोट नगरपालिका–३ हटिया स्थित उक्त सहस्र झरना, पछिल्लो समय स्थानीय तह निर्माण सँगै पर्यटक हबको रुपमा रुपान्तरण हुँदै गएको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भने आन्तरिक पर्यटकको रोजाईमा परेको छ । पछिल्लो समय यसले चर्चा समेत बटुल्न थालेको छ । आफनो पुरानो चिनारी बदल्ने क्रममा रहेको उक्त झरना परिसरमा आवश्यक पुर्वाधार निर्माण पनि तयार छन् ।

पूर्वाधार निर्माण लगायतका कार्यले झरना अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताए । अहिले गलकोट नगरपालिकासँगै वडा नं ३ का जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा झरनाको विकासमा जोड दिईरहेका छन् ।

झरनामा पहिलो पटक तत्कालिन गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीको नेतृत्वमा वि.सं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको थियो । त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रुपमा उक्त खेल खेलाईएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भयो । सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) सुरु गरिएको निवर्तमान वडा अध्यक्ष बिरजङ्ग भण्डारीले बताए । उनले भने,–‘पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो । तर, अहिले विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ । आन्तरिक पर्यटकहरुको रोजाईमा समेत पर्न थालेको छ ।’

छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । जङ्गलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पुर्वाधार निर्माण गरि गलकोटकै महत्वपुर्ण पर्यटन सर्किटको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्य सँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले बताए ।

बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ । गलकोटको मुख्य केन्द्र हटिया बजारबाट आधा घण्टाको पैदल यात्रा र सवारी साधन मार्फत १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनाले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको आन्तरिक पर्यटक कृष्ण खत्रीको अनुभव छ ।

गलकोट नगरपालिका, वडा सरकार सँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवद्र्धन गरिरहेका छन् । युवाको सोंच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन बोहोरा क्षेत्रीले बताए ।

वडा सदस्य बोहोराले झरनामा ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केहि आवश्यक पूर्वाधार निर्माण भईसकेको र थप योजना तय गरिएको बताए । झरना परिसरमा गलकोट नगर पालिकाबाट ५ लाख रुपैयाँ रुपैयाँ विनियोजन भएको थियो । सो बजेट मार्फत पदमार्ग, विश्रामस्थल, बगैँचा लगायतका संरचना बनेका छन् । डाँडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्