विदेशी विद्यार्थी आधा घटाउने अस्ट्रेलिया सरकारको घोषणा, नेपाली विद्यार्थी बढी प्रभावित हुनसक्ने « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

विदेशी विद्यार्थी आधा घटाउने अस्ट्रेलिया सरकारको घोषणा, नेपाली विद्यार्थी बढी प्रभावित हुनसक्ने



काठमाडौं । अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थिलाई भित्र्याउने नीतिमा कडाई गर्ने भएको छ । आगामी दुई वर्षभित्र विदेशी विद्यार्थिको आप्रवासन आधा घटाउने रणनीतिमा यस प्रकारका कडाई गर्न खोजिएको हो । अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओ नीलले गत सोमबार पत्रकार सम्मलेन गरेर १० वर्षे आप्रवासन रणनीति सार्वजनिक गरेकी छिन् ।

गृहमन्त्री नीलले ‘आप्रवासीको संख्या नियन्त्रण गर्ने’ र भविष्यमा आफ्नो देश भित्रिने विदेशीको संख्या आधा कटौति गर्ने घोषणा गरिन् । अव विदेशी विद्यार्थीहरुले अस्ट्रेलिया जाँदा दिनुपर्ने अंग्रेजी भाषाको परीक्षामा कडाई गरिने भएको छ । अव अंग्रेजी भाषा परीक्षामा पहिलेभन्दा बढी स्कोर प्राप्त गर्नुपर्ने भएको छ ।

त्योभन्दा ठूलो कुरा चाहीँ अस्ट्रेलिया जान चाहने विद्यार्थिले त्यहाँ गएर थप अध्ययन गर्दा आफ्नो प्राज्ञिक उद्देश्य वा करियर अघि बढाउन कसरी सघाउँछ भनेर प्रमाणित गर्नुपर्ने शर्त अघि सारिएको छ । यसले विद्यार्थी भिसामा कमाइ गर्न पुग्ने नेपालीहरुलाई विगतमा जस्तो सहजै भिसा उपलब्ध नहुने भएको छ । मन्त्री नीलले पनि भिसा आवेदन दिने विद्यार्थीहरुमाथि ‘थप समीक्षा गर्ने’ बताएकी छिन् ।

तर ‘विशेषज्ञ’ र ‘अत्यावस्यक’ सीप भएका आप्रवासीहरुका लागि भने सजिलै स्थायी आवास अनुमति (पीआर) दिनेगरी भिसा प्रक्रियामा सुधार गरिएको छ । यसबाट स्याहारसुसारमा काम गर्ने मानिसहरु र प्रविधि क्षेत्रमा दक्ष युवाले लाभ पाउन सक्ने भएका छन् ।

गत वर्षको चुनावपछि सत्तामा आएको लेबर पार्टीको सरकारले आप्रवासनलाई कडाई गर्ने नीति अघि सारेको हो । पछिल्लो समय त्यहाँको आवास सङ्कटलाई घटाउन आप्रवासनलाई स्थायी रुपमै कम गर्नुपर्ने दबाब सरकारमाथि थियो ।

नेपाली नै हुनसक्छन् बढी प्रभावित

अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र आफ्नो देशमा वार्षिक रुपमा भित्रिने आप्रवासीको संख्या घटाएर साढे २ लाखमा झार्ने भनेको छ । तर विगततर्फ हेर्ने हो भने २०२३ को जुन महिनामा विदेशबाट ५ लाख १० हजार मानिस अस्ट्रेलिया पुगेका छन् ।

एकातिर दक्ष कामदारको अभाव हुने, अर्कातिर आप्रवासीहरुको बाक्लो उपस्थितिले आवास र पूर्वाधारको व्यवस्थापनमै समस्या उत्पन्न हुन थालेपछि अस्ट्रेलियाले यस्तो कदम उठाएको हो । अहिले अस्ट्रेलियामा साढे ६ लाख हाराहारी विदेशी विद्यार्थी अध्ययनरत रहेको सरकारी विवरण छ । त्यसमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन् ।

SHUTTERSTOCK

अर्को रोचक कुरा चाहीँ अस्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीमध्ये नेपालीको स्थान तेस्रो नम्बरमा छ । चीन र भारतपछि नेपालले बढी विद्यार्थी पठाइरहेको छ । भारतले नेपालको तुलनामा दोब्बरभन्दा कम र चीनले नेपालको साढे २ गुणा हाराहारी विद्यार्थी त्यहाँ पठाइरहेको छ । यसले जनसंख्याको आधारमा पनि नेपाली विद्यार्थीहरुको सबैभन्दा सघन बसाइसराई भइरहेको देखिएको छ ।

शीर्ष ५ मै पर्ने कोलम्बिया र भियतनाम दुई देशले मिलेर पनि नेपालको बराबर विद्यार्थी पठाएका छैनन् । यसबाट भिसामा कडाई गर्ने उक्त नीतिको सबैभन्दा ठूलो असर नेपाली विद्यार्थीहरुमा पर्नसक्ने जोखिम बढेको छ ।

एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्