पाँचतारे होटेलको संख्या १७ पुग्यो, चार ठूला होटेल परे निलम्बनमा « Arthapath.com
१७ माघ २०८०, बुधबार

पाँचतारे होटेलको संख्या १७ पुग्यो, चार ठूला होटेल परे निलम्बनमा



काठमाडौं । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् । लाजिम्पाटमा ‘दूषित प्रिन्सेस’ नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ । यस होटेलमा १०७ कोठा छन् । यसअघि नेकपा एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीस्थित भवनमा होटल अकामा सञ्चालनमा आएको छ । यो होटेलले पनि पाँच तारेको मान्यता पाएको छ । गैरआवासी नेपालीको लगानीमा सञ्चालित यो होटेलमा १०५ कोठा छन् ।

पर्यटन विभागको नियम अनुसार काठमाडौं उपत्यकामा सञ्चालित पाँचतारे होटलको न्यूनतम कोठा संख्या १०० वटा हुनुपर्छ । आकामा यसअघि ४ तारेको रुपमा सञ्चालनमा थियो भने यसपालिबाट स्तरोन्नती भएको हो ।

विभागले एउटा होटेललाई पाँचतारे डिलक्स र १६ ओटा होटेललाई पाँचतारेमा वर्गीकरण गरेको छ । झापाको धुलाबारीमा रहेको भेगस सिटी इन्टरनेनमेन्टले चलाएको होटेल मेची क्राउन एकमात्र पाँचतारे डिलक्स होटेल हो । यस होटेलमा १०१ कोठा छ ।

पाँचतारे होटेलमा सबैभन्दा ठूलो होटेल काठमाडौं बौद्धमा रहेको तरागाउँ रिजेन्सी होटेल (हायात) हो । ऊसँग २९० कोठा छन् । दोस्रो नम्बरमा रहेको सोल्टी होटेलसँग २८२ कोठा छन् । होटल एभरेस्ट हस्पिटालिटी अर्थात् काठमाडौं नक्सालको मेरियट होटेल २१५ कोठाको छ । यो वर्गीकरणमा समेटिएकामध्ये तेस्रो ठूलो होटेल हो ।

विभागले चार ठूला होटेललाई वर्गीकरणबाट निलम्बन नगरेको भए मेरियटको स्थान पाँचौं हुने थियो । पर्यटन विभागकाअनुसार बानेश्वरमा सञ्चालनमा रहेको दि एभरेष्ट होटल, दरबारमार्गको याक एण्ड यती, लाजिम्पाटको ओरियन्टल होटल (र्‍याडिसन) र उपत्यका बाहिर कास्कीमा सञ्चालन हुन नसकेको फूलबारी रिसोर्टको तारा वर्गीकरण निलम्बनमा छ ।

१६५ कोठाको फूलबारी रिसोर्ट एण्ड स्पा एक दशकभन्दा लामो समयदेखि बन्द भए पनि बाँकी तीन होटेलहरु सञ्चालनमा छन् । यसमध्ये दरबारमार्गको याक एण्ड यति होटेलमा २७० वटा, लाजिम्पाटको र्याडिसनमा २६० वटा र नयाँ बानेश्वरको एभरेस्ट होटेलमा १६० वटा कोठा छन् ।

यसपछि ठमेलको छायाँदेवी कम्प्लेक्समा सञ्चालित होटेल अलफ्टसँग १६७ कोठा छन् भने दरबारमार्गको होटेल डेला अन्नपूर्ण र ताहाचलको सिटी होटेल (हायात प्लेस) सँग समान १५३ कोठा छन् । त्यसपछि कास्कीको पोखरा ग्राण्डमा १४० कोठा छन् । बाँँकी होटेलहरु ८० देखि १०२ कोठाका छन् ।

र्‍याडिसन होटलको क्यासिनो र्‍याडले सरकारलाई तिर्नुपर्ने रोयल्टी तिर्न बाँकी भएका कारण होटेल नविकरण हुन नसक्दा विभागले उसको वर्गाीकरण पनि निलम्बन गरेको छ । यो होटल २०७९ माघमै नवीकरण गरिसक्नुपर्ने थियो । पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । पर्यटकीय सेवाका उद्योगलाई पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न पाउने सुविधा दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्