अब हट एयर बेलुनबाट ९ हजार फिटसम्म उड्न पाइने, कति लाग्छ खर्च ? « Arthapath.com
१९ माघ २०८०, शुक्रबार

अब हट एयर बेलुनबाट ९ हजार फिटसम्म उड्न पाइने, कति लाग्छ खर्च ?



काठमाडौं । अबदेखि हट एयर बेलुनबाट ९ हजार फिटको उचाइसम्म उडान भर्न पाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालैमात्र बेलुन उड्न पाउने उचाइको सीमा ३ गुणा बढाउने निर्णय गरेको बेलुन नेपालले जनाएको छ । यो कम्पनी नेपालमा हट एयर बेलुनमा राखेर यात्रु उडाउने एकमात्र कम्पनी हो । उसले पोखरा क्षेत्रमा उडान भर्दै आएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्री स्तरीय निर्णय भएको कम्पनीले उल्लेख गरेको छ । यसअघि जमीनको सतहबाट ३ हजार मिटरसम्मको उचाइमा मात्रै बेलुनमार्फत् उडान भर्न पाइने सुविधा थियो । बेलुनको उचाइ बढाइएसँगै अब अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र सूर्योदय तथा सूर्यास्तका दृष्यहरु अझ स्पष्ट र आकर्षक रुपमा देख्न सकिने भएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिएका छन् ।

उडान स्थलको प्राविधिक जाँच एवम् हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा यस प्रकारको साहसिक पर्यटन सेवा दिँदै आएको छ ।

तातो हावाले भरिएको २१ मिटर अग्लो बेलुनको तल्लो (मुखतिरको) भागमा ३२ वर्ग मिटर ब्यासको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सकिन्छ । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझको समय हट एयर बेलुन उडाइने गरेको छ । यसबाट सूर्योदय र सूर्यास्तका दृष्यहरुसमेत देखाइन्छ । बेलुनमा सवार यात्रुले टाढाका दृश्य हेर्नका लागि दूरबिन पनि साथमै लान सकिने व्यवस्था छ ।

एक लटमा यात्रा गर्ने यात्रुले ३० देखि ४० मिनेटसम्म आकाशमा उडान भर्न सक्ने छन् । यी यात्रुको प्रतिव्यक्ति २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको छ । यसका लागि नेपाली नागरिकले प्रतिव्यक्ति ९ जहार ५ सय रुपैयाँ तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकाको लागि प्रतिव्यक्ति ५ हजार शुल्क तोकिएको छ । भारतीय, अन्य सार्क राष्ट्र र त्यस बाहेकका विदेशी नागरिकका लागि भिन्नभिन्न शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक दिन विहान सूर्योदय हेर्नका लाई दुई पटक र साँझ सूर्यास्त हेर्नका लागि दुई पटक गरेर दिनमा कुल ४ पटक उडान भर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्