बीबी एयरवेजले फेरि अन्तरराष्ट्रिय उडान थाल्ने, तीन विमान ल्याउन पायो अनुमति « Arthapath.com
५ चैत्र २०८०, सोमबार

बीबी एयरवेजले फेरि अन्तरराष्ट्रिय उडान थाल्ने, तीन विमान ल्याउन पायो अनुमति



काठमाडौं । २०६८ सालमा स्थापना भएर २०६९ मा बन्द भएको बीबी एयरवेजले पुनः अन्तरराष्ट्रिय उडान भर्ने भएको छ । कम्पनीले नेपालमा तीन वटा ‘न्यारो बडी’ विमान ल्याएर सञ्चालन गर्ने अनुमति पाएको छ ।

सो कम्पनीले यसअघि २८ भदौ २०६९ मा उडान सुरु गरेको थियो । त्यसबेला दोहा, क्वालालम्पुर, सिङ्गापुर, ब्याङ्कक, जापान, बम्बई र नयाँ दिल्लीजस्ता गन्तव्यमा उडान भर्ने भन्दै सेवा सुरु गरिएको थियो । तर दुई महिनापछि कात्तिकमै उडान बन्द भयो ।

त्यसपछि थला परेको यो कम्पनी यत्तिकै थन्किएको थियो । तर पछिल्लो एक वर्षदेखि कम्पनीले पुनः उडान सुरु गर्ने योजना अघि बढाएको थियो । नेपालमा पर्यटन पूर्वाधारको विकासले रफ्तार लिएसँगै अन्तरराष्ट्रिय उडानका लागि कम्पनीले भविष्य देख्न थालेको छ ।

तर यसपल्ट एयरलाइन्सले विमान भने फेर्ने भएको छ । १२ वर्षअघि कम्बोडियाको तुन्लेसाब एयरलाइन्ससँग ‘बोइङ ७५७–२००’ सिरिजको एउटा जहाज ल्याएर उडान भरिएको थियो । तर अब भने एयरबस ए ३२० जहाज ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

पछिल्ला वर्षमा बोइङको सुरक्षा चिन्ताहरुलाई लिएर संसारभर नै विश्वसनीयता कमजोर हुन थालेपछि कम्पनीले लाइसेन्समै फ्लिट (विमान)को प्रकार बदलेर पुनः उडान सुरु गर्न लागेको हो । २६ फागुन २०७५ मा इथियोपियन एयरलाइन्सको ‘बोइङ ७३७ म्याक्स’ विमान दुर्घटना भएपछि उक्त अमेरिकी जहाज निर्माता कम्पनीप्रतिको विस्वसनीयता कमजोर हुन थालेको थियो ।

सोही कारण बोइङमा सवार हुन कतिपय यात्रुले त्रास महसुस गर्न थालेका छन् । यही कारण फ्रान्सेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज सञ्चालन गर्ने कोसिस बीबी एयरवेजले गरेको छ । उसले पाँच वटा विमान ल्याएर सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो ।

तर प्राधिकरणले सुरुमा तीन वटामात्रै विमान ल्याउन अनुमति दिएको छ । कम्पनीले भने पहिलो चरणमा दुई वटा विमान ल्याएर उडान सुरु गर्ने भनेको छ ।

यो कम्पनी गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टको हो । उनी जापानमा व्यवसाय गर्ने नेपाली हुन् । हालैका वर्षमा उनी ओशो तपोवनतिर पनि बाक्लै देखापर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्