आज अन्तरराष्ट्रिय योग दिवस : के हो योग ? « Arthapath.com
७ असार २०८१, शुक्रबार

आज अन्तरराष्ट्रिय योग दिवस : के हो योग ?



काठमाडौँ । ‘योग’को सामान्य अर्थ दुई सत्ता वा दुई अस्तित्व आपसमा समाहित हुनु हो । अर्थात् जोड्नु । अध्यात्ममा योगको अर्थ भौतिक वस्तुको जोड होइन । यो चेतनालाई जोड्ने विषय हो ।

पूर्वीय हिन्दु सभ्यतामा भौतिकतालाई भ्रम र क्षणभंगुर मानिन्छ भने चेतनालाई सनातन र अक्षुण मानिन्छ । त्यही चेतनाको बृहत स्वरुपलाई भनिन्छ, ‘परमात्मा’ ।

आजको विज्ञानले पृथ्वीमा ८० लाखदेखि १ करोड हाराहारी प्रजाती (प्राणी तथा वनस्पती आदी) रहेको अनुमान गरेको छ । हिन्दु शास्त्रले ८४ लाख योनी (प्रजाती) रहेको यकिन गरेको छ । अध्यात्मले यी सबैलाई एकै परमात्माको अंश मान्दछ ।

जसरी धर्तिको ७० प्रतिशतभन्दा ज्यादा सतह ढाकेको महासागर द्वारा नै हजारौँ नदी नालाको अस्तित्व कायम छ, त्यसरी नै समस्त चेतनाको महाकाश परमात्माकै अंशको रुपमा हामी लाखौँ प्रजाति अस्तित्वमा छौँ ।

यही सुक्ष्म आत्मालाई बृहत्तर परमात्मासँग जोड्ने अध्यास चाहीँ ध्यान हो । श्रीमद्भागवत गीताले ज्ञान, कर्म, भक्ति र राजयोगको चर्चा गरेको छ । अष्टावक्र गीतामा सीधा समाधीको मतलाई बढी महत्व दिइएको छ । यी सबै ध्यानसँग गाँसिएका छन् ।

त्रान, कर्म वा भक्ति जुनसुकै बाटोबाट भए पनि ज्योतिर्मय परमात्मासँग एकाकार हुने विधी नै योग हो । तसर्थ योग भौतिक विज्ञानभन्दा भिन्न छ । यो चेतनाको स्तरमा काम गर्ने पद्धति हो ।

यद्यपि, योगमा पनि विभिन्न शारीरिक आशनको वर्णन गरिन्छ । यसको औचित्य परमात्मासँग सहज तादात्म्य तयार पार्नु हो । जसरी भौतिक विज्ञानमा विद्युत् चुम्बकीय विकिरणको सहायताले विभिन्न काम हुन्छ । उदाहरणका लागि हामीले मोबाइल चलाउँदा टावरसँग प्रत्यक्ष तादात्म्य भयो भने राम्रोसँग कुरा बुझिन्छ । तर टावरको फ्रिक्वेन्सी नटिप्ने स्थानमा वा कामजोर भएको ठाउँमा कुरा बुझिँदैन ।

गाउँघरमा डिसहोम टीभी राख्नेहरुलाई राम्रोसँग थाहा छ, स्याटेलाइट र रिसिभिङ एन्टेनाबीच सही दिसा मिलेन भने टीभी सफा आउँदैन । आकाशमा भएको एउटै स्याटेलाइटले धर्तिका हजारौँ घरका एन्टेनालाई फ्रिक्वेन्सी फाल्छ । यस्ता फ्रीक्वेन्सी समात्न धर्तिमा एन्टेनाहरु स्याटेलाइटको दिसामा फर्काइएका हुन्छन् ।

त्यसैगरी ब्रह्माण्डीय ऊर्जासँग तादात्म्य मिलाउन विभिन्न ज्योमितीय आकृतिमा आसनहरुको खोज ऋषिमुनीले गरेका छन् । योगमा ती आसनको औचित्य ब्यायाम नभएर परमात्मासँगको तादात्म्य मिलाउने प्रणालीका निम्ति लक्षित हुन्छ ।

भलै अचेल योगका नाममा ब्यायामलाई बढी जोड दिने गरेको पनि पाइन्छ । त्यो वास्तवमा योग होइन ।

भारतवर्षमा योगका प्रणेता भनेर ऋषि पतञ्जलीलाई भनिन्छ । उनले अष्टाङ्ग योगको प्रतिपादन गरेका थिए । त्यसरी योगको आठ चरणलाई ‘यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारण, ध्यान र समाधी’ भनेर परिभाषित गरेका छन् ।

तर योगीहरु हठयोगका प्रणेता गोरखनाथलाई महान् गुरु मान्छन् । उनले योगका निकै कठीन आसनहरु प्रतिपादन गरेको र ध्यान तथा योगका सबै बाटोहरु खोलेको बताउँछन् । कयौँ हिन्दु दार्शनिक, रामआदि भगवान र ऋषिमुनीको चरम विरोध गर्ने दार्शनिक रजनीश ओशो पनि गोरखनाथको ठूलो प्रचारक थिए ।

हिन्दुमात्रै होइन, भारतीय उपमहाद्वीपमा विकास भएका बैद्ध, जैनआदी सम्प्रदायमा पनि ध्यान र योगको ठूलो वर्णन पाइन्छ । तर योगको बहुआयामिक अभ्यास हिन्दु सनातन संस्कृतिमै निहित छ ।

हालैका वर्षमा संसारभर भौतिक विकासका साथै आएका कयौँ नकारात्मक प्रभावहरुले बहुसंख्यक मानिसलाई चरम तनावमा पार्न थालेको छ । यस्तो तनावबाट क्षणिक रुपमै भए पनि मुक्त हुने र कार्यसम्पादनलाई सहज बनाउने दिसामा योगको आम प्रचार हुन थालेको छ ।

यही कारण सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय योग दिवस मनाउन थालेको थियो । आज शुक्रबार सोही दिवसको दशौँ संस्करण हो ।


प्रतिक्रिया दिनुहोस्