‘अफसिजन’ मा पनि ११ प्रतिशत बढ्यो पर्यटक आगमन, ७ महिनामै नेपाल भित्रिए साढे ६ लाख विदेशी « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

‘अफसिजन’ मा पनि ११ प्रतिशत बढ्यो पर्यटक आगमन, ७ महिनामै नेपाल भित्रिए साढे ६ लाख विदेशी



काठमाडौं । पर्यटक आगमनका लागि अफ सिजन मानिने जुलाईमा पनि ६४ हजार बढी विदेशीले नेपाल घुमेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जुलाईमा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल घुमेका हुन् । यो हवाई मार्गबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको मात्रै संख्या हो । यो गत वर्ष सन् २०२३ को जुलाईको तुलनामा भने ११.९ प्रतिशत बढी हो । यो सगत वर्षको सोही महिनामा भने विश्वका विभिन्न मुलुकहरुबाट ५७ हजार ७२६ जनाले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२४ को जनवरीदेखि जुलाई अर्थात् सात महिनाको अवधिमा भने कुल ६ लाख ४५ हजार ६१५ जना विदेशी पर्यटकले नेपाल घुमेका छन् । नेपालमा औसतमा ९२ हजार पर्यटक आउने गरेको बोर्डले जनाएको छ । तर, अहिले अफसिजन भएकाले औसत भन्दा कम आउन थालेका छन् । गत जुन महिनामा पनि ७६ हजार ७३६ जना नेपाल घुम्न आएका थिए । बोर्डका अनुसार अघिल्लो मे महिनामा ९० हजार २११ जनाले नेपाल भ्रमण गरेका छन् । त्यसभन्दा अघिल्ला केही महिनामा भने मासिक १ लाख नाघेको थियो ।

नेपालमा विदेशी पर्यटक आगमनका लागि अक्टोबरदेखि मार्चसम्मलाई मुख्य सिजन मानिन्छ । सोही महिनामा औसत भन्दा धेरे नै विदेशीहरु नेपाल घुम्न आउने गर्छन् । तर, मे महिनापछि भने तुलनात्मक रुपमा कम संख्या पर्यटक आउने गरेको बोर्डले जनाएको छ। गत मार्च महिनामा यो वर्षकै उच्च १ लाख २८ हजार १६७ जना विदेशी नेपाल भ्रमणमा आएका थिए ।

यस्तै, अप्रिलमा पनि १ लाख ११ हजार ३७६ जनाले नेपाल घुमेका थिए । यो वर्षको पहिलो महिना (जनवरी) मा ७९ हजार १०० र दोस्रो महिना (फेब्रुअरी) मा ९७ हजार ४२६ पर्यटक आएका थिए । गत वर्ष नै नेपालमा १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटकले नेपाल घुमेका छन् ।

नेपाल घुम्न जुलाई महिनामा कुन देशबाट कति आए ?

नेपालमा घुम्न आउने सबैभन्दा धेरै भारतीय नागरिकहरु नै छन् । जुलाईमा पनि भारतबाट २१ हजार ४९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

भारतपछि अमेरिकाबाट धेरै आउने गरेका छन् । एक महिनामा अमेरिकाबाट ७ हजार ८६४ जना नेपाल घुम्न आएका छन् ।

यस्तै, चीनबाट ६ हजार ८१९ जना, बेलायतबाट ३ हजार ८०६ जना, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट १ हजार ९०१, दक्षिण कोरियाबाट १ हजार ५३७, भुटानबाट १ हजार २०७, मलेशियाबाट १ हजार १२५ र जापानबाट १ हजार ११४ जना पर्यटक नेपाल घुम्न आएका छन् ।


प्रतिक्रिया दिनुहोस्