पर्यटकीय राजधानी घोषणा भएसँगै किन रित्तियो पोखरा ?
काठमाडौँ । आइतबारमात्रै श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकटी फ्रि’ भन्ने योजना ल्यायो । यस योजना अनुुसार भदौ २३ देखि असोज ४ गतेसम्म काठमाडौंबाट पोखरा वा पोखराबाट काठमाडौँ यात्रा गर्ने ग्राहकले १४ असोजसम्म प्रयोग गर्न पाउने गरी अर्को एउटा टिकट निःशुल्क पाउने छन् ।
अहिले हवाई मार्गबाट यात्रा गर्ने ग्राहकको संख्या भारी कटौति भएपछि कम्पनीले यस प्रकारको ‘अफर’ सार्वजनिक गरेको छ । ‘एउटा टीसर्ट किन्दा अर्को फ्रि’ भन्ने किसिमको यस्तो अफर विमान कम्पनीहरुले सार्वजनिक गर्न छाडेको निकै लामो समय भएको थियो ।
पछिल्ला हवाई दुर्घटनाहरुले विमान चढेर पोखरा–काठमाडौँ यात्रा गर्नेहरुलाई झस्काएको छ । यसको असर केवल हवाइ क्षेत्रमा मात्रै होइन, संघीय सरकारले पर्यटन राजधानी घोषणा गरेको पोखरा र त्यस वरपरका कयौं पर्यटकीय गन्तव्यहरुले व्यहोर्नु परिरेको छ ।
रित्तिएको पोखरा
गएको चैत ४ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका थिए । यसका साथै त्यस क्षेत्रको बजारलाई २४ सै घण्टा सञ्चालन गर्ने अनुमति दिइएको थियो । यसले कोभिडदेखि नै मुर्झाएको पर्यटन व्यवसायमा नयाँ तरंग ल्याउने विस्वास गरिएको थियो ।
गण्डकीको पर्यटन क्षेत्रमा ६ अर्बभन्दा धेरै लगानी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिएका छन् । यति ठूलो लगानी र सरकारी घोषणाका बावजुद अहिले पोखरा ‘रित्तो’ देखिएको छ । ‘पहिलेदेखि नै सडक मार्ग निकै खराब हालतमा थियो । हालसालै भएका हवाई दुर्घटनाहरुले पोखरा जाने आन्तरिक पर्यटकलाई ठप्पै पारेको देखिएको छ’, नेपाल चेम्बर अफ कमर्शका केद्रीय उपाध्यक्ष सन्तोषकुमार पाण्डेले भने ।
पाण्डेका अनुसार अहिले पोखराका पर्यटन व्यवसायीलाई सञ्चालन खर्च धान्न पनि धौधौको स्थिति छ । सरकारले पर्यटकीय राजधानी घोषणा गरे पनि आवस्यक पूर्वाधार निर्माणमा ध्यान नदिँदा निजी क्षेत्रको ठूलो लगानी जोखिममा परेको छ । कोभीडदेखि नै थलिएको पोखराको पर्यटनले केही आशा जगाउनै लागेका बेला यस्ता नकारात्मक खबरहरु प्रसार भएको प्रति उनले दुःख व्यक्त गरे ।
‘अहिले पोखराका थुप्रै पर्यटन व्यवसायीलाई कर्मचारी पाल्न, व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्न संभावना नै नहुने अवस्था आएको छ’, पाण्डे भन्छन्, ‘कतिपय व्यवसायी त पलायन हुने स्थितिमा पुग्न थालेको देखिन्छ ।’ राज्यले कुनै ठोस योजना अघि नसार्ने हो भने पर्यटकीय राजधानीको भविष्य अन्धकारमा धकेलिनसक्ने उनले बताए ।
चर्को प्रतिस्पर्धा
होटेल एशोसियसन नेपालको गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैरेका अनुसार अहिले पोखराका होटेलहरुले जति पर्यटक राख्न सक्छ, त्योको १० प्रतिशतमात्रै ग्राहक पाइरहेका छन् । उनका अनुसार बर्खाको मौसममा अरु बेला पनि पर्यटकको संख्या त कम हुन्थ्यो, तर यति कम्ता हुँदैन थियो ।
‘विगतका वर्षमा २५ देखि ३० प्रतिशत अक्युपेन्सी हुन्थ्यो । त्यसले सञ्चालन खर्च धान्न पुग्थ्यो’ गैरे भन्छन्, ‘तर यो साल पर्यटकको संख्या ज्यादै घटेपछि कर्मचारीलाई तलब दिन पनि समस्या पर्न थालेको छ ।’
पर्यटकको संख्या निकै कम भएपछि अहिले होटेलहरु ‘मूल्य युद्ध’ (प्राइस वार)मा उत्रिएको व्यवसायी बताउँछन् । ‘ठ्याक्कै कति प्रतिशत मूल्य घटेको छ भनेर यकिन गर्न सकिँदैन । तर अहिले सबै कुरा भद्रगोल भएको छ । अस्वस्थ प्रतिस्पर्धा बढेको छ’, अध्यक्ष गैरे भन्छन् ।
कर्मचारीलाई तलब पनि दिन नसक्ने अवस्था आएपछि होटेलहरु सकेसम्म सस्तो भाउमा कोठा बेचेरै भए पनि ग्राहक नउम्काउने रणनीतिमा देखिएको उनी बताउँछन् ।
नकारात्मक प्रचारको परिणम!
यही भदौ ७ मा तनहुँको आँबुखैरेनी–२ ऐना पहराबाट भारतीय बस मस्र्याङ्दी नदीमा खसेको थियो । भारतको महाराष्ट्र राज्यको जलगाउँबाट आएका तीर्थयात्री सवार उक्त बसमा ४१ जना यात्रु थिए । आफ्नो गाउँबाट करीब १६०० किलोमिटर टाढा पुगेर २७ जनाले ज्यान गुमाएपछि उक्त भारतीय गाउँ नै शोकमा डुबेको थियो ।
त्यसअघि २८ असारको सबेरै नारायणगढ–मुग्लिङ सडक खण्डको सीमलतालमा दुई वटा बस नै त्रिशूलीमा खसेर बेपत्ता भए । ती बसमा ६२ जना यात्रु रहेको अनुमान प्रहरीले गरेको छ । लामो समय बित्दा अहिलेसम्म ती बसहरु र अधिकांश यात्रुको बेपत्ता छन् ।
यी दुई घातक सडक दुर्घटनाहरुको बीचमा गत साउन ९ मा त्रिभुवन विमानस्थलमै सौर्य एयरको जहाज दुर्घटना भयो । ‘सी–चेक’का लागि भनेर पोखरा उडेको विमानमा सौर्य एयरलाइन्सकै इञ्जिनियर र प्राविधिकहरु थिए । दुर्घटनामा पाइलट बाहेक १८ जना यात्रुले ज्यान गुमाए ।
पछिल्ला ५ वर्षमा चार वटा ‘मल्टिइञ्जिन’ विमानहरुको दुर्घटना हुँदा ३ वटा ‘पोखरा रूट’का थिए । २०७९ माघ १ मा नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।
२०७९ जेठ १५ मा तारा एयरको ट्विनअटर विमान पनि पोखराबाट जोमसोमका लागि उडेको थियो । तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।
यस प्रकारले सडक र हवाई मार्ग पनि ‘असुरक्षित’ रहेको सन्देश ब्यापक मात्रामा प्रवाह भएको पर्यटन व्यवसायी गैरे बताउँछन् । ‘हामीले गरेका राम्रा काम र राम्रा प्रयासको चर्चा हुँदैन । तर यस्ता नकारात्मक खबरहरु चाहिनेभन्दा ज्यादा प्रचार भए’, उनी भन्छन्, ‘यसले पर्यटकलाई त्रसित बनाएको छ ।’
मुलतः वर्षातको समयमा पोखराको पर्यटन भारतीय पर्यटकका कारण जीवन्त रहँदै आएको थियो । तर पछिल्ला दुर्घटनाहरुले भारतमा पनि त्रासदीपूर्ण अवस्था सिर्जना भएको उनी ठान्छन् । ‘हामीले पनि २–३ वर्षदेखि भारतमा पोखराको प्रचार पहिलेजसरी गर्न सकेका छैनौँ । सरकारले पनि प्रवद्र्धनात्मक र कूटनीतिक दुबै बाटोबाट प्रभावकारी पहल गर्न सकेको छैन’, उनी भन्छन् ।
‘अफर होइन, सुरक्षाको प्रत्याभूति’
पर्यटन व्यवसायीहरु अहिलेको अवस्थामा पोखराको यात्रा कति सुरक्षित छ भन्नेबारे मानिसहरु बढी सतर्क देखिएको बताउँछन् । यसका निम्ति सरकार, नियामक र हवाई सेवा प्रदायकहरुले पनि सुरक्षाको प्रत्याभूति दिनमा ध्यान केन्द्रित गर्नुपर्ने गैरेको बुझाइ छ ।
‘मानिसहरुलाई भाडा तिर्न समस्या होइन, सुरक्षाको चिन्ता छ’ उनले भने । हवाई कम्पनीहरु र स्थल यातायात कम्पनीहरुले पनि सामाजिक सञ्जाल लगायत सार्वजनिक मञ्चहरुबाट ‘सुरक्षाबारे आस्वस्त’ पार्नुपर्ने उनी बताउँछन् । ‘नियामकलाई चिठी लेखेर मात्रै भएन, सार्वजनिक रुपमा सुरक्षाको प्रत्याभूति दिनु पर्यो । त्यसप्रति विस्वास गर्ने आधार पनि तयार पार्नु पर्यो’, उनी भन्छन् ।
उनले सडक मार्गबाट पोखरा जाने बाटो पनि अधिकांश हिस्सा बनिसकेको बताए । ‘अहिलेसम्म ६५ प्रतिशत बाटो राम्रो भइसकेको छ । अब ३५ प्रतिशतको काम भइरहेको छ’, गैरे भन्छन्, ‘सरकारले भर्खरैमात्र १ वर्ष समय थप गरेर बाँकी काम टुंग्याउन निर्देशन दिएको छ, यो स्वागतयोग्य कदम हो ।’
पर्यटकीय राजधानी पुग्ने पहूँचलाई सर्वसुलभ र सुरक्षित बनाउन सरकार र सबै सम्बद्ध पक्षले मिलेर काम गर्नुपर्ने व्यवसायीको बुझाइ छ । त्यसो गर्न नसके देशको मुख्य आम्दानीको स्रोत ठानिएको पर्यटन क्षेत्र नै धरासायी हुनसक्ने चेतावनी उनीहरुले दिएका छन् ।