कहिलेसम्म नि:शुल्क चढ्न पाइन्छ धरहरा ?
काठमाडौं । संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो ।
मन्त्रालयले शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहराको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।
धरहरा चढ्नका लागि बिहीबार बिहानदेखि नै सर्वसाधारणको बाक्लो भिडभाड लागेको छ । एक दिनमा ६०० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । त्यसमध्ये १०० कोटा वृद्ध, अशक्त, अपाङ्गता रहेकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टामा १०० जनाले धरहरा चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
केही दिनका लागि निःशुल्क चढन पाइने व्यवस्था गरिने भएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।
निःशुल्क प्रवेश गर्न भने dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्नु पर्नेछ । वेबसाइट नखुलेको अवस्थामा भने अवलोकन गर्न जानेले काउन्टरमा नै गएर टिकट लिनुपर्नेछ । यस्तै, वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन पनि पाइनेछ ।