दशैं बिदामा कहाँ कहाँ घुम्ने ? यी हुन् सक्छन् उपयुक्त पर्यटकीय गन्तव्यहरु « Arthapath.com
१९ आश्विन २०८१, शनिबार

दशैं बिदामा कहाँ कहाँ घुम्ने ? यी हुन् सक्छन् उपयुक्त पर्यटकीय गन्तव्यहरु



काठमाडौं । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं मुखैमा छ । दशैंको बेलामा अन्य सिजन भन्दा अलि धेरै लामो बिदा हुने गर्छ । यो सिजनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई पनि निश्चित बिदा हुने गर्दछ ।

बिदा लामो हुने भएपछि मानिसको आ–आफ्नै योजनाहरु बनाएका छन् । विशेष गरि दशैं बिदामा सबैभन्दा राम्रो र रमाइलो सदुपयोग भनेको घुमफिर नै हो । जुन पछिल्लो समय नेपालमा निकै प्रचलित भएको छ ।

बिदा लामो हुने र मौसम पनि अनुकुल हुने भएकाले अधिकांशको योजना घुमघाम नै हुन्छ । आफ्नो घर, परिवार र साथीभाईहरु मिलेर घुम्नुमा अर्को आनन्द छ, त्यो घुम्नेहरुलाई मात्र थाहा हुनसक्छ ।

तपाई पनि यसपालीको दशैं बिदा सदुपयोगका लागि घुमफिर गर्ने योजना बनाउनु भएको छ र कहाँ जाने ? कसरी जाने भनेर अन्योलमा हुनुहुन्छ भने हामीले तपाइँका यस्तै अन्यौल वा कौतुहलता मेटाउन नेपालका घुम्नलायक केही महत्वपूर्ण ठाउँहरुको बारेमा जानकारी गराएका छौं । यात्रामा रमाउन चाहनेहरुलाई सहज होस् भनेर नै विभिन्न रमणीय र पर्याटकीय स्थलहरुको बारेमा वर्णन गरिएको छ ।

पोखरा

सफा र शान्त वातावरण भएको सुन्दर शहर भन्नेबित्तिकै हामी सबैलाई पोखराको सम्झना आँउछ । एक पटक गएपछि त झन अर्को पटक घुम्न कहाँ जाने भन्दा पोखरा नै जाने भन्न मन लाग्छ । नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य नै पोखरा मानिन्छ । पोखरा गण्डकी प्रदेशको मुख्य राजधनी पनि हो ।

४६४.२४ वर्ग किलोमिटरमा फैलिएको पोखरा घुमघामको एउटा पूर्ण प्याकेज बनाउन सकिन्छ । प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ, लेक साईड को चिसो चिसो मौसम, माझी कनाको र्विसनै नसकिने माछाको स्वाद । विन्दावासिनी बाट देखिने सेता टलक्क टल्केका हिमाल । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । तपाई आफ्नो इच्छाअनुसार पाँच तारे होटलदेखि सामान्य लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको पोखरा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ ।

लुम्बिनी

दशैं बिदामा पुग्नै पर्ने अर्को गन्तव्य हो लुम्बिनी । बुद्धको जन्मस्थान , धार्मिक र ऐतिहासिक महत्वले भरिएको ठाउँ हो । लुम्बिनीको शान्त वातावरणमा बुद्धका विभिन्न स्तूपहरू, माया देवी मन्दिर, र विश्व सम्पदा सूचीमा सूचीकृत बगैंचाको अवलोकन गर्न सकिन्छ । विशेषतः लुम्बिनीमा ध्यान र योग जस्ता आध्यात्मिक अभ्यासमा समय बिताउन धेरै पर्यटक पुग्ने गरेका छन् । मानसिक शान्ति प्राप्न गर्न लुम्बिनी पनि जान सकिनेछ ।

सौराहा

दशैं बिदामा घुम्न जानेहरुका लागि अर्को आकर्षक गन्तव्य मध्ये चितवन सौराहा हो । नेपालको आर्कषक पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहा चिवतन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । सौराहा क्षेत्र वनजंगलल भरिएको छ ।

चितवनको सौराहा, मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरणा लगायतका रमणीय स्थलहरु अवलोकन गर्नका लागि चितवनमा पर्यटकको घुँइचो लाग्ने गर्छन् । हात्ती चढेर जंगल घुम्न पाउनु, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आर्कषण हुन् । यस क्षेत्रमा थारु सँस्कृतिको नाच हेर्न पाइन्छ । खाना, बस्नका लागि प्रशस्त सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

इलाम

इलामको पूर्वमा दार्जीलिङ, पश्चिममा धनकुटा, उत्तरमा पाँचथर तथा दक्षिणमा झापा जिल्लासँग जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचुुर सम्भावना रहेको इलाम जिल्ला प्राकृतिक सुन्दरता, भौगोलिक बनावट तथा हावापानीले पहाडकी रानीका रूपमा पनि चिनिन्छ । यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, रहनसहन, रीतिरिवाज, कला, संस्कृतिसँग रमाउन धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

विकास–निर्माणका कार्यहरूले त्यति तीव्रता नपाए पनि नेपालका अरू पहाडी जिल्लाभन्दा यो जिल्लम सुगम नै मानिन्छ । धार्मिक तथा पर्यटकीय हिसाबले सानो पाथीभरा, कन्याम, श्रीअन्तुु, माईपोखरी, इलाम बजार, सन्दकपुर, गजुर्मुुखी, सिद्धिथुम्का आदि स्थानहरू प्रसिद्ध छन् । यी ठाउँहरूले घुम्न आउने लाखौं पर्यटकको मन लोभ्याउने गर्छ । छिन–छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेका लागि यो ठाँउ निकै राम्रो मानिन्छ । इलाम घुम्नका लागि विभिन्न ट्राभल्स एजन्सीहरुले सस्तो मूल्यको प्याकेज पनि बनाएको हुन्छन् । न्युनत साढे ९ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका प्याकेजमा इलाल घुमाउने उनीहरुको प्याकेज छ ।

पाथीभरा

ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात छ । पाथीभरादेवी समुद्री सतहबाट ३ हजार ७९४ मिटरमा उचाइमा रहेको छ । विश्वको तेस्रो अग्लो हिमाल लगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो । पाथिभरा मन्दिरबाट कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, ल्होत्से हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।

पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ । दशैंको बेला (असोज कात्तिक) मौसम सफा हुने भएकाले पनि पाथीभराको दर्शन र हिमाल हेर्ने उपयुक्त समय हो ।

खप्तड

विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका मुख्य आर्कषणको केन्द्र हो । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।

खप्तडका २२ वटा पाटन र ५३ वटा थुम्काहरूहरुले खप्तडलाई स्वर्ग बनाएको छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो पनि फरक नपर्ला ।

काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ । डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

रारा

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल मुगु जिल्लामा रहेको छ । समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ ।सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ ।

काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

मुक्तिनाथ

हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् । वि।सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ ।

मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दाँयापट्टि उभिएको लक्ष्मीको मूर्ति र बाँयापट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदिपर्वहरु महत्वपूर्ण मानिन्छन्। यसका अलवा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।

जोमसोम अर्थात मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख शहरहरुबाट सजिलै गाडिहरु पाउने गर्दछ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथ सम्मको गाडि पाईन्छ । यदि तपाई काठमाडौँ तथा अन्य जिल्लाहरुबाट मुक्तिनाथ दर्शन तथा घुम्न जादै हुनुहुन्छ भने भाडाको गाडि चढेर पुग्न सस्तो पर्दछ । देशका विभिन्न शहरहरुबाट गाडि चढ्नुहोस् र पोखरा वा म्याग्दीको बेनी पुग्नुहोस् र बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जीप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा टिकट पाउन अलि गाह्रो पर्दछ । यदि तपाईले टिकट पाउनुभएन भने बेनीबाट मुस्ताङको घाँसासम्म पुग्नुहोस् र त्यहाँबाट जोमसोमको बस पाइन्छ । जोमसोम पुगेपछि कागबेनी मुक्तिनाथसम्म सजिलै बस जीप पाइन्छ । यदि तपाई माथिल्लो मुस्ताङ पनि घुम्ने योजना बनाउनुभएको छ भने कागबेनीबाट छुसाङको गाडि चढ्नुुहोस् र त्यहाँबाट लोमान्थाङसम्म जीपको यात्रा गरेर पुग्नुहोस् ।

पून हिल

अन्नपूर्ण र धवलागिरी हिमाल हेर्न सबैभन्दा उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । यहाँ स्वदेशीभन्दा बिदेशी पर्यटकहरु बढी पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि चहलपहल बढिरहेको छ ।

नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । यस पदयात्रामा खाने बस्ने राम्रो सुविधा छ । अत्यधिक मात्रामा पर्यटक जाने भएकाले होटलहरुमा अग्रिम बुकिङ्ग गर्नुपर्छ । पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ । यसरी पाँच दिनको प्याकेज बनाउनु भयो भने १० देखि २० हजार खर्च लाग्छ ।

यी बाहेका पनि नेपालका विभिन्न उत्कृष्ट ठाउँहरु घुम्न लायक छन् । धनकुटा जिल्लामा पर्ने भेडेटार पनि एउटा गन्तव्य हो । समुन्द्री सतहबाट १ हजार ४३० मिटर उचाईमा रहको छ । भेडेटारमा निर्मित भ्युटावराबाट विभिन्न मनोरम दृश्य अवलोकन गर्न पाइनेछन् । सप्तकोशीको मनोरम दृश्य, तराईका केही फाँटहरु पनि देख्न सकिनेछ । झन् मकालु, कञ्चनजंघा, कुम्भकर्ण जस्तो हिमश्रृंखलाहरुले त मनै लोभ्याउने गरेको छ । बस्नका लागि पनि राम्रै सुविधाहरु छन् ।

यता, तनहुँ जिल्लामा पर्ने बन्दीपुरमा पनि अर्को उत्कृष्ट गन्तव्य हो । इतिहास र प्रकृतिको संगम थलो मानिन्छ । बन्दीपुर बजार छेउको टुँडिखेलबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ लगायतका हिमशृंखला देखिन्छ । शहरको कोलाहाल र धुवाधुलोबाट केही दिन पनि छुटकारा पाउनका लािग बन्दीपुर पुग्नै पर्ने पर्यटकीय गन्तव्य हो । यो पहाडकी रानी नामले स्वदेशी तथा विदेशी पर्यटकहरुमा चर्चित पनि छ ।

यस्तै, धार्मिक गन्तव्यको रुपमा परिचित स्वर्गद्वारी, दोलखाको कालिञ्चोकशैलुङ, खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव, विश्वभरका हिन्दुहरुमाझ चर्चित जनकपुरधाम, मुस्ताङ जिल्लाको लोमान्थाङ, लाङटाङ पनि उत्कृष्ट चर्चित पर्यटकीय गन्तव्य हुन् । त्यसैगरि दशैं बिदाको अवसरमा सोलुखुम्बुको दुधकुण्ड ताल, कास्कीको घान्द्रुक, सिन्धुलीगढी, बागलुङको ढोरपाटन पनि उत्कृष्ट गन्तव्यहरु हुन् ।


प्रतिक्रिया दिनुहोस्