भोलि दिल्ली जाने एकतर्फी प्लेन भाडा कम्तिमा ६५ हजार !

काठमाडौँ । नेपालमा भर्खरै तिहार र छठ पर्व सकिएका छन् । चार्डपर्वको बेलामा भारत जाने हवाइ टिकट सधैँ नै महँगो हुन्छ । यही सिलसिला अहिले पनि कायमै छ ।
भोलि शनिबार नयाँ दिल्ली जाने प्लेन भाडा सबैभन्दा सस्तोमा पनि ६४ हजार ५८४ रुपैयाँ रहेको छ । इकोनोमी क्लसमा बसेर यात्रा गर्दा पनि आधा लाखभन्दा धेरै तिर्नुपर्न अवस्था आएको हो ।
जम्मा १ घण्टा ५० मिनेटको यात्रामा यति ठूलो मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना भएको छ । नेपालबाट भारत जाने टिकटमा चाप परेपछि भाडा उचालिएको हो । शनिबारका लागि अनलाइनमा उपलब्ध उडानमा विस्तारा एयरलाइन्सको मात्रै सस्तो टिकट पाइएको छ ।
विस्ताराकै अलिकति महँगो टिकट काट्ने हो भने ६९ हजार २७३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो असाध्यै नै महँगो हो । नेपालबाट भारत जाँदाको एकतर्फी भाडा यति धेरै महँगो भए पनि त्यसको विपरित रूटमा भने भाडा निकै सस्तो भएको छ ।
दिल्लीबाट काठमाडौँ आउने प्लेन टिकट भने १० हजार ३२८ रुपैयाँमा पनि देखिन्छ । तर यो टिकट इन्डिगो एयरलाइन्सको ट्राञ्जिटसहितको टिकट हो । यस यात्रामा १४ घण्टासम्म लाग्ने अनलाइनमा देखाएको छ । सीधा उडानका हकमा विस्ताराले नै ३२ हजार ५३७ रुपैयाँमा यात्रु बोक्ने भनेको छ ।
भुटान एयरलाइन्सले ३६ हजार ४५२, इण्डिगोले ४१ हजार २१७ र एयर इण्डियाले ५४ हजार ५९६ रुपैयाँमा उडान भर्ने न्यूनतम भाडा राखेका छन् । भिस्ताराको नै महँगो टिकट ५९ हजार ५७९ रुपैयाँ छ ।
