इलाममा पर्यटन प्रवर्द्धन : ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीन दिने पदयात्रा सुरु « Arthapath.com
२५ पुष २०८१, बिहीबार

इलाममा पर्यटन प्रवर्द्धन : ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीन दिने पदयात्रा सुरु



काठमाडौं । इलाममा पर्यटन प्रवर्द्धन गर्ने हेतुले सुरु भएको ‘निसान पदमार्ग’ तिनदिने कार्यक्रमको उद्घाटन सहित हिजोबाट शुभारम्भ भएको छ ।

तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको हो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।

नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा आजबाट सुरु भई पुष २६ गते पदयात्रा समापन हुनेछ । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

हिजो बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी भएको थियो। नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी भएका थिए ।

यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागत गर्ने तयारी गरेका छन्। पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागत गर्ने जनाएको छ ।

रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेको थियो । मेची बजारबाट सुरु हुने पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते शुभारम्भ गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।

पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम –७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको कुरा सूर्योदय ८ स्थित आदर्श निमाबिका शिक्षक सागर ढुङ्गानाले बताए । सो गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्