बुद्ध एयरले भरतपुर छिट्टै एटीआर–७२ विमानबाट उडान भर्ने, शनिबार किन भयो उडान रद्द ?  « Arthapath.com
२४ चैत्र २०८१, आईतवार

बुद्ध एयरले भरतपुर छिट्टै एटीआर–७२ विमानबाट उडान भर्ने, शनिबार किन भयो उडान रद्द ? 



काठमाडौँ । शनिबार काठमाडौँबाट भरतपुर र त्यसैसरि भरतपुरबाट काठमाडौँको उडान बाध्य भएर बुद्ध एयरले रद्द गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हिजो काठमाडौँ विमानस्थल ढिलो तथा आईएफआरका कारण उडानहरू क्रमशः ढिला हुन गएको थियो ।

शनिबार भरतपुरको पहिलो उडान बिहान ७ः२० बजे तथा दोस्रो उडान ८ः४० मा रहेको थियो । भरतपुर विमानस्थल खराब मौसमका कारण १० बजेपछि मात्र सञ्चालनमा आएको थियो ।

जहाजमा प्राविधिक समस्या देखिएको र मर्मत सम्भारपछि यात्रुहरूलाई पुनः बोर्डिङ गराइएको थियो । पहिलो उडान ११ः३८ मा भएको तथा दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौँ विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो । नोटाम सकिए लगत्तै भरतपुर विमानस्थल पुनः बन्द भएको थियो । विमानस्थल खुल्ने निश्चित नहुँदा दिउँसो २ बजे बाध्य भएर उडान रद्द गरिएको थियो । 

दिउँसो ३ बजे भरतपुर विमानस्थल पुनः खुल्दा त्यसअघिका केही यात्रुले  उडान नं. ३५७ बाट गन्तव्यतर्फ उडेका थिए ।

भरतपुर विमानस्थल भीएफआर रहेको हुँदा त्यहाँ कम भिजिबिलिटीले उडानहरू प्रभावित बन्ने गरेको छ ।

आज पनि भरतपुर दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आएको छ । बुद्ध एयरले बिहानको २ उडान आज पनि रद्द गरेको रहेछ ।

बुद्ध एयरसँग दुई वटा एटीआर ४२ जहाज मात्र रहेको छ । ती दुई जहाजबाट मात्र भरतपुरको उडान हुने गरेको छ । 

बुद्ध एयरसँग रहेको अर्को एटीआर–७२ विमानबाट भरतपुर उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौँ अघि नै निवेदन दर्ता गराई सकेको छ । सम्बन्धित निकायको अनुमतिपश्चात् परीक्षण उडान गरी चाँडै नै एटीआर–७२ विमानबाट भरतपुर उडान सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

बुद्ध एयरसँग १६ वटा एटीआर–७२ रहेको र यस विमानबाट उडान सुचारु भएपछि यस किसिमका समस्या स्वतः समाधान हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्