के आकाशमा पनि सडक हुन्छ ? बुझौँ हवाई ट्राफिकको ‘अदृश्य व्यवस्था’ « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

के आकाशमा पनि सडक हुन्छ ? बुझौँ हवाई ट्राफिकको ‘अदृश्य व्यवस्था’



के आकाशमा विमाहरु जताततै उड्न सक्छन् ? एयर ट्राफिक के हो र यसले कसरी काम गर्छ ?

काठमाडौं । “के आकाशमा पनि सडक हुन्छ ? कि विमानहरू जतै पनि उड्न सक्छन् ? आकाश यति ठूलो छ ?” हामी सबैको मनमा बर्षैंदेखि यस्ता प्रश्नहरु उब्जिरहेको हुनसक्छन् ।

साँच्चै नै, यी प्रश्नहरु अर्थपूर्ण पनि छन् । आकाशै भरि विमानहरू पछ्याउन अदृश्य मार्गहरूको नक्सा कसरी बनाउन सकिन्छ ? यो अत्यन्तै अवास्तबिक र जटिल सुनिन्छ ।

खैर, यो जटिल छ, तर धेरै वास्तविक पनि । संसारभरि विभिन्न ठाउँहरूमा उडान भर्ने प्रत्येक विमानले हावामा यात्रा गर्दा पनि निश्चित मार्ग पछ्याउनु पर्ने हुन्छ ।

त्यसैले उडान मार्गहरू यति विशिष्ट छन् । तब त हावामा दुई विमानहरू एकअर्कासँग ठोक्किने कुनै सम्भावना छैन ।

आउनुहोस्, हवाई ट्राफिक के हो र यसले कसरी काम गर्छ भनेर व्याख्या गर्दै हामी तपाईंलाई आकाशको यात्रामा लैजान्छौं ।

हवाई ट्राफिक व्यवस्थापन उड्डयनको एक जटिल र आवश्यक घटक हो, जसले आकाश र जमिनमा विमान आवागमनको सुरक्षा र दक्षता सुनिश्चित गर्दछ ।

शुरुमा विभिन्न उचाइमा रहेका पहाड र हिमालहरू भएको हाम्रो अद्वितीय एवं हवाई उडानका हिसाबले जटिल भू–बनोटको बाबजुत पनि हवाई ट्राफिक कसरी ‘सेट’ गरिन्छ भनेर बुझ्नु आवश्यक हुन्छ ।

यदि तपाईंलाई हवाई यात्रा गर्न डर लाग्छ भने, यो प्रक्रिया बुझेपछि हवाई यात्रा कत्तिको सुरक्षित हुन्छ भन्ने कुरामा स्पष्टमात्रै हुनुहुने छैन, तपाईंको चिन्ता पनि स्वतः कम भएर जान्छ ।

त्यसैले हवाई ट्राफिक कति जटिल र रणनीतिक रूपमा नियन्त्रित हुन्छ भन्ने कुरा बुझ्नु लाभदायक छ ।

हाम्रो वायुमण्डलमा एउटा माथि अर्को गर्दै अनेकौं रेखाहरूको कल्पना गर्नुहोस् त । ‘फ्लाइट राडार’मा हेर्नु भयो भने पनि तपाइँलाई यो विषय बुझ्न केही सजिलो पर्न सक्छ ।

हो, तपाइँले कल्पना गरेजस्तै काल्पनिक रेखाहरूलाई अनुशरण गर्दै थुप्रै विमान आ–आफ्ना गन्तव्यसम्म सुरक्षित पुग्ने व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई नियन्त्रित र निर्देशित गर्न हरेक विमानस्थलमा नियन्त्रण टावरहरु हुन्छन् ।

त्यस्ता टावरमा ‘एयर ट्राफिक कन्ट्रोलर (एटीसी)’ भनेर चिनिने प्राविधिकहरु तैनाथ गरिएका हुन्छन् । ती प्राविधिकहरु दक्ष हवाई यातायात नियन्त्रकहरू हुन् । प्रत्यक उडानका पाइलटलाई कुन मार्ग लिने भन्ने मार्गनिर्देशन उनीहरुले नै दिन्छन् ।

विमानलाई आफ्नो अगाडी ‘के आउँदैछ’ (अर्थात् हावाको गति, बादल, बबन्डर वा यस्तै जानकारीहरु) भनेर चेतावनी दिन ती प्राविधिकहरु सधैं तयार हालतमा हुन्छन् । जसरी जमिनमा सडक जता जान्छ र ट्राफिक प्रहरीले जता पठाउँछ, सवारीसाधन त्यतै कुदाउनु पर्ने हुन्छ ।

त्यसरी नै आकाशमा पनि निश्चित हवाई मार्गहरू तय गरिएका हुन्छन् । जसमा विशेषज्ञ एटीसीहरूले विमानलाई सबैभन्दा उपयुक्त र सुरक्षित मार्गतर्फ जान निर्देशित गर्छन् ।

नेपालका अनौठा चुनौती

अब हामी हाम्रो हवाई क्षेत्र (एयरस्पेस) किन विशेष छ भन्ने चर्चा गर्छौँ । साथमा नेपालका लागि अझ उन्नत हवाई ट्राफिक व्यवस्थापन योजना किन आवश्यक छ भन्नेबारे पनि कुरा गरौं ।

नेपालको हवाई क्षेत्रले विकट भौगोलिक बनावट र मौसमी विविधताका कारण फरक चुनौतीहरू सामना गरिरहनु परेको छ । सगरमाथा लगायत विश्वका अग्ला हिमालहरू मध्ये सबैभन्दा धेरै नेपालमै छन् ।

त्यसबाहेक पनि असाध्यै धेरै पहाडी पर्वत श्रृङ्खलाहरुले देशको ठूलो भूखण्ड ढकेको छ । यही कारण हाम्रा उडान मार्ग र हवाई ट्राफिक व्यवस्थापन उल्लेखनीय रुपमा यिनै भू–परिस्थिति तथा मौसममा ज्यादा निर्भर छन् ।

विशेष गरी लुक्ला र जोमसोमजस्ता उच्च हिमाली क्षेत्रका विमानस्थलहरूमा पाइलटका लागि विशेष तालिम तथा अत्यन्तै सटीक उडान कौशल अनिवार्य हुन्छ । ताकि, उनीहरूले जटिल हवाई यातायातलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सकून् ।

मौसम अर्को एक महत्वपूर्ण पक्ष हो । नेपालमा मनसुनी वर्षादेखि भारी हिमपातसम्म, विभिन्न प्रकारका मौसमी अवस्थाहरूले उडानको भिजिविलिटी (दृष्य) र सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ ।

बादल लागेको दिनमा धेरै उडानहरू सही मार्ग भएर आफ्नो गन्तव्यसम्म पुग्न पाइलटमात्रै भएर पुग्दैन । यसका लागि विमानहरु पूर्ण रुपमै आफ्ना उपकरण तथा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को निर्देशनमा निर्भर रहन्छन् ।

नेपालमा एयर ट्राफिक कन्ट्रोल

नेपालमा हवाई ट्राफिक नियन्त्रण गर्ने दायित्व नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्वाह गरिएको छ । विशेष गरी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्ता व्यस्त हवाई अड्डाहरूमा एयर ट्राफिक कन्ट्रोलरहरू सदैव उच्च सतर्कताका साथ काम गरिरहेका हुन्छन् ।

उनीहरुले प्रत्येक उडान तथा अवतरण सुरक्षित एवम् व्यवस्थित होस् भन्ने सुनिश्चित गर्छन् । सुरक्षित दूरी कायम गर्नु, दिशानिर्देश गर्नु (नेभिगेसन) र हवाई ट्राफिकको प्रवाह व्यवस्थापन गर्नु एटिसीका मुख्य जिम्मेवारी हो ।

एटीसीले पाइलटहरूलाई नेपाली पहाड र हिमालमाथिको जटिल भू–भागबारे जानकारी दिनुका साथै नेपालको हवाई क्षेत्रहुँदै उड्दा मार्गनिर्देशन प्रदान गर्छन् । हिमालमाथिको हवाई क्षेत्र हुँदै उड्दा एटीसीले हवाई ट्राफिकको प्रवाहलाई नियमन गरिरहेका हुन्छन् ।

उडान गतिविधीमा हुने ढिलाइ घटाउने र हवाई क्षेत्रको प्रयोगको दक्षता (इफिसियन्सी) अधिकतम स्तरसम्म बढाउने काम पनि उनीहरुले नै गर्छन् ।

हवाई ट्राफिक व्यवस्थापनमा प्रगति

हालका वर्षहरूमा नेपालले आफ्नो हवाई यातायात व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । अत्याधुनिक रडार र निगरानी प्रणालीहरूको कार्यान्वयन यसको एक प्रमुख उदाहरण हो ।

यी प्रणालीहरूले एटीसीको निगरानी, अनुगमन र व्यवस्थापन गर्ने क्षमता वृद्धि गरेका छन् । त्यस्तै, विमानको गति र स्थानलाई सही रूपमा व्यवस्थापन गर्न, विमानसम्बन्धी ताजा जानकारी (रियल टाइम डेटा) हासिल गर्न र परिस्थितिजन्य सजगता एवम् सुरक्षा सुधार गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।

स्तरोन्नती गरिएको सञ्चार प्रणालीहरूले पनि सही ढंगले कार्य सञ्चालन गर्न उल्लेख्य सहयोग पुगेको छ । पाइलटहरू र एटीसीबीचको विश्वास एवम् स्पष्ट सञ्चारले उचित समन्वय स्थापित गरेको छ । जसले हवाई यात्रालाई अझ बढी सुरक्षित बनाएको छ ।

यस्तै क्यानले स्याटेलाइटमा आधारित नेभिगेसन प्रणालीहरू पनि सुरु गरेको छ । यसले पाइलटहरूलाई जटिल भू–भागमा नेभिगेसन त्रुटिहरूको जोखिम घटाउँदै सटीक उडान मार्गहरू पछ्याउन सहयोग गर्छ ।

यता आन्तरिक वायुसेवा कम्पनीहरूले पनि नेपालको विशेष आवश्यकता अनुसार आफूलाई अनुकूल बनाउँदै अझ विश्वासिलो र पूर्ण तयारीका साथ आकाशमा उड्ने अभ्यासलाई अघि बढाएका छन् ।

नेपालको एक उत्कृष्ट आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले पाइलटहरूलाई पूर्वतयारीका साथ प्रभावकारी सञ्चार सिकाउन फ्लाइट प्यानल ट्रेनिङ (एफटिपी) मा डेमो एटीसी सञ्चार समावेश गरेको छ । जसले उडान सुरक्षालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।

एटीसी व्यवस्थापनको दृष्टिले हेरिँदा हामी सबैभन्दा अगाडि रहेका विमानस्थलमध्ये एक हौं । उदाहरणका लागि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दशकौंअघि निर्माण गरिएको हो, र अहिले उडान आगमन तथा प्रस्थानको संख्या धेरै गुणा बढेको छ ।

तर उडानहरूलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न एटीसीहरूलाई सहयोग पुर्‍याउने गरी ठूलो पूर्वाधार विकास हुन सकेको छैन । साँच्चै भन्नुपर्दा अझै पनि उडान सुरक्षा र हवाई पूर्वाधारलाई लिएर हाम्रासामु निकै लामो यात्रा बाँकी छ ।

अतः नेपालको हवाई यातायात प्रणाली बुझ्नका लागि हाम्रो प्राकृतिक सौन्दर्यको अर्काे रूप भूगोल, स्थलाकृति र मौसम सम्बन्धी चुनौतीहरूको सही मूल्याङ्कन गर्न आवश्यक हुन्छ ।

साथै, यी जटिलताहरूलाई व्यवस्थापन गर्न प्रविधि र प्रणालीहरूमा भएका प्रगतिहरूको पनि ‘सही समझ’ जरुरी छ । क्यानको प्रयासहरू र हवाई ट्राफिक व्यवस्थापनलाई आधुनिकीकरण गर्न भइरहेको निरन्तर लगानी नेपाली उड्डयन क्षेत्रको सुरक्षा एवम् प्रभावकारिता सुनिश्चित गर्न अत्यन्तै महत्वपूर्ण छन् ।

याद गरौँ, तपाईंहामी आकाशमा उड्दै गर्दा सँगसँगै १० औँ लाख यात्रुहरु वायुमण्डलमा तैरिइरहेका हुन्छन् । एकै समयमा संसारभर १२ हजारदेखि १४ हजार विमानहरु आकाशमा हुने गरेको अनुमान छ । सबैभन्दा शीघ्र, सुरक्षित र आरामदायी मानिने यही हवाई यात्राबारे हामी सबैले जान्नु आवस्यक छ । ताकी, तपाइँ निर्भिक एवम् निशङ्कोच भएर आकाश मार्गमा यात्रा गर्न सक्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्